• १३ पुस २०८१, शनिबार

मिटरब्याज प्रताडना (कथा)

blog

काठमाडौेँ चिसो कचौरा जस्तो भूगोल । पुसको तुसारामा झनै सिरेटोले गुटुमुटु बनाए जस्तै भएको थियो । सडकभरि सेताम्य छरिएको शीत र छारो मात्रै होइन बिहान उज्यालोसँगै जुलुस जस्तो ढाकेर आउने हुस्सुमा हराएको सहर ब्युझिसकेको पनि थिएन । यस्तो बेला रत्नपार्कमा घेरा हालेर बसेका मिटरब्याज पीडितहरू जाडोले हातलाई दुई तिघ्राले च्यापी पातलो बर्कोले ढाकेर गुडल्किँदै कचपल्टिलो निद्रा बोलाउन अझै प्रयासरत थिए । नौतिर तारामण्डल देखिने त्रिपालले न तिनीहरूको जाडो छेक्न सक्थ्यो न शीत ताप नै ।

रत्नपार्कलाई घेरिरहेको सडक आसपासमा पहरेदारी गरे जस्तो उभिइरहेका कपुरका बोटहरूलाई पनि चिसो लागेको छ यतिखेर । त्यसैले त त्यसमा रात बिताएका सेता बकुल्ला मध्यरातमै कहिले पखेटा फट्फटाउँछन्, कहिले उलुलु स्वर निकाले जस्तै गर्छन् । त्रिपालमुनि बस्नेहरूलाई आफ्नो जीवन ती बेघर चरा जस्तै लागिरहेको छ । जसले हुर्कनासाथ बचेराको मुख देख्दैनन् । आजको रात यहाँ बिताएपछि थाहा छैन भोलि कुन डाली समाएर बाँच्नु पर्ने हो ? नियतिको भलले उखेलिएका वृक्षहरूलाई ठुलो ढुङ्गामा लगेर उठ्नै नसक्ने गरी पछारे जस्तै ती मिटरब्याजपीडितहरूलाई गाउँबाट उठ्न नसक्ने गरी पछारिदिएको छ । त्यसैले त यस्तो भलमा बग्दै आइरहेकी छु कि जहाँ विशाल गोही कछुवा र माछाहरू सिकारका लागि मुख बाइरहेका छन् । हरेकका दाँतमा पिसिएर थिचिएर धुलिएर पनि शिलामा ठक्कराएर मर्दै बाँच्दै गर्नु हाम्रो नियति भइरहेको छ– रामारोशनीले अर्धनिद्रामै यस्तो सोचिन् । 

 मध्यरातमा निद्रा खुलेपछि निदाउन पनि बल गरिन् तर आज किन हो कुन्नि पटक्कै आँखा जोडिन मान्दै मानेनन् । बाहिर चिसो सिरेटो चलिरहेको छ र भित्र अनेक दुःखका आँधी पनि चलिरहेको छ । कचपल्टिलो समयले छातीभित्र नमज्जाले हिर्काइरह्यो र फुत्त, फुत्त विगतका बिम्झनाहरू बाहिर निस्किरह्यो । 

रात त छिप्पिइसकेको थिएन । वर्षायामको उत्तरार्ध भए पनि आकाशमा चारैतिर बादल डम्म ढाकिरहेकाले जनकपुरको कोल्हवी साँझमै अन्धकारभित्र हराएको जस्तो थियो । मान्छेका मलमूत्रको अव्यस्थित उत्सर्जनले गाउँमा सभ्यताको उज्यालो छिर्न नसकेको, अज्ञानताको अन्धकार व्यप्ति रहेको कुरा छर्लङ्ग थियो नै । 

