• १२ साउन २०८१, शनिबार

रुरुक्षेत्र धाममा संक्रान्ति मेला

blog

स्नान गर्न रुरुधाम रिडीमा आएका दर्शनार्थीको भिड । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, माघ १ गते । नेपालको चार धाममध्येको एक रिडी रुरु क्षेत्र धाममा संक्रान्तिको विशेष मेला लागेको छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको रुरुधाम क्षेत्र रिडीमा आज सोमबारदेखि विशेष मेला सुरु भएको हो । 

मेला भर्न आएका हजारौँ भक्तजनले पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीस्थित कालीगण्डकी नदी किनारमा स्नान गर्ने प्रचलन छ । यस्तै, नदी तटमा रहेको ऋषिकेश मन्दिरमा पुगेर विशेष पूजा गर्ने भक्तजनको भीड बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिनुभयो । नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनले पवित्र धाम रिडी क्षेत्र एकदिन अघिदेखि नै भरिभराउ बनेको उहाँले बताउनुभयो । 

रुरु धाम क्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सोही अवसरमा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । माघे संक्रान्तिमा रिडीमा आफ्ना पितृहरूलाई पिण्ड दिनेहरूको समेत भीड लाग्ने गर्दछ । रिडीमा आफ्ना पितृहरूलाई सम्झेर तिथि श्राद्ध गर्नाले काशी–गया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख छ । 

रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । रिडी क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विश्वास रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । 

परम्परादेखि नै रिडीमा माघ १, २ र ३ गते पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी सङ्क्रान्ति मेला लाग्ने गरेको छ । संक्रान्ति मेलासँगै व्यापार–व्यवसाय गर्न पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ लगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारीहरू आइसकेका छन् । रोप्पा, रुकुम सल्यान, प्युठान, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङमा उत्पादन हुने ऊनीजन्य बस्तुहरू राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू बिक्री गर्न व्यापारीहरू आइतबारदेखि नै रिडीमा आइसकेको रुरु फ्रेन्डस् क्लबका अध्यक्ष सोभित थापाले बताउनुभयो ।