नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । पछिल्लो राष्ट्रिय जनगणना (२०७८) अनुसार १४२ जातजातिको बसोबास रहेको मुलुकमा यी जातजातिद्वारा बोलिने १२४ मातृभाषा र मानिँदै आएका दस वटा धर्म उत्तिकै महत्वपूर्ण छन् । यी सम्पूर्ण जातजातिद्वारा पालन गरिँदै आएको देशको सांस्कृतिक विविधताको जगेर्ना गर्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, कला र सम्पदाको संरक्षण एवं विकास गर्ने राज्यको संविधानप्रदत्त नीति नै रहेको छ । सनातन हिन्दु धर्मावलम्बीको आधिक्य रहेको भए पनि नेपालको संविधानले धर्मनिरपेक्ष राष्ट्रका रूपमा सबै धर्म, सम्प्रदाय एवं जातजातिको समान अस्तित्व स्वीकार गरेको छ । यसै अनुरूप सनातनदेखि चलिआएका आफ्ना धार्मिक तथा सांस्कृतिक परम्परालाई सबैसामु परिचित गराउन केही वर्षयता विशेष महत्व दिन थालिएको छ । यस्ता चाडपर्व सीमित स्थान वा क्षेत्रविशेषमा मात्र नमनाएर देशव्यापी मनाउन थाल्नुले एकअर्काको धर्म र संस्कतिसँग घुलमिल तथा परिचित हुने अवसर सुखद पक्ष हो ।
हाम्रो समाजमा एउटै पर्वलाई पनि क्षेत्रविशेष र फरक समुदायमा मौलिक परम्परा अनुसार मनाउने प्रचलन छ । यसको ज्वलन्त उदाहरण माघेसङ्क्रान्ति पनि हो । यस पर्वलाई खास गरी थारू, मगर र छन्त्याल समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउने गरेका छन् । थारू समुदायले नयाँ वर्षका रूपमा ‘माघी’ पर्वलाई धुमधामसाथ मनाउँछन् । त्यसै गरी मगर समुदायले ‘माघेसकराती’ र छन्त्यालले समुदायले ‘छार–म्हेङ’ नयाँ वर्षका रूपमा विशेष महत्वसाथ मनाउँछन् । त्यसो त खस–आर्य, नेवार तथा अन्य जातजातिमा पनि माघेसङ्क्रान्तिको आफ्नै खालको विशेषता र महत्व रहेको पाइन्छ ।
हिन्दु पञ्चाङ्ग अनुसार अधिकांश चाडपर्व चान्द्रमास (तिथि) का आधारमा मनाइन्छन् तर माघेसङ्क्रान्ति भने सूर्य धनु राशिबाट सरेर मकर राशिमा प्रवेश गरेको आधारमा मनाइने पर्व हो । यस दिनलाई मकरसङ्व्रmान्ति पनि भनिन्छ र यसै दिनदेखि उत्तरायण सुरु हुने भएकाले शुभकार्यका लागि उत्तम साइत हुने शास्त्रीय मान्यता रहिआएको पाइन्छ । सङ्क्रान्तिको शाब्दिक अर्थ हुन्छ – गति वा चाल । जीवनसँग सम्बन्धित सबै चिजवस्तु गतिशील छन् । यस दिन राशिमण्डलमा एउटा महŒवपूर्ण चाल हुन्छ । यही चाल वा गतिले बदलाव ल्याउँछ र पृथ्वीलाई फरक रूपमा अनुभव गर्न थालिन्छ । सङ्क्रान्तिहरूमध्ये मकरसङ्क्रान्ति र कर्कट सङ्क्रान्तिको विशेष महत्वबोध हुन्छ । उत्तरायण सुरु भएपछि सूर्यसँगको सम्बन्धमा पृथ्वीको गति वा यसको झुकाव चरम अवस्थामा पुग्ने भएकाले उत्तरतर्फको चाल प्रबल हुने ज्यातिष शास्त्रीय मान्यता रहिआएको छ ।
हिन्दु शास्त्रीय मान्यतामा यस दिन विशेष गरी नदी–तीर्थस्थलमा स्नान गर्नुलाई महत्वपूर्ण मानिन्छ । पौराणिक मान्यता अनुसार भगीरथले गङ्गाजीलाई पृथ्वीमा अवतरण गराएको दिनका रूपमा गङ्गाजी स्नानका लागि पवित्र दिन मानिन्छ । विभिन्न नदीनाला एवं जलाशयमा स्नान गर्न भिड लाग्नुका साथै ती क्षेत्रमा मेलासमेत लाग्ने गरेको छ । पवित्र तीर्थस्थल देवघाटधाममा माघभरि स्नान तथा दर्शन पूजनको विशेष महत्व रहेको छ । सुनसरीको बराहक्षेत्र, इलामको माईबेनी, झापाको कन्काई, कालीगण्डकी किनार, रुरु (रिडी) क्षेत्र, पर्वतको सेतीबेनी, तेह्रथुमको गौखुरी र काठमाडौँको बागमती किनारमा स्नान गर्नेको घुइँचोले शास्त्रीय मान्यतालाई पुष्टि गरिरहेको तथ्यलाई नकार्न सकिँदैन ।
भविष्य पुराण, विष्णु पुराण तथा धर्मसिन्धुलगायतका ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुललगायतका खाद्यवस्तु सेवन गरेमा शरीर हृष्टपुष्ट हुनुका साथै चिसोबाट मुक्त भई छालासम्बन्धी रोग नलाग्ने भविष्य पुराणमा उल्लेख छ । नेवारी संस्कृतिमा घिउ र चाकु खाने पर्व, मगर संस्कृतिमा तीर हान्ने परम्परा, थारू संस्कृतिमा बडघर भलमन्सा (मुखिया) चुन्नेदेखि लिएर विभिन्न परिकार खाएर खुसियाली मनाइने गरिएको छ । विशेष गरी प्रकृति उपासना र प्रकृतिप्रदत्त चिजवस्तुको सम्मान गर्ने पर्वका रूपमा माघेसङ्क्रान्तिको महत्वबोध सर्वत्र हुनुले यसलाई साझा पर्वका रूपमा लिइँदै आएको हो ।
हाम्रा स्थानविशेषका पर्व परम्पराहरू केही वर्षयता देशव्यापी रूपमा फैलिएका छन् । त्यति मात्र नभएर नेपाली रहेबसेका विश्वका विभिन्न मुलुकमा पनि मनाउन थालिनुलाई सांस्कृतिक परम्पराको विश्वव्यापीकरण भएको मान्न सकिन्छ ।
माघेसङ्क्रान्तिका अवसरमा राष्ट्रप्रमुखदेखि सरकारप्रमुखसम्मले शुभकामना सन्देश व्यक्त गर्नुभएर पर्वको महत्वलाई अझ गरिमामय बनाइदिनुभएकोे छ । जसले गर्दा हाम्रो सांस्कृतिक पहिचान र विविधतापूर्ण सहअस्तित्व एवं राष्ट्रिय एकतामा थप बल पुग्ने सांस्कृतिकविद्हरूको अभिमतलाई सकारात्मक मानिएको छ ।