मीना कँडेल
कावासोती, माघ १४ गते । पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्कीबासबाट करिब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित गजेन्द्र मोक्षधाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न थालेको छ । त्रिवेणीमा डुङ्गा चलाउने माझीको पेसा भने सङ्कटग्रस्त बन्दै गएको छ । विकल्पमा अन्य पेसा खोज्न माझी लागिपरेका छन् । विगत दुई दशकअघिदेखि बिहान झिसमिसे नहुँदै त्रिवेणीधाममा पुग्ने र घाम डुबेपछि मात्रै फर्किने रामवृस सहनीको दिनचर्या बनेको छ । उमेर बुढो भए पनि शरीरमा जोस भने जवानसरह नै छ ।
त्रिवेणीमा डुङ्गा चलाउँदै आएका सहनीले पछिल्लो समय डुङ्गा चढ्ने मानिसमा कमी आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो जात नै डुङ्गा चलाउने हो। बुवाले बाजेबाट सिक्नुभयो र मैले बुवाबाट सिकेको हुँ । सानै उमेरदेखि गर्दै आएको काम हो । यही नदीमा डुङ्गा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै पर् यो ।”
पहिले यहीँबाट डुङ्गा चलाएर सामान ओसारपसार हुन्थ्यो। यताबाट नुन र मटितेल देशका विभिन्न सहरमा देवघाट, नाराणघाट हुँदै पु¥याउने गरेका थियौँ । फर्किंदा रासनपानी, दाल, चामल, फलफूल, सुठोलगायतका सामान ल्याउँथ्यौँ । राम्रो आम्दानी भएको थियो । अहिले पेसा सङ्कटमा पर्न थालेको सहनीले सुनाउनुभयो ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम हिजोआज सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्षधाम पनि भन्ने गरिन्छ । धार्मिक दृष्टिकोणले भारतको प्रयाग र नेपालको त्रिवेणीधाम श्रद्धा र आस्थाको केन्द्र मानिन्छ । तीन नदीको सङ्गम त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।