• २७ वैशाख २०८२, शनिबार

नदी व्यवस्थापन कार्यालय नहटाउन सरकारसँग स्थानीयको अनुरोध

blog

बर्दियाको सदरमुकाम गुलरिया बचाउन स्थापना गरिएको बबई भादा औराही नदी व्यवस्थापन आयोजना कार्यालय । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई(बर्दिया), वैशाख २७ गते ।
बर्दिया जिल्लामा तीन ठुला नदीहरू छन् । बबई, मान र कर्णाली जस्त ठुला नदी बर्दिया भएर बग्ने गर्दछन् भने औराही नदी, भादा नदी बर्दियाका सहायक नदीमा पर्दछन् । तीन ठुला नदी मध्य बबई नदी बर्दियाको सदरमुकाम गुलरिया भएर बग्ने गर्दछ भने बबई नदीमा आउने बाढीले सदरमुकामनै जोखिममा छ ।

२०७१ मा बबई नदीमा बाढी आउँदा ढुँग्रही गाउँ र रामपुर टापुनै बगायो भने बाढीमा परेर ३४ जनाको मृत्यु भएको थियो । साथै बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको दुई वटा पोस्ट बगाउँदा दुई जना नेपाली सेनाको समेत मृत्यु भएको भने पोष्टमा राखिएका हतियार समेत नदीले बगाएको थियो ।

त्यसैगरी, बबई नदीमा २०७४ साल साउन २८ गते राति बाढी आउँदा पाँच जनाले ज्यान गुमाउनु परेको थियो भने गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने पक्की पुलको चार वटा पिलरनै भासियो । त्यसपछि २०७९ साउन २० गते आएको बाढीले गुलरिया र बारबर्दिया नगरपालिका जोडने पक्की पुलको स्ल्याप बगाएसँगै अहिले दुई नगरपालिकाको यातायात सम्पर्क समेत बिच्छेद भएको छ । पटक पटक बबई नदीमा बाढी आउने र सर्वसाधारणको ज्यान जान थालेपछि नेपाल सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालका तत्कालिन मन्त्री सञ्जयकुमार गौतमको पहलमा बबई नदीको दक्षिण तर्फको भागमा नदी व्यवस्थापन गर्न बबई भादा औराही नदी व्यवस्थापन आयोजना स्थापना भयो ।

नदी व्यवस्थापन कार्यालय स्थापना भएपछि खुसी भएका गुलरियावासी पुनः निराश भएका छन् । केही दिन अघि बबई भादा औराही नदी व्यवस्थापन आयोजना राजापुरको कर्णाली नदी व्यवस्थापन आयोजनामा गाभ्ने र कार्यालयको जनशक्तिलाई डडेलधुरा सार्ने मन्त्री परिषदको निर्णयसँगै बर्दियाका स्थानीय चिन्तित भएका हुन् ।

सात वर्ष अघि सुरु भएको कार्यालय काम सम्पन्न नहुँदै मन्त्री परिषदको निर्णयबाट डडेलधुरा स्थानान्तरण गर्ने तयारी भएको जानकारी आफुले पाएको र डडेलधुराका लागि कार्यक्रम तयार गर्न निर्देशन समेत आएको बबई भादा औराही नदी व्यवस्थापन आयोजनाका आयोजना प्रमुख शिवजी साहले स्वीकार गर्नुभयो ।

सदरमुकाम बचाउन स्थापना गरिएको कार्यालयले सात वर्षमा २२ किलोमिटर मात्र नदी व्यवस्थापनको काम गरेको छ । यद्यपी नदी व्यवस्थापनको काम हुने समयमा कार्यालयनै नरहनु दुःखद भएको गुलरिया नगरपालिका–५ का स्थानीय भेषराज पौडेलले बताउनुभयो । स्थानीयले बोरामा बालुवा भरेर जोगाएको सदरमुकाममा काम गर्नका लागि स्थापना भएको कार्यालय डडेलधुरा स्थानान्तरण हुनु बर्दियावासीका लागि दुःखद भएको गुलरिया नगरपालिका–६ का स्थानीय विजयदत्त देवकोटाले बताउनुहुन्छ ।

२०७४ सालमा आफु मन्त्री हुँदा सदरमुकाम जोगाउनका लागि सञ्चालनमा ल्याइएको कार्यालय डडेलधुरा स्थानान्तरण गर्नु बर्दियावासीको अपमान भएको बर्दिया जिल्ला क्षेत्र नं.१ का सङ्घीय सांसद सञ्जयकुमार गौतमले बताउनुभयो । कार्यालय सारे बर्दियावासीलाई अन्याय हुने र मन्त्रिपरिषदले गरेको निर्णय स्थगन गर्न मैले प्रतिनिधिसभामा समेत आवाज उठाएको छु । बबई नदीमा आउने बाढीले बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र गुलरिया नगरपालिका प्रभावित हुने गरेको छ ।