काँधमा गम्छा लामो ह्वार्लाङ्गे लुङ्गी र एउटा पेटेभोटो जस्तो कमिजमा दोगरा बाबुसाहेब भुकभुके उज्यालो नछिर्दै गाउँ घुमेर दैनिकी आरम्भ गर्थे । उनी गाउँमा छिर्नु के थियो आतङ्को उदय हुनु जस्तै थियो । कसैका घरमा गुनिला र दुधालु भैँसीमाथिको नजर, हुर्किएका छोरीबेटीमाथि त्रासवर्षा, कसैका खोरमा बासेको भाले छ भने त्यसको आयु समाप्तिको पनि सूचना पनि हुन सक्थ्यो । 

उनको छोराले सहरमा म्यानपावर कम्पनी चलाएको थियो । त्यसैले कसैका हुर्किएका छोराछोरी छन् भने विदेशमा एक लाखभन्दा ज्यादा कमाइ हुन्छ, किन घरै बसिरहेको ? म पठाइदिन्छु जाऊ । नागरिकता पासपोर्ट बनाइहाल । पैसाको चिन्तै गर्नुपर्दैन भनिहिँड्थे । अगाडिबाट विचार गर्दा लाग्थ्यो कि उनीभन्दा समाजको उज्यालो कोही छैन । यो र यति मात्रै उनको असली परिचय भए त हुन्थ्यो नि उनका यी गुलिया वचनभित्रको विषले नै गाउँमा कालो छाया बनाइरहेको थियो । 

हुर्किएका छोरीबेटीलाई मेला पात बोलाउने र एक्लै खेतमा काम गर्न लैजाने, नमानेमा अनेक दण्ड दिने, कसैका खेत खलिहानमा फलेका आँप, मेवा, केरा नसोधीकनै काटेर लैजाने त उनको नियमित व्रिmयाकलाप नै थियो । दोगरा गाउँ छिर्नु भनेको दुःखको आँधी छिर्नु जस्तै थियो । कोशीको भल बाढी गाउँ पस्नु जस्तै हुन्थ्यो । उनको दैनिकी यस्तै र यसरी नै चलिरहेको थियो । 

कहिले कहिले दोगरा बाबुसाहेब नरम पनि भइदिन सक्थे । कसैले उनीसँग ऋण लिन बाँकी छ भने उनी तिनैका घरमा पुग्थे र आफैँ राम राम भाइसाहेब भन्न पनि भ्याउँथे । आफूलाई अलिकति खेत चाहिएको छ । कसैले बेच्नु पो छ कि भनी सोधिहेर्थे । 

कसैका तन्नेरी छोरा बुहारी विदेश जानुपर्ने छ ? भनेर पनि बुझ्न खोज्दथे मानौ उनी यो समाजको आर्त आँसुप्रति ज्यादा नै संवेदनशील थिए । कसैको जग्गा जमिनमा काम गर्न नसकेर बाँझो रहको देखे भने पनि म भाडा दिन्छु, बाँझो राख्नुभन्दा भाडा लेऊ भनिहाल्थे । 

 सबैका प्रतिको यो उनको उदार भाव देख्दा त आरम्भमा उनलाई कसैले नराम्रो हो भन्नै सक्दैनथे । उनको उदार र विशाल हृदयप्रति नतमस्तक हुनै पर्दथ्यो । थिए पनि ।

 गैँडाले प्रेमले जब चाट्न थाल्छ तब प्रेम स्वीकार गर्नेहरूले मृत्युदण्ड पाउँछ । गोहीले चुहाएको आँसु पश्चातापको हो कि हर्षको बुझ्न कठिन हुन्छ । दोगरा बाबुसाहेको नियत पनि गैँडा र गोहीको भन्दा फरक थिएन सायद । 

