• २४ वैशाख २०८१, सोमबार

रमाइलो चित्लाङ

blog

विशेष ऐरी 

कक्षाः ८, भिएस निकेतन 

काठमाडौँ

साथीहरू विद्यालयबाट टाढा कतै टुर लैजाँदा कति रमाइलो हुने रहेछ । साथीहरू घुमेको र रमाइलो गरेको त मैले पनि धेरै पढेको थिएँ । यस माघ अङ्कको मुनामा भने म मेरो स्कुलले चित्लाङ भ्रमणमा लैजाँदा मैले देखेको र रमाइलो लागेको कुरा भन्ने छु है । शिक्षक र हामी साथीहरू दुई दिनका लागि चित्लाङ रेसोर्टमा बस्यौँ । हामीले त्यहाँ बस्दा  चित्लाङको प्राकृतिक सौन्दर्यलाई पनि नजिकैबाट हेर्ने मौका पायौँ ।  पहिलो पटक यति रमाइलो ठाउँमा घुम्न पाउँदा हामी साथीहरू त धेरै नै खुसीले रमाएका थियौं ।  रिसोर्टमा हामीलाई मन पर्ने त्यही  स्थानीय गाउँमा उत्पादन भएको खानेकुरा खुवाउनुभएको थियो ।  

पहिलो दिन

विद्यालयबाट लगभग बिहान ११ बजेतिर हामी बसमा चढ्यौँ । तीन घण्टा जतिको रमाइलो यात्रापछि हामी चित्लाङ पुग्यौँ ।  एकछिन हातमुख धोएर  खाजा खाएपछि साथीहरू मिलेर क्रिकेट खेल्यौँ । साँझ पनि पर्दै गयो । वरपरको वातावरण झनै रमाइलो पो देखिन थाल्यो । बाहिरको मौसम चिसो चिसो थियो । साथीहरू र शिक्षकहरू त दाउरा बालेर क्याम्प फायर पो गर्न सुरु गरिसक्नुभएछ । आहा । कति रमाइलो मानेर हामी कुरा गर्दै थियौँ । किचनमा हाम्रा लागि मिठो खाना पनि तयार भइसकेछ । मिलेर खाना खायौँ । एकैछिन खेल्यौँ र भोलि अझै रमाइलो गर्ने, नयाँ नयाँ ठाउँ हेर्ने कुरा मनमा राख्दै कोठामा सुत्न गयौँ । 

दोस्रो दिन

अघिल्लो दिन नै भोलि बिहानको रमाइलो कल्पना गर्दै सुतेको भएर होला हामी बिहान ६:३० बजे  नै उठ्यौँ । उठेर बाहिर हेरेको त साथीहरू क्रिकेट खेल्न पनि भ्याइसक्नुभएछ । मलाई पनि क्रिकेट खेल्न मन पर्छ त्यसैले म पनि एकैछिन खेलेर रमाइलो गरेँ ।  त्यसपछि हाम्रो बिहानको नास्ता खाने कार्यक्रम भयो । हामीले खाएको सबै खानेकुरा त्यही चित्लाङ वरपर नै उत्पादन भएको विशेष खाना थियो । शिक्षकले हामीलाई त्यहाँको स्थानीय उत्पादनका बारेमा पनि धेरै कुराको जानकारी दिनुभयो । मेरा लागि सबैभन्दा रमाइलो त इन्द्र सरोवरको बोटिङ थियो । त्यो कतिबेला जाने भनेर हामी सबै उत्सुक थियौँ । त्यसपछि हामी सबै जना इन्द्र सरोवर बोटिङका लागि हिँडयौँ । त्यहाँ वरपरको प्राकृतिक सौन्दर्य पनि सुन्दर थियो । निलो ताल अनि माथि हरियाली, चिसो मौसम, त्यहाँको सुन्दरता साँच्चै नै आहा नै थियो । मैले त झन् पहिलो पटक देखेको भएर होला मन मनै खुसीले रमाइरहेको थिएँ । बोटिङ गर्दा धेरै नै रमाइलो लाग्यो । सबै जना खुसी भयौँ । त्यसपछि त हामीलाई केही थकाइ लागे जस्तो, भोक लागे जस्तो भयो, केही खानेकुरा किनेर खायौँ । नजिकै झोलुङ्गे पुल पनि थियो । पुलमा बसेर रमाइलो हेर्दै थकाइ पनि मा¥यौँ । विस्तारै होटलतिर  फर्कियौँ । 

होटेलमा आएर खाना खायौँ । यात्राको सबै रमाइलो लागेको कुरा साथीसँग छलफल ग¥यौँ । त्यसपछि १:०० बजेतिर काठमाडौँ फर्किने तयारी पनि भयो । बसमा हामीहरूले चित्लाङका बारे धेरै रमाइलो कुरा गर्दै आयौँ । 

साथीहरू मलाई त यस्तो यात्रा धेरै रमाइलो लाग्यो । विद्यालयले आयोजना गर्ने यस्तो भ्रमणको कार्यक्रममा समय मिलाएर जानु पर्ने रहेछ । बाहिरी ज्ञानको धेरै कुरा बुझ्ने र सिक्ने यो एउटा राम्रो अवसर पनि रहेछ । 

चित्लाङको विशेषता

चित्लाङ प्रकृतिले भरिएको सुन्दर ठाउँ हो । मकवानपुर जिल्लामा रहेको यो ठाउँ चारैतर्पmबाट पहाडले घेरिएको चिसो ठाउँ हो । चित्लाङमा धेरै प्रकारका स्थानीय उत्पादन विश्वमा नै लोकप्रिय छन् । यहाँ बाख्राको दुधबाट बनाइने चिज विश्वका केही देशमा समेत जाने गर्छ । यहाँको विशेष खाना किवी जाम अति नै लोकप्रिय मानिने रहेछ । यहाँ नेपालकै सबैभन्दा ठुलो मानिसले बनाएको ताल इन्द्र सरोवर छ ।