छविलाल पाण्डे
बुटवल, माघ १४ गते । बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रतीक चिह्न प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो ।
नगरले प्रचलनमा ल्याएको प्रतीक चिह्नमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता सङ्केतहरु छन् ।
नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठकले करिब एकसयभन्दा बढी प्रतीक चिह्नमध्येबाट तीनवटा प्रतीक चिह्न कार्यपालिका बैठकमा पठाएको थियो ।
तीनवटा प्रतीक चिह्नमध्ये न्यौपानेको प्रतीक चिह्नले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिह्न छनोट भएको प्रवक्ता रानाले बताउनुभयो ।
कार्यपालिकाको बैठकको निर्णय अनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो ।
लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो ।
छनोट भएको उत्कृष्ट प्रतीक चिह्न (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिह्नका रुपमा प्रयोग गर्ने र प्रतीक चिह्न बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपियाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताउनुभयो ।