• १३ असोज २०८१, आइतबार

ललितकलामा कलासम्बन्धी अन्तरक्रिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । पछिल्लो समय सूचना प्रविधिले एकअर्काको कला बुझ्ने/बुझाउने कुरालाई अझ बढाएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तरक्रिया कार्यक्रममा लामाले नेपाली कलाको विविध आयामको चर्चा गर्दै कुनै पनि कुराको सार भनेकै अमूर्त भएको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा कलाकार लोरा मर्फीले आफ्नो कलाको चर्चा गर्दै सहभागी भएको क्षण अविस्मरणीय भएको बताउनुभयो भने जोन फुलर्टनले प्रतिष्ठानमा यस किसिमको कार्यक्रममा उपस्थिति  हुन पाउँदा आफूलाई खुसी लागेको भन्दै आभार व्यक्त गर्नुभयो । 

यस्तै जुजाना हानाकोभाले वाटर कलरमा रमाउँदै आफूले कला सिर्जना गर्दाको क्षणसँगै आफ्ना कलाकृतिका बारेमा चर्चा गर्नुभयो । मारी टेलरले आफूले आधुनिक कलालाई अघि बढाउँदै रमाइरहेको बताउनुभयो । मनिषलाल श्रेष्ठले २०५० पश्चात् आफू नेपालमा कलाको संस्थागत रूपले जोडिएको बताउँदै नेपाली कलाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । 

हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालका पस्मिना, पौभा, थाङ्कालगायतका रैथाने कलाले विश्वका ६५ बढी देशमा बजार पाएको चर्चा गर्नुभयो । महासङ्घका उपाध्यक्ष डिल्लीरत्न तुलाधारले नेपालको कला अन्तर्राष्ट्रियकरण भइसकेकोे बताउँदै यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यव्रmममा प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सौरगङ्गा दर्शनधारी, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य सङ्गी श्रेष्ठ, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ लगायतको उपस्थिति रहेको थियो ।