• ९ मंसिर २०८१, आइतबार

प्याब्सन दिवसमा विद्यार्थी र शिक्षक सम्मानित

blog

एसईईमा उत्कृष्ट छात्रा युना गुरुङलाई सम्मान गर्नुहुँदै पूर्वमन्त्री योगेशकुमार भट्टराई । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २४ गते ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३३ औं स्थापना दिवसका अवसरमा ताप्लेजुङमा विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ । स्थापना दिवसका अवसरमा प्याब्सन ताप्लेजुङले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई मङ्गलबार सम्मान गरेको हो ।

सदरमुकाम फुङ्लिङस्थित होटल माउन्टेनमा आयोजित कार्यक्रमका बिच विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको हो । सम्मानित हुने विद्यार्थीतर्फ २०७९ को विद्यालय शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ३.८ जीपीए ल्याउने युना गुरुङ रहनुभएको छ । निजी विद्यालयतर्फ फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलबाट एसईईमा सहभागी भई सर्वोत्कृष्ट नतिजा ल्याउन सफल गुरुङलाई नगदसहित सम्मान गरिएको हो ।

यस्तै, शिक्षकहरुमा जानुका सुनुवार ताप्लेजुङ सिद्धार्थ एकेडेमी, रीचा मेन्याङ्बो कञ्चनजङ्घा बोर्डिङ स्कूल, करिस्मा लिम्बू तामाङ मेची सेन्टम्यारिज बोर्डिङ स्कुल र ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलकी शिक्षक कुमारी गुरुङ सम्मानित हुनुभएको छ । विद्यार्थी, शिक्षक साथै निजी विद्यालयका लगानीकर्तालाई नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको प्याब्सन ताप्लेजुङका सचिव तरुण भारतीले जानकारी दिनुभयो ।

सम्मानित विद्यार्थी, शिक्षक तथा लगानीकर्ता (फाउण्डर) लाई प्रतिनिधिसभाका सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराई र फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले नगद, कदरपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । कार्यक्रममा पूर्वमन्त्री भट्टराई, नगरप्रमुख मादेन, राजनीतिक दल, विभिन्न शैक्षिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिनुभएको थियो ।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरुले निजी विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । उहाँहरुले समग्र जिल्लाको शैक्षिक  विकासका लागि समन्वय, सहकार्य र आवश्यक भूमिका निर्वाह गर्दै अघि बढ्नका लागि सुझाव दिनुभएको छ । कार्यक्रम प्याब्सनका जिल्ला अध्यक्ष गणेश सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो ।