• ३० वैशाख २०८१, आइतबार

शिक्षा सबैको पहुँचमा पु-याउने योजना छ

blog

आँबुखैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वार हो । पृथ्वी राजमार्गले यो गाउँपालिकालाई उत्तरतर्फबाट छिचोलेको छ भने गोरखा राजमार्गले पूर्वपट्टिबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यो गाउँपालिकाको विकास र समृद्धिका लागि प्रचुर सम्भावना छ । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष शुक्र  चुमानसँग गोरखापत्रका तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :  


डेढ वर्षको अवधिमा के कस्ता काम गर्नुभयो ? 

ठुलाठुला पूर्वाधार र विकासका कुराभन्दा पनि जनतासँग प्रत्यक्ष जोडिएका जनजीविकाका समस्या हाम्रो प्राथमिकतामा परेका छन् । सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक विकासमा कृषि, पर्यटन, उद्यम विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाएर काम गरिरहेका छौँ । यो अवधिमा थुप्रै दीर्घकालीन महìवका कामको सुरुवात गरेका छौँ । 

सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमा नै पुगेर वितरण गरिएको छ । गण्डकी प्रदेश अन्तर्गतको पृथ्वी राजमार्गको दमौलीदेखि मुग्लिन खण्डमा कुनै पनि अस्पताल थिएनन् । दमौलीपूर्वका बासिन्दा सामान्य बिरामी हुँदा पनि उपचारका लागि चितवनको भरतपुर पुग्नुपर्ने बाध्यता थियो । सामान्य होस् या जटिल बिरामी भएका बेलामा गाउँमा चल्ने पिकअप जिपलाई रिजर्भ गरेर एक दिनभरि लगाएर भरतपुर जानुपर्दा यहाँका गरिब किसानको उपचार खर्च धेरै हुन्छ । ठुलो हिस्सा त सडकको भाडामा नै खर्च हुन्छ । अर्कोतिर प्रमुख राजमार्गको करिब ७० किमी सडकखण्डमा कुनै पनि अस्पताल नहुँदा अनि भिडियो एक्सरेको व्यवस्था नहुँदा सवारी दुर्घटनाकै कारण पनि मृत्यु हुनेको सङ्ख्या वृद्धि भइरहेको छ । यो कथालाई जसरी पनि बदल्नु पर्दछ र आधारभूत स्वास्थ्यको जिम्मा संविधानतः पालिकाको भएकाले आधारभूत अस्पतालको स्थापना गर्नु पर्दछ भनेर आँबुखैरेनी अस्पताल स्थापना र सञ्चालन गर्न सफल भयौँ । 

हामी निर्वाचित भइसकेपछि सार्वजनिक शिक्षालाई निःशुल्क बनाउने लक्ष्य अनुसार हाल पहिलो चरणमा ३२ विद्यालयमध्ये ३० वटामा पूर्ण निःशुल्क र एउटामा प्राथमिक तहसम्म निःशुल्क बनाउन सफल भएका छौँ । बाँकी विद्यालयमा पनि व्रmमशः निःशुल्क बनाउंँदै लैजाने योजना रहेको छ । सार्वजनिक विद्यालयप्रति विश्वास र भरोसा जगाउन सम्पूर्ण जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गरिएको छ । पढ्दै कमाउँदै र शिक्षासँग सिप कार्यव्रmम अन्तर्गत विभिन्न विद्यालयमा फूलखेती, लोकल कुखुरापालनलगायतका काम भइरहेका छन् र यसबाट विद्यार्थी उत्साहित छन् । अर्को शिक्षाको गुणस्तर वृद्धि गर्न सक्षम र अनुभवी संस्थासँग लागत साझेदारी गरी सहकार्य गरिएको छ  ।  

पर्यटनबाट आम्दानी बढाउने पालिकाको योजना अनुसार ऐना पहरामा ढुङ्गामा मूर्ति कुँदेर आकर्षक गन्तव्यको रूपको विकास गर्ने काम भइरहेको छ । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोटलगायत साहसिक जल व्रिmयाकलाप सञ्चालन गरी पर्यापर्यटन विकास गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १ मा रहेको आँधीमूलमा सानो जलाशययुक्त हाइड्रोपावरको सम्भाव्यता अध्ययन भइरहेको छ । स्थानीय उत्पादनलाई प्रवर्धन गर्न शुक्रबारे हाटबजार सञ्चालन गरिएको छ । पालिकालाई प्रविधिमैत्री बनाउने र अनलाइन प्रणालीलाई जोड दिएर सिफारिसलगायतका कुराका लागि पालिका आउनु नपर्ने बनाउन लागिएको छ ।  

काम गर्दा चुनौतीको सामना गर्नु परेको छ ?

काम गर्दै जाँदा चुनौती त हुने नै भए तर हरेक चुनौतीलाई अवसरका रूपमा लिएर हामी अगाडि बढेका छौँ । संविधानले दिएको मौलिक हकको ग्यारेन्टी गर्न पालिकासँग जुन स्रोत हुनु पर्दथ्यो त्यो छैन । एकातिर जनताको विकासप्रतिको तीव्र चाहना र अर्कोतिर स्रोतको सिमितताको विरोधाभासमा हामी छौँ । तीन तहको सरकारको स्पष्ट कार्यक्षेत्र नहुनाले पनि कतिपय प्राथमिकताका क्षेत्रमा काम गर्न अप्ठ्यारो भएको छ  । विशेष गरी सङ्घ र प्रदेशबाट साना साना योजनामा बजेट विनियोजन गर्ने प्रणाली घातक छ । यसबाट काम सम्पन्न गराउन सम्भव छैन । 

सीमान्तकृत समुदायका बासिन्दाको जीवनमा परिवर्तन ल्याउनुभयो ?

हाम्रो पालिकामा चेपाङ, भुजेललगायतका सीमान्तकृत समुदाय छन् । उनीहरूका लागि शिक्षा, स्वास्थ्यलगायत गाँस, बास र कपासको ग्यारेन्टी गरेका छौँ । विद्यालयको पहुँच सबैलाई पु¥याएका छौँ । परम्परागत रूपमा जीवनयापन गर्न प्रयोग गरिरहेको बाँसजन्य सामग्री निर्माणलाई आधुनिक तरिकाले गर्न तालिम प्रदान गरिएको छ ।  

सुशासन कायम गर्न पहल गर्नुभएको छ ? 

सुशासनबिना समृद्धि सम्भव छैन । यसका लागि सरकार जवाफदेही र पारदर्शी हुनु पर्दछ । त्यसैले राजस्व, दर्ता चलानी, योजना र आन्तरिक प्रशासनिक कार्य पूर्णतया प्रविधिमा आधारित छन् । पालिकाभित्र र हरेक वडामा नागरिक सहायता कक्षको व्यवस्था गरिएको छ । सेवाग्राहीको काम सोही सहायता केन्द्रमार्फत गरिएको छ । समयानुकूल अन्य पक्ष सुधार गर्दै अघि बढ्ने योजनामा छौँ । 

कृषि क्षेत्रको विकासमा पनि काम भएको छ ?

कृषि सहकारीमार्फत उन्नत बिउ, विषादीको वितरण, भण्डारणका लागि कोल्ड स्टोरको व्यवस्था गरिएको छ । किसानलाई प्रोत्साहनस्वरूप दुधमा प्रतिलिटर तीन रुपियाँ अनुदान दिइएको छ । यसलाई बढाउने योजनामा छौँ । कृषकको गाई, भैँसी र बाख्राको बिमा पालिकाले गरिदिने कार्यव्रmम कार्यान्वयन गरिएको छ । 

आँबुखैरेनी रङ्गशाला बनाउने योजना कागजमा मात्र सीमित भएको हो ? 

रङ्गशालाका लागि चाहिने पूर्वाधार, सडक, खानेपानी, सरसफाइ भइरहेको छ । रङ्गशाला निर्माण गर्न ठुलो रकमको आवश्यकता पर्ने भएकाले सङ्घीय सरकारसँग निरन्तर पहल गरिरहेका छौँ । 

बेरोजगारी समस्याको अन्त्यका लागि केही काम भएको छ ?

युवालाई स्वरोजगार बनाउने उद्देश्यले कृषिलाई प्राथमिकतामा राखी स्थानीयस्तरमा उद्योग सञ्चालन गरेका छौँ । सिप विकासका तालिम सञ्चालन गरेका छौँ । स्थानीय उत्पादन बिव्रmी गर्न बजारको ग्यारेन्टी गरेका छौँ । 

भावी योजना के छन् ?

आँबुखैरेनी आधारभूत अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालमा रूपान्तरण गर्ने, सार्वजनिक शिक्षालाई पूर्ण निःशुल्क र सबैको पहुँचमा पु-याउने । सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने, स्थानीयस्तरमा घरेलु उद्यमशीलताको विकास गर्ने योजना छन् । प्राविधिक शिक्षालयको स्थापना गर्ने, विश्वविद्यालयको आङ्गिक क्याम्पस स्थापना गर्न पहल गर्ने र पूर्ण प्रविधिमैत्री पालिका बनाउने योजना बनाएका छौँ ।