• ३० वैशाख २०८१, आइतबार

कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौँ

blog

ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिकामध्ये मानेभन्ज्याङ गाउँपालिका १४६.६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभन्ज्याङ बजारमा रहेको छ । साबिकका आठ वटा गाविस मिलाएर बनेको यो गाउँपालिका जिल्लामा विकासको दृष्टिकोणले हेर्दा अगाडि नै देखिन्छ । गाउँपालिकाभित्र राई, तामाङ, मगर, क्षेत्री, बाहुन, नेवार, कामी, दमाईं, सार्की, माझी, भुजेललगायतका जातजाति तथा भाषाभाषीको बसोबास रहेको छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई पालिका क्षेत्रको विकास गर्न लागी पर्नुभएको छ । हाल गाउँपालिकामा भइरहेका विकास गतिविधिलगायतका विषयमा केन्द्रित भई गोरखापत्रका ओखलढुङ्गा समाचारदाता शेरबहादुर राईले अध्यक्ष रुम्दालीसँग गर्नुभएको कुराकानी :

गाउँपालिकालाई समृद्ध बनाउने यहाँको योजना के छ ?

सबैभन्दा पहिले कृषि र पर्यटन क्षेत्रको विकास गरी गाउँपालिकालाई समृद्ध बनाउने योजना बनाएका छौँ । गाउँपालिकाको सम्पूर्ण वडामा कृषिको प्रचुर सम्भावना छ । सबै वडामा सडक पुगेका छन् । कृषि उपज बिक्रीका लागि बजारसँग सहज पहुँच छ । गाउँपालिकाले यहाँको रैथाने बाली साथै आधुनिक व्यावसायिक अन्नबाली र तरकारी, फलफूल, माछामासु, दुधजन्य उत्पादनका लागि युवा साथै कृषकलाई आकर्षण गर्ने कार्यक्रमहरू सञ्चालन गरेका छौँ । युवालाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग जोडेर सामूहिक कृषि व्यवसायमा लगाएका छौँ । सडक पुगेका पालिकाका मुख्य स्थानमा कृषि सङ्कलन केन्द्र निर्माण गरी कृषि उपज सडकदेखि सहरसम्म कार्यव्रmम सञ्चालन गरिएको छ । यसका साथै व्यावसायिक कृषि कर्म गरिरहनुभएका कृषकलाई बिउबिजन साथै आवश्यक उपकरण वितरण गरेर प्रोत्साहन गर्ने गरेका छौँ । कृषि व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहकारी, बैङ्कहरूसँग जोडिदिएर सहजीकरण गरिँदै आएको छ । 

पर्यटन विकासका लागि कस्तो सम्भावना देख्नुभएको छ ?

यस गाउँपालिकाको सबैभन्दा अग्लो लिब्जुडाँडा ऐतिहासिक धार्मिक पर्यटनका लागि चर्चित छ । पर्यटनमा थप आकर्षण र प्रवर्धनका लागि आवश्यक भौतिक संरचनाको निर्माण भइरहेको छ । घना जङ्गलको शिर र शान्त वातावरणमा  रहेको लिब्जु सामा थानमा साँढे, गोरु, परेवा, कुखुरा छोड्ने गरिन्छ । यसका साथै मोलीको तीनकन्या पञ्चमी मन्दिर, केत्तुकेको बुद्धको मूर्ति र बौद्ध डाँडाको सहिद पार्क, टोक्सेल सातसल्लेको शहीद पार्क, उबुँको स्वलेवा (चिन्डो) पार्क साथै सुरिम स्तम्भ पर्यटकका लागि आकर्षकका केन्द्र हुन् । थाक्लेको किराँत गुफा, हिलेपानीको सिद्धथामलगायत धार्मिक एवं ऐतिहासिक प्राकृतिक सम्पदाको विकास र प्रवर्धन गरेर पर्यटक भिœयाई गाउँपालिकाको विकास गर्ने योजना छ । गाउँपालिकाको पूर्वमा दुधकोशी, पश्चिममा मोलुङ खोला र दक्षिणमा सुनकोशी नदी रहेकाले जल यात्राका लागि पूर्वाधार निर्माण गरी जल पर्यटक भिœयाउने योजना बनाइएको छ । आन्तरिक पर्यटन प्रवर्धनका लागि वडा नं. ४ केत्तुके बजारमा जिल्लाकै पहिलो जिपलाइन निर्माण गर्ने योजना बनाएका छौँ । यसका लागि ठेक्का लागिसकेको छ । 

यहाँले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उद्घोष पनि गर्नुभएको थियो, त्यो विषयमा अहिले के गरिरहनुभएको छ ?

