• १३ असोज २०८१, आइतबार

नेपाली कांग्रेस ‘मास बेस’ पार्टी हो : सभापति देउवा

blog

नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको उद्घाटनमा बोल्नु हुँदै नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रमेश पौडेल

रमेश पौडेल 

पोखरा, माघ ९ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस ‘क्याडर बेस’ नभई ‘मास बेस’ पार्टी भएको बताउनुभएको छ । कार्यकर्ताले पार्टीलाई क्याडर बेस वा मास बेसमा अगाडि बढाउने भन्ने विषयमा बहस गरिरहेको समयमा नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको पोखरामा मंगलबार उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सभापति देउवाले भन्नुभयो, ‘‘नेपाली कांग्रेस क्याडर बेस नभई ‘मास बेस’ पार्टी हो ।’’ 

सभापति देउवाले नेपाली कांग्रेसको सदस्यता साधारण र क्रियाशील गरी दुई प्रकारको भएको प्रष्ट पार्नुभयो । उहाँले आगामी दिनमा पार्टीले दुवै प्रकारका सदस्य खुला गरी पार्टीलाई सङ्ख्यात्मक र गुणात्मक रूपमा बलियो बनाउन कार्यकर्तालाई निर्देशर्नेसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जनतानै सार्वभौमसत्ता सम्पन्न मालिक हुन्, जनताको मन जितेर पार्टीमा झैझगडा नगरी तपाईँहरू गाउँगाउँसम्म पुग्नैपर्छ ।" 

राजनीति गर्नु भनेको जनताको सेवा गर्नु हो भन्दै सेवाका लागि सत्ता चाहिने र त्यसको सदुपयोग गर्दै जनताको मन जित्नुपर्नेमा सभापति देउवाले जोड दिनुभएको छ । उहाँले वर्तमान अवस्थामा एउटै पार्टीले बहुमत ल्याउन कठिन भएकाले गठबन्धनमा जानुपरेको बाध्यात्मक अवस्थाका बारेमा कार्यकर्तालाई बताउँदै पार्टीलाई सुदृढ बनाएर जान सके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने उल्लेख गर्नुभयो । उहाँले त्यो अभियानको थालनी कास्कीबाट गर्न निर्देशनसमेत दिनुभयो । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता देउवाले पोखराका ताललगायत प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिनुभयो । उहाँले पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज नभए पनि साना जहाज ल्याएर विदेशी पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो । 


त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले पार्टीलाई सशक्त बनाउन महिलाको आरक्षण कोटा अझै वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले धर्म निरपेक्षताको अर्थ नकारात्मक हुने भएकाले धार्मिक स्वतन्त्रता हुनुपर्नेमा जोड दिनुभयो । 

पार्टीका सहमहामन्त्री जीवन परियारले कास्की सबै पक्षबाट उपेक्षित भएकाले केन्द्रीय नेतृत्वले विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि उडान हुन नसक्दा देशलाई एकातिर ऋणको भार बढेको र अर्कोतिर आशातीत रूपमा पर्यटन व्यवसाय माथि उठ्न नसकेको भन्दै नेपाल एयरलाइन्सले सेवा दिनुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले गाउँगाउँमा विकास पुगे पनि जनता गाउँबाट विस्थापित हुँदा विकास प्रभावकारी नदेखिएको बताउनुभयो । जनतालाई गाउँमै बस्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको शिर झुक्ने गरी प्रदेश सरकारले कुनै पनि काम नगर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भएको जानकारीसमेत दिनुभयो । 



अर्का केन्द्रीय सदस्य प्रदिप पौडेल पौडेलले राज्यले सुशासनको प्रत्याभूति गराउन नसक्दा नागरिक दलप्रति रुष्ट भएको बताउनुभयो । उहाँले २०४८ सालपछि सत्तामा गएका नेता तथा कर्मचारीको सम्पत्ति छानबिनको माग राख्नुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली कांग्रेसले गरेको राम्रा कामको प्रचार गर्न नसक्नु नै कांग्रेसको कमजोरी भएको बताउनुभयो । त्यसैगरी अर्का केन्द्रीय सदस्य गुरु बराल, केन्द्रीय सदस्य शारदा पौडेलले कास्की कांग्रेसमा कमजोरी छन् भन्ने बहाना देखाएर पार्टीभित्र कास्की कांग्रेसलाई उपेक्षा गरिएको गुनासो राख्नुभयो । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टी क्याडर बेसमा जाँदा कांग्रेसको भविष्य अन्यौल हुने बताउनुभयो । 

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल, उद्योग, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा, प्रदेश सांसद बिन्दुकुमार थापा, सरस्वती गुरुङ, प्रकाश बराल, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, कांग्रेसका नेता सुदिप मोहन भट्टराई, रामबाबु भण्डारी, भानु ढकाललगायतले कांग्रेसको सुदृढीकरणका बारेमा बोल्नुभएको थियो ।