काठमाडौं, माघ १६ गते । संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् ।
उनीहरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन् ।
बैठकमा बोल्नुहुँदै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्नुहुँदै त्यसो गर्नु नहुने जिकिर गर्नुभयो । उहाँले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताउनु भयो । उहाँले बाँदरले अत्यधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राख्नुभयो ।
संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानुन रहेको उल्लेख गर्नुहुँदै संरक्षणविद्ले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पार्नुभयो । यद्यपि बाँदर सिकार गर्ने जनावर पनि नभएको भन्दै उहाँले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताउनुभयो ।
त्यस्तै, बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बताउनुभयो । अथवा बँदेललाई बच्चामै निःशुल्क रूपमा व्यक्तिहरूलाई दिन सकिने पनि भनाइ राख्नुभयो । पछिल्लो समय मानव र वन्यजन्तुका बिचमा द्वन्द्व बढ्दै गएको भन्दै उहाँले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताउनुभयो ।
बैठकमा बोल्नुहुँदै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसङ्ग निकाल्दै त्यो समाधानको बाटो नभएको बताउनु भयो । उहाँले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताउनु भयो । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उहाँको भनाई छ । समस्या समाधानका लागि बस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘‘पोखरामा वडा अध्यक्षले बाँदरले दुःख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ । त्यो समाधान होइन । रुख काटेर समाधान हुँदैन । बाँदर मारेर पनि समाधान हुँदैन । बाँदर निकासी गरेर पनि समाधान हुँदैन । बन्ध्याकरण गर्नुपर्यो भनेर पनि भन्न थालेका छन् । त्यो पनि समाधान होइन । समाधान के हो त भन्दा जो पीडित छन्, ती पीडितहरू त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान ? हामी समाधान यसरी हेर्न सक्नुपर्यो ।’’
उहाँले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरूलाई समय अनुकूल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राख्नुभयो ।