• २७ पुस २०८१, शनिबार

चट्टानी भीर सडक स्तरोन्नतिको जिम्मा नेपाली सेनालाई

blog

सेनालाई स्तरोन्नतीको जिम्मा लगाईएको च्याछरा भीर । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ १६ गते । सडक विभागले कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने पाँच वटा असजिला चट्टानी भिरको सडक स्तरोन्नतिकाे जिम्मा नेपाली सेनालाई दिएको छ । चालु आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सडक विभागले ती चट्टानी भीरको काम नेपाली सेनाको जिम्मा लगाएको हो । 

आयोजनाको सिफारिसका आधारमा सडक विभागले कर्णाली कोरिडोरको हुम्ला खण्डका पाँच वटा चट्टानी भीरको सडकलाई स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनाको विकास निर्माण दललाई लगाउने काम भएको हो । ती पाँच वटा भीरको कामको जिम्माका लागि विभागले नेपाली सेनालाई पत्राचार समेत गरिसकेको छ । यसरी कर्णाली कोरिडोरको हुम्ला खण्डका असजिला चट्टानी भीरहरूमा दुल्ली कुना, बोक्चे गौडा, भिगौडा, च्याछरा र याल्वाङ गौडा छन् ।  

यी पाँचै गौडामा यसअघि हिल्सा सिमकोट सडक आयोजनाले साँघुरो ट्रयाक खोल्ने कार्य गरेको भएपनि त्यसको ग्रेड मिलाउने काम हुन सकेको छैन । यद्यपि सडकको ग्रेड नमिलेको भएपनि यातायातका साधनहरू भने सञ्चालन हुँदै आएका छन् । ती सडकका चट्टानी भीर फुटाउनका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने तर आयोजनालाई त्यसको व्यवस्था गर्न निक्कै कठिन हुने भएको कारण पनि जिल्लावासीको माग अनुसार सडक स्तरोन्नतिको जिम्मा नेपाली सेनालाई दिएको हो । केही समय अगाडी स्थानीय प्रशासन, जिल्लामा सबै जनप्रतिनिधिहरू, राजनीतिक दलहरू, नागरिक समाजको सर्वपक्षीय बैठकले असजिला चट्टानी भीरमा सडकको काम सेनालाई दिन नेपाल सरकारसँग माग गरेको थियो । 

पाँच वटै भीर गरी करिब एक किलोमिटर लम्बाइ सडकको निर्माण सेनाले गर्नुपर्नेछ । सदरमुकाम सिमकोटलाई चाँडो राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि ती भीरमा कामको जिम्मा सेनालाई दिनु अति आवश्यक रहे अनुसार विभागको सो कार्य सराहनीय रहेको हुम्लावासीको ठहर छ । पाँच वटा मध्य दक्षिणी क्षेत्रका तीन वटा भीरको स्तरोन्नतिको काम आयोजना र नेपाली सेनाको उपस्थितिमा संयुक्त लागत इष्टिमेट गर्नका लागि दुल्ली कुनातर्फ योजना प्रमुख बेलबहादुर नेपाली प्राविधिक सहित लाग्नु भएको छ । स्थलगत रूपमा तीनै भीरमा पुगेर लागत इष्टिमेट तयार गरिनेछ । 

नेपाली सेनाको कर्णाली कोरिडोर सडक निर्माण कार्य दलका प्रमुख अम्रीत पराजुलीले सडक विभागले जिम्मा लगाएको काम निर्धारित मिति मै सम्पन्न गर्ने बताउनुभयो । उहाँले कार्यदलको पहिलो प्राथमिकता दुल्ली कुना, बोक्चे गौडा, भिगौडा रहेको बताउँदै  यी भीरको चट्टान बिष्फोट र ग्रेड मिलाउने काम तत्काल सुरु गरिने बताउनुभयो । यी भीरको काम सम्पन्न भए सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्नलाई सहज हुनेछ । माथिल्लो क्षेत्रका दुई वटा भीरमा भने त्यसपछि काम सुरु गरिनेछ । 

हाल नेपाली सेनाले ल्याप्चेदेखि लालीबगरसम्म सडक निर्माण गर्ने काम हुँदैछ । सेनाले सबैभन्दा असजिलो छारे भीरमा कामलाई तीव्रता दिइएको छ । त्यसैगरि २०७८ साल असार ३१ गते सेनाले कवाडीदेखि सलीसल्लासम्म ३९ किलोमिटर सडक निर्माण गरेर हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरी सकेको थियो ।