 रामा रोशनी जनकपुरको उही अँध्यारो गल्लीभित्रको सानो गाउँमा बस्थिन् । उनका श्रीमान् निकै वर्ष अगाडि नै भारतमा काम गर्न जाँदा बितेका हुन् । भारतको रेलवे लाइनका स्थायी कर्मचारी उनका श्रीमान्ले निकै दुःखले प्रशस्त जमिन जोडेका थिए । उनका खेतबारी अब्बल थिए । त्यसैले गाउँभरका साहु महाजनका आँखा लागेका नै थिए । जवानीका बेला अनेक स्यालहरू हुल बाँधेर आएकै हुन् । ब्वाँसाहरूले ¥याल चुहाएकै हुन् । उनको कडा र अटल मिजासबाट सबैले हार खाए । उनी सतीसाल जस्तो एक्लै उभिइरहिन् । कसैले हलचल गर्न गराउन सकेनन् । 

समय एकैनास नरहने रहेछ । गतिमान् समयले सबैलाई बदल्न सिकाउने नै रहेछ । रामा रोशनीका छोराछोरी बिस्तारै हुर्कंदै गए । उनको खर्चको पनि बढ्न थाल्यो । सहरमा पढ्न बसेको छोरालाई कृषि उत्पादनले मात्रै धान्न मुस्किल पर्दै गयो । स्रोत खोज्नुपर्ने बाध्यता आइलाग्न थाल्यो । 

रोशनीलाई सन्तान आँखाबाट टाढा पठाउन रहर थिएन । बेलैमा श्रीमान् बितेर हातहातै काखकाखै सन्तान हुर्काएकी उनी तिनीहरूलाई पर भएको देख्न चाहन्नथिइन् । सधैँ र सबै समय आफ्नो नियन्त्रणमा हुँदैन । पखेटा नपलाउन्जेल चराहरू गुँडमा रहन्छन् र आमाबाबाको आश्रयमा रहन्छन् । रामा रोशनी पनि आम मान्छे न थिइन् । उनका सन्तान पनि आम मानिसहरूका सन्तान नै हुन् । फरक कसरी हुन सक्थे र ? रामाका छिमेकका सन्तान खराखर विदेश हाम्फाल्न थालेका थिए । सँगै पढ्ने साथीहरू युरोप अमेरिका कुदिरहेका र तिनले रमझममा झुमिरहेका तस्बिरहरू सामाजिक सञ्जालमा छपक्कै ढाकेपछि के गर्नु ? आखिर उनीहरूको पनि मनै त हो । उनीहरूका पनि सपना थिए र उनीहरूका हरिया रहरहरू जिउँदो भएर उठे । अस्ट्रेलियाको सपनाले सुत्न दिएन । 

छोरो सुरेन्द्र १२ कक्षा उत्तीर्ण गरेको समाचारले आमा रामा रोशनीका आँखाबाट आँसुका धारा छुटिरहे । उनमा वर्तमानको हर्ष र विगतका पीडाका छहरा एकै पटक ओहिरिए । विगतका कहरले डसेपछिको घाउ र सन्तान जन्मदाको खुसी एकै पटक फुलेपछि सहिनसक्नु भाउन्न भए जस्तो भयो । आँखा तिर्मिराए । विगतका अनेक भुक्तमानहरू ताजा भएर उप्किए, सुखद आनन्दबाट दिलको कुनै कुनामा हरियो हुँदै आएका बिम्झनाहरू श्रीमान्को मृत्युका तरेलीहरूमा आइपुग्दा मुच्र्छा परुँला, परुँला जस्तो भयो । तिर्मिराएका धमिला अन्तर्दृष्टिले श्रीमान्सँगको वियोगसिर्जित चह¥याएको घाउमा मलम लगाउन कठिन नै थियो । केही नमिठा घटनाहरूलाई ओझेलमा पार्नका लागि पनि सकारात्मक परिदृश्य सामने हुनुपर्दो रहेछ । 

रामा रोशनीको बिस्तारै बिस्तारै चिप्लेर गएको समयले दिएका चोट र त्यसले बनाएका खाटा उप्केर गए । आँखाको धमिलोपन र कहरको जालो पनि फाटेर गयो । दृष्टि अगाडि उज्यालो अनुहार लिएर उभिरहेको छोरालाई मात्रै देखिन् । रामा रोशनीलाई लाग्यो कि अब उनको सबै समस्याको समाधान छोराको आकृतिमा खेलिरहेको त्यही उज्यालो हो । त्यही सम्भावना नै उनको आगत भविष्य हो र अहिलेसम्म गरिरहेको अविराम सङ्घर्षको पर्याय हो । 

