• २६ पुस २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा स्थापना गरिएको सशस्त्र प्रहरी सुरक्षाबेसबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ ६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षाबेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुनेगरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताउनुभयो ।

प्रवक्ता खडकाले भन्नुभयो,‘‘बदलिँदो सुरक्षा चुनौतीको आङ्कलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ । त्यसै गरेर सोसियल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ । साथै साइबर डेक्स समेत स्थापना गरिएको छ । त्यसले कतिपय अवाञ्छित क्रियाकलापहरूलाई रोकथाम गर्ने र त्यसलाई कारबाहीको समेत दायरामा ल्याउने गरेर ५०/६० जना मान्छे त कारबाहीमा पनि परिसकेका छन् । हाम्रो पनि, बाहिर सिभिलियन पनि ।’’

यसैगरी, विपद्जन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताउनुभयो ।

बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतङ्कवाद उपशाखा स्थापना गरी काम सुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धी डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताउनुभयो ।


‘‘विपद्जन्य घटनामा तुरुन्तै सशस्त्र प्रहरी बल परिचालन होस भन्ने हेतुले अहिले हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस भनेर हामीले व्यवस्था गरेका छौँ । त्यहाँ विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीसहित मान्छेहरू, हाम्रा कर्मचारीहरु ट्वान्टी फोर आवर तयारी अवस्थामा हुन्छन् । र उनीहरूले गएर तुरुन्तै त्यस्ता कामहरूको तत्काल व्यवस्थापन गर्ने गर्दछन् ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैगरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि यही गत हप्ताबाट मात्रै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एउटा सुरक्षा बेस ३० जनाको टोली रहने गरी त्यो स्थापना गरिएको छ । एयरपोर्टमा समेत सशस्त्र प्रहरी बल परिचालन गरिएको अवस्था हो ।’’

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्टकृत जनशक्ति तयार पार्नका लागि काठमाडौँको मातातीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलका अधिकृतहरूको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था समेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताउनुभयो । त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रूपमा प्लाष्टिकका सामग्रीहरूको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ ।

‘‘यो विपद् व्यवस्थापनको क्षेत्रमा अनुसन्धान बढाएर अलि स्पेस्लाईज्ड म्यान पावर तयार गर्नका लागि विशेष सीमा र विपद्लाई फोकस गरेर पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज सञ्चालन गरिएको । जसलाई बढुवा हुनका लागि अनिवार्य तालिमको रूपमा राखिएको छ । त्यो मातातीर्थमा सुरु भइसकेको छ । त्यसलाई हामीले इन्पेक्टरबाट डिएसपी हुनका लागि अनिवार्य तालिमको रूपमा विकास गरेका छौँ ।,’’ प्रवक्ता खड्काले भन्नुभयो, ‘‘यसले गर्दा सीमा क्षेत्रमा खटिने र विपदमा खटिने व्यक्तिहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानको दायरा अझ फराकिलो हुन्छ भन्ने सङ्गठनले अपेक्षा लिएको छ । अब हरेक युनिटहरूलाई वातावरणमैत्री बनाउन सशस्त्र प्रहरी कर्मचारीहरूले सकेसम्म प्लाष्टिकका बोतल समेत हामीले यहाँ हेडक्वाटरमा मा त युज नगर्ने भनिसकेका छौँ । बरु जगमा पानी खाने, गिलास ल्याउने भनेर त्यो बोतललाई पनि हामीले निरुत्साहित गरेका छौँ । प्लाष्टिकका फूलहरू किन्न पनि हामीले प्रतिबन्ध नै लगाएका छौँ ।’’

सबै प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पतालको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । प्रवक्ता खड्काले फिल्डमा खटिएका सशस्त्र प्रहरीहरूलाई सोही ठाउँमा उपचारको व्यवस्था हुनेगरी ती अस्पतालहरू पनि सञ्चालनमा ल्याउनुपरेको बताउनुभयो ।