• २७ वैशाख २०८२, शनिबार

क्याम्पसमा निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा

blog

जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने पाथीभरा बहुमुखी क्याम्पस । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, वैशाख २६ गते । फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने पाथीभरा बहुमुखी क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीको मागलाई मध्यनजर गर्दै स्थानीय तहसँगको सहकार्यमा आगामी जेठ १ गतेदेखि निःशुल्क कक्षा सञ्चालन गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसमा बाहिरका अन्य इच्छुक विद्यार्थीले पनि तयारी कक्षामा सामेल हुन पाउने छन् । 

करिब एक महिनाका लागि कक्षा सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई सामेल हुन क्याम्पसले आह्वान गरेको छ । विभिन्न संस्थाले अनलाइन माध्यमबाट प्रदान गरिरहेको तयारी कक्षा प्रभावकारी नभएकाले भौतिक उपस्थितिमा क्याम्पसले नयाँ अभियानको सुरुवात गर्न लागेको हो ।