जीवनको यो विन्दुमा आइपुग्दा बल्ल सन्तुष्टिको एक लामो निःश्वास फेर्न सकिन् । बल्ल उनको दिलमा शान्तिको आभाष पलायो । शीतलता छायो । जीवनमा अब भने अनेक कल्कलाउँदा आशाहरू जीवन्त भए जस्तै लाग्न थाल्यो । 

 तब न आमा ! उनलाई सन्तानले केही दिनु परेन, आमा हुन् उनलाई केही चाहिएन सन्तानको खुसीबाहेक जुन एक झिल्को उनले त्यहाँ प्राप्त गरेकी थिइन अर्थात् छोरो पास भइदिएको थियो उसका लागि तर खुसी आमाका लागि थियो । 

मान्छेले सधँै रहिरहने खुसी र आनन्दको आवश्यकताले नै स्वर्गको कल्पना गरेको थियो सायद । यो पनि एक भ्रम नै हो । सधैँ सबै खुसी स्थिर रहिरहने हो भने संसार स्वर्ग बनिदिन्थ्यो । मान्छेले स्थिर आनन्द रहिरहोस् भन्नकै लागि स्वर्गको कल्पना गरेको होला । स्वर्ग कल्पित हो भन्ने जान्दा जान्दै पनि भ¥याङ हालेर पनि मान्छे जान चाहन्छ । आमाहरूलाई स्वर्ग सन्तानकै खुसी रहेछ । सन्तान सुखी रहन्छन्, खुसी रहन्छन् भने आमाहरू स्वर्गको आनन्द पनि सायद छोड्न चाहन्छन् । 

यस्तै हुने भयो रामा रोशनीलाई पनि । पखेटा लागेपछि चराका बचेराहरू गुँडमा रहिरहँदैनन् र आफैँं आहार खोजेर खान सक्ने भएपछि उनीहरूलाई आमाको सहारा पनि चाहिँदैन । फरक यति हो चराहरू र मान्छेमा कि तिनले अर्को ऋतुमा गुँड बनाउन थालेपछि पुराना बचेरा बिर्सन्छन् र मान्छेहरू भने साथमा नरहेका बचेरा सम्झेर दिलभित्र घाउका पाप्राहरू उप्काइरहन्छन् । तिनै घाउका उप्किएका पाप्राकै कारण मुटु र मस्तिष्कसम्म चह¥याएर आमाहरू थलिन्छिन् पनि । 

मान्छे घटना परिघटनाले नै गतिशील बन्दोरहेछ । समय पनि सायद घटनाहरूकै नालीबेली हो र इतिहास भन्नु पनि ।

छोरा सुरेन्द्रका कक्षाका उसका प्रायः मिल्ने साथीहरू सबै विदेश जाने तयारी गरिसकेका थिए । उनमा पनि त्यस्तै हुटहुटी जागेको थियो । 

आमा न थिइन्, जसले आफ्ना सन्तानका लागि सर्वस्व दिन तयार हुन्छन्, सर्वस्व गुमाउन तयार हुन्छन् र सबै व्रिmयाकलाप चुपचाप सहन्छिन् आमा । रामा रोशनीले पनि छोराको खुसीका लागि विदेश जान अमिलो मनले सहमति दिइन् । मनका सबै सपनामा अमिलो मिसाइदिइन् । 

  सहमति त दिइन् तर त्यत्रो खर्च कसरी जुटाउने भन्ने बडो चिन्ताले घेर्न थाल्यो ? उनको पिरको पारो चढ्दै थियो । छोराको आशा र उमङ्ग जति जति उक्लँदै जान्थ्यो आमाको अत्यास र अभावको छट्पटी उति नै चढ्दै थियो । 