हामीले निकै चुनौती मोलेर यो काम अगाडि बढाएका छौँ । कृषकको आर्थिक वृद्धि गर्न यो अभियान सञ्चालन गरेका हौँ । प्रशासनबाट त्यसमा सकारात्मक सहयोग भइरहेको छैन । फँडानी गर्छु भनिरहेको छ तर हामीले गाँजाको अवैधानिक कुरा छुट्याएर डाँठ, जुट र फल बिक्री गर्ने योजना बनाएका छौँ । यसका लागि सहजीकरण गरिदिनुहुन नेपाल सरकारसँग पनि आग्रह गर्दछु ।  

फोहोर व्यवस्थापनाको काम कसरी गरिरहनुभएको छ ?

गाउँपालिकाको बजार र विद्यालय क्षेत्रहरूबाट उत्पादन हुने फोहोरलाई सङ्कलन गर्न लगाएका छौँ । सङ्कलित फोहोर बिक्री गर्ने स्थानको खोजी गरेर समन्वय गर्ने योजना बनाएका छौँ । यसका लागि गाउँपालिकाले विशेष कार्यक्रम बनाएर युवालाई रोजगारी सिर्जना गरिने छ । गाउँपालिका पनि सफा बन्ने र आम्दानी हुने भएकाले युवालाई यो अभियानमा लाग्न अनुरोध गर्दछु । यति मात्र होइन व्यवसाय सञ्चालन गर्न चाहने युवालाई गाउँपालिकाले आवश्यक पूर्वाधारलगायतमा सहयोग गर्ने छ । 

शिक्षा, सडक र विद्युत् विकासको क्षेत्रका के के काम भइरहेको छ ?

विद्यार्थीका लागि शैक्षिक सुधार कोष स्थापना गरेका छौँ । अविभावक र गाउँपालिकाको सहकार्यमा विद्यार्थीको शैक्षिक विकासका लागि कोष निर्माण गरिएको हो । यसका साथै शिक्षकहरूको क्षमता विकासका लागि तालिम गोष्ठीको आयोजना गरिएको छ । आगामी शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने तयारी गरिएको छ । गाउँपालिकाको सम्पूर्ण वडाका केन्द्रमा कच्ची सडक पुगिसकेको छ । कालोपत्रे गर्ने क्षमता गाउँपालिकासँग छैन । बाह्रै महिना सवारी सञ्चालन हुने गरी मर्मत गरेका छौँ । केही वडाका टोलमा अझै सडक पुग्न बाँकी छ । छिटै सडक पु-याउने योजना बनाइएको छ । यसका साथै आगामी असारसम्म सम्पूर्ण वडाका गाउँ गाउँमा केन्द्रीय विद्युत् विस्तार गरिने छ । गाउँपालिकाको नौ वटै वडामा विद्युत् पुगिसकेको छ । अब मात्र टोल टोलमा पु-याउन बाँकी छ । 

गाउँपालिकाले खेलकुदका कार्यक्रममा बढी जोड दिएको छ किन ?

खेलकुदको माध्यमबाट स्वस्थ्य नागरिक उत्पादन गर्ने हाम्रो योजना हो । खेलकुद प्रतियोगिता आयोजनाले यस गाउँपालिकाको कृषि र पर्यटन क्षेत्रको विकास र प्रवर्धन हुन्छ । यहाँका कृषि उत्पादनले बजार पाउँछ । पर्यटकका रूपमा आउने खेलाडी र खेलप्रेमीमार्फत यहाँका युवाले आम्दानी गर्न सक्छन् । यसका साथै खेलकुदको माध्यमबाट युवामा नेतृत्व विकास हुनुका साथै युवाको बढ्दो विदेश पलायनलाई रोकी गाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्ने उद्देश्य हो । खेलकुद मात्र होइन ज्येष्ठ नागरिकका लागि हरेक महिना स्वास्थ्य परीक्षण गर्ने कार्यव्रmम सञ्चालन गरेका छौँ । केही महिनाभित्रै ज्येष्ठ नागरिक संरक्षण केन्द्र स्थापना गर्ने योजना बनाइएको छ । महिला, बालबालिका साथै लक्षित वर्गका लागि अत्यावश्यक काम पनि गरिरहेका छौँ ।