• १६ भदौ २०८१, आइतबार

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

blog

सोल, माघ ९ गते । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ ।

राति करिब ११ः०८ बजे आगलागी भएको थियो । राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा रहेको काउन्टीको परम्परागत समुद्री उत्पादन बजारमा आगलागी भएको हो ।

तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बिच दमकललाई आगो निभाउन करिब नौ घण्टा लागेको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् । आगलागी हुँदा बजारमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन ।

दमकल अधिकारीहरूले आगो निभाउन ३६१ वटा दमकल र ४५ वटा दमकल इन्जिन परिचालन गरेका थिए । घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ । रासस/सिन्ह्वा