कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका तत्कालीन झलारी, पिपलाडी गाविस र देखतभुली गाविसका ४ र ६ वडा मिलेर बनेको स्थानीय तह हो । १२ वडा रहेको शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडिएको छ । यो पालिका पूर्वपश्चिम राजमार्ग छिचोलेर गएको छ । ४७ हजार जनसङ्ख्या रहेको यस नगरपालिकामा थारू, राना र पहाडबाट बसाइँसराइ गरेकाको मिश्रित बसोबास छ । यो नगरपालिका अझै पनि गाउँबाट नगर बन्ने क्रममै रहेको छ । नेकपा (एमाले) का स्थानीय नेता रणबहादुर महरा नगरपालिका प्रमुख हुनुहुन्छ । नगर प्रमुख महरासँग गोरखापत्र प्रदेश संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानी :
नगर प्रमुखका रूपमा डेढ वर्षको कार्यकाललाई कसरी लिनुभएको छ ? मुख्य चुनौती के के छन् ?
अहिलेसम्म कार्यकाल ठिकठिकै चलेको छ । शुक्लाफाँटा पूर्वपश्चिम राजमार्गमा पर्ने नगर हो । यसलाई नगरपालिका घोषणा गरिएको भए पनि अझै नगर भइसकेको अवस्था छैन । गाउँलाई नगर बनाउने प्रयासमा छौँ । अरू ठुला चुनौती त छैनन् तर बजेट पर्याप्त नहुँदा जनताको अपेक्षा अनुसारका काम गर्न पाएका छैनौँ । काम गर्न खोज्दा कहिलेकाहीँ अनावश्यक रूपमा बाधा, अड्चन, अवरोध सिर्जना गर्न खोजिन्छ । सुकमवासी व्यवस्थापन पनि एउटा समस्या छ । सुकुमवासी हौँ व्यवस्थापन गर्नु प¥यो भनेर ३०२ जनाको निवेदन परेको छ । यस पालिकामा शुक्लाफाँटा आरक्षबाट हटाइएकाहरू पनि अलपत्र छन् । उहाँहरूको समस्या समाधानका लागि सङ्घीय सरकारलाई दबाब दिइरहेका छौँ ।
शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि के के काम गरिरहनुभएको छ ?
शिक्षा क्षेत्रमा धेरै समस्या छन् । कार्यविधि ल्याएर शिक्षा क्षेत्र सुधार गर्न खोज्यौँ । विद्यालय मर्ज गर्न खोज्यौँ तर आन्दोलन गरेर अवरोध ल्याउन खोजियो अब विस्तारै पहिलेको भन्दा शिक्षा क्षेत्र सुधार हुँदै छ । योजना बनाएर शिक्षा क्षेत्रलाई अझ गुणस्तरीय बनाउन लागेका छौँ । थप कक्षा सञ्चालन गरेर स्तरीय शिक्षा दिन खोजेका छौँ । शिक्षा क्षेत्रको सुधार गर्न खोज्दा राजनीतिक हस्तक्षेप हुन खोज्छ । हस्तक्षेप पनि घटाउने प्रयास गरिरहेका छौँ । आधारभूत स्वास्थ्य राम्रो छ । १२ वडामा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र छन् ।
स्थानीय उत्पादनलाई प्रोत्साहन र रोजगारी सिर्जना गर्न के के काम गरिरहनुभएको छ ?
यो पालिका व्यावसायिक कृषि गर्ने पालिका हो । व्यावसायिक कृषिलाई प्रोत्साहित गर्न धेरै काम गरिरहेका छौँ । कृषि क्षेत्रलाई बलियो र अझ प्रभावकारी बनाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । नगरपालिकाले दुना, टपरी जस्ता घरेलु परम्परागत सिपमूलक कामलाई पनि महत्व दिएर सहयोग गर्ने काम गरिरहेको छ । मुक्त कमैयालगायतका विपन्न वर्गलाई आत्मनिर्भर बनाउन विभिन्न सङ्घ/संस्थासँग समन्वय गरेर काम गरिरहेका छौँ । लैङ्गिक हिंसाको न्यूनीकरण गर्ने र हिंसामा परेकालाई जीविकोपार्जनका लागि सहयोग गर्ने परियोजना सुरु भएको छ ।
शुक्लाफाँटाको सडक यातायातलगायत भौतिक विकासमा मुख्य गरेर के कस्ता काम गरिरहनुभएको छ ?
सडक सञ्जालमा सबै वडा जोडिएका छन् । शुक्लाफाँटामा आन्तरिक र बाह्य बजेटबाट चक्रपथ बनाउँदै छौँ । चक्रपथ अन्तर्गत १७ /१८ किलोमिटरको पक्की सडक बन्दैछ । वडा नम्बर–२ मा खानेपानीको ठुलो योजना नगर गौरवको योजना अन्तर्गत अगाडि बढाएका छौँ । चिस्यान केन्द्र बनाउन खोजेका छौँ तर सार्वजनिक क्षेत्रको कमी हुँदा जग्गा उपलब्ध हुन सकेको छैन । जग्गाका लागि सामुदायिक वनसँग समन्वय गरिरहेका छाँै । एसियाली विकास बैङ्कको सहयोगमा कञ्चनपुरकै एक मात्र फोहोरमैला विसर्जन केन्द्र बनाउँदै छौँ ।
प्रदेश र सङ्घ सरकारसँगको समन्वय के कस्तो भइरहेको छ ?
सङ्घ र प्रदेश सरकारसँग समन्वय गर्न खोजेका हौँ । सङ्घले पहिलेभन्दा पाँच करोड कम बजेट पठाएको छ तर पनि सङ्घको अलिकति समन्वय राम्रै छ । प्रदेशमा त कुनै माग पूरा हुँदैनन् । मागे जतिको बजेट आएको छैन । एउटा पनि योजना पालिकामा परेको छैन । प्रदेशले बजेट बनाउनुअघि योजना माग्यो, अब साँच्चिकै काम हुने भयो भन्ने लागेर वडा वडामा छलफल गरेर योजना पठायौँ, योजना दियौँ तर एउटा पनि परेन । प्रदेशले समन्वय गर्न चाहँदैन ।
तपाईंको पालिकामा बजेट विनियोजनको अवस्था कस्तो छ ? आन्तरिक स्रोत बढाउन के गरिरहनुभएको छ ?
आन्तरिक बजेट दुई करोड रुपियाँ हो । सङ्घ, प्रदेशबाट गरेर ३५ करोड रुपियाँ बजेट पाउँथ्यौँ, यो आर्थिक वर्षमा ३० करोड रुपियाँमा झरेको छ । त्यसमा १४ करोड रुपियाँ तलबमै जान्छ । आन्तरिक आम्दानी बढाउन गिट्टी, बालुवाबाट रोयल्टी उठाउन खोजेका थियौ तर प्रदेश र सङ्घले रोयल्टी दोब्बर गर्दा ठेक्का लिन कोही आउँदैनन् जसले गर्दा डेढ करोड रुपियाँभन्दा बढीको नोक्सानी बेहोर्नु परेको छ । फोहोरमैला उठाउने कामबाट पनि आन्तरिक स्रोत बढाउन खोज्दै छौँ ।