• २३ वैशाख २०८१, आइतबार

हृदयाघात बढ्नुको प्रमुख कारण अधिक धूम्रपान

blog

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोलोजिस्ट डा.सुजिव राजभण्डारी

काठमाडौं, पुस २६ गते । अन्य मौसमको तुलनामा जाडो मौसममा मुटुका रोगी बढ्ने गर्दछन् । विभिन्न अध्ययनले पनि जाडोमा मुटुरोगीको सङ्ख्या बढ्ने देखाएको छ । कार्डियोलोजिस्ट डा.सुजिव राजभण्डारी जाडोमा रगतका नलीहरू खुम्चिई ब्लड प्रेसर बढ्ने भएकाले मुटुलाई धेरै भार परी मुटुरोग बढ्ने बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ,“जाडोमा तापक्रमलाई नियन्त्रण गर्नुपर्ने भएकाले मुटुलाई बढी दबाब पर्न गई मुटुको रोग बढ्छ । यो मौसममा वायुमा घनत्व बढी हुने र वातावरणीय प्रदूषणले स्वास्थ्यमा विभिन्न खराबी ल्याउने हुँदा पक्षघात र हृदयाघात बढ्ने सम्भावना बढी हुन्छ ।” 

डा.राजभण्डारीका अनुसार चिसोमा मुटुले आवश्यकता अनुसार रगत पप गर्न नसक्ने, धमिनी बन्द भएर हृदयाघात भएर, जाडोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा धेरैजस्तो छातीमा सङ्क्रमण भएर धेरै बिरामी अस्पतालमा आउने गर्दछन् । 

पुरुषमा मुटुरोग बढी देखिन्छ 

मुटुरोग महिलाको तुलनामा पुरुषमा बढी देखिने डा.राजभण्डारी बताउनुहुन्छ । पछिल्लो समय युवा अवस्थामा पनि हृदयाघात हुने सम्भावना बढिरहेको छ । कार्डियोलोजिस्ट डा.राजभण्डारीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सन् २०२२ मा हृदयाघात भएर दुई हजार ८६ जना भर्ना भएको जानकारी दिनुभयो । 

भर्ना भएकामध्ये झण्डै दुई तिहाइ अर्थात् झण्डै ६८ प्रतिशत पुरुष छन् । बिरामीमध्ये १० प्रतिशत ४५ वर्षभन्दा कम उमेरका युवा रहेको डा.राजभण्डारीको भनाइ छ । अत्यधिक धूम्रपान, असन्तुलित खानपान, अव्यवस्थित जीवनशैली, व्यायामको कमी र वातावरणीय असरले युवामा मुटुरोग बढ्दै भएको डा.राजभण्डारी बताउनुहुन्छ ।  

उहाँका अनुसार मुटुरोग विभिन्न प्रकारका हुन्छन् । जन्मजात मुटुरोग, वंशाणुगत हुने मुटुरोग, वातावरणीय प्रभावबाट हुने मुटुरोग, बढ्दो उमेरले गर्दा हुने मुटुरोग तथा विभिन्न कारणले हृदयाघात, छाती दुख्ने, बाथको रोगले गर्दा हुने समस्या, मुटु फुलिने उच्च रक्तचाप, मधुमेहले गर्दा मुटुरोग उत्पन्न हुने गर्छन् । 

बढ्दो उमेर, वंशाणुगत, असन्तुलित खानेकुरा, व्यायामको कमी, वातावरणीय प्रभाव, अन्य दीर्घरोगका कारण, अत्यधिक मद्यपान र धूम्रपान गर्ने मानिसमा मुटुरोग बढी हुने सम्भावना हुन्छ । 


हिँड्दा छाती दुख्ने, दम बढेर स्याँस्याँ भएमा, खुट्टा बढी सुनिएमा, थकान महसुस हुनेजस्ता  लक्षण देखिएमा मुटु रोग भएको अनुमान गर्न सकिने डा. राजभण्डारी बताउनुहुन्छ ।   चिसोमा मुटुरोग बढ्न नदिन न्यानो भएर बस्ने, सकभर बाहिर ननिस्कने । चिसो कम भएको बेलामा दिनमा ४५ मिनेट लम्केर हिँड्ने, सन्तुलित खानेकुरा खान, व्यायाम गर्ने, धूम्रपान, मद्यपानको सेवा नगर्न उहाँको सुझाव छ । 

डा. राजभण्डारी भन्नुहुन्छ, ‘‘खानामा ५० प्रतिशत तरकारी, फलफूल, गेडागुडी रेसादार खानेकुरा समावेश गर्नुपर्छ, मुटुका रोगीले चिल्लो र क्यालोरीयुक्त खानेकुरा कम मात्र खानुपर्छ ।’’  शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोलोजिस्ट डा.सुजिव राजभण्डारीसँग चिसोमा मुटुरोग बढ्नुको कारण, कस्ता मानिस जोखिममा हुन्छन्, मुटुरोग बढ्न नदिन के गर्ने भन्ने विषयमा केन्द्रित भई गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद :


 भिडियो : मनोजरत्न शाही-केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।