  यस्तै छटपटीमा छोराको भिसा लाग्यो । 

आमाले नजिक रहेको बैङ्कसम्म पुगेर रोइकराइ गरिन् । बैङ्कले पत्याइदियो र अस्ट्रेलियाको कलेज र जहाज खर्चको जोहो हुने भयो तर उसको किनमेल, बोकेर लैजानुपर्ने केही रकम त उनको बुताबाहिरकै न थियो । त्यसैले घरजग्गा वा मिटरब्याजमा नखोजी सुखै थिएन । 

 मान्छेको नियति पनि विचित्रकै हुन्छ । सम्बन्धका चर्चाहरू एकनास नहुने रहेछन् । नजिक वा टाढाको दुरी पनि त आखिर आवश्यकता र मनले न परिभाषित गर्ने रहेछन् ।

आवश्यकताले टाढा र नजिक बनाउने नै भयो । रामा रोशनी र छिमेकी दोगरा साहुकारको सम्बन्ध पनि यस्तै रह्यो । हिजो जवानी भर्भराउँदो भएको बेला विधवा भएकी रामाको शरीरमा आँखा गाड्ने दोगरासँग उनी लामो समय बोलिनन् । समय बित्दै गएपछि उनको शरीरको आकार्षण पनि घट्दै गयो सायद । दोगराको यौनवृत्तिमा पनि बुढ्यौली लाग्यो होला । नत्र रातभर कोल्हवाको गल्ली गल्ली चालुहरूको घर चहार्ने दोगराको व्रिmयाकलापमा किन मन्दी आउँथ्यो होला र ? यतिबेला दोगरा बाबुसाहेबको आँखा रामा रोशनीको जमिनमा परेको छ । 

कस्तो संजोग । रामालाई पैसा चहिएको र दोगरालाई जमिन । 

दोगराले रामारोशनीको जमिन पास नै गरेर लिन्थ्यो होला त्यसो भने गर्न पाएन । किनभने उनले पहिल्यै बैङ्कमा धितो बन्धक गरेकी थिइन् । उसले समयमा पैसा बुझाउन नसके खेत पास गरेर दिन्छु भन्ने कागज गरेर दस लाख नगद लिइन्, त्यो पनि प्रतिमहिना ब्याज बुझाउने गरेर । ब्याज कसरी लिने उनी पढेलेखेकी थिइनन् । साहुले सयकडा प्रतिमहिना दसको दरले लेखेको रहेछ । महिना नबित्दै टुप्लुक्क दैलामा आइपुग्थे । आउँदा पनि बिहान उज्यालो नखस्दै रोशनीयाँ ! एय रोशनियाँ ! दरबाजा खोल भन्दै । 

उनी बिछट्टै डराउँथिन् । उनका लागि विगत झलझल्ती याद बनेर आउँथ्यो । जतिबेला उनका श्रीमान् भारतको रेलवे कम्पनीमा काम गर्थे । 

उनको जवानी हरियो भरिलो थियो । अनुहारको रोशनीको चहक देदिप्यमान थियो र छातीको उतुङ्ग चुचुराहरूले पौरुष सम्मोहनलाई विचित्रसँग आकर्षित गर्ने स्वभाविकता झल्कन्थ्यो । त्यतिबेला घरमा न सासूससुरा थिए न सन्तान नै । उनी एक्लै रहन्थिन् । 

  यसै गरी रातबिरात हावाको जस्तो आवाज आउँथ्यो ।

रोशनीयाँ ! एय रोशनियाँ ! मै तुझके बिना जिय नही रहता हुँ आ दो चार बात कर के ए दिलका आग बुझा दे । 

 उनले कुनै दिन त्यता फर्किइनन् । मुर्मुरिएरै दोगराका धेरै रात चिसो छिँडीमै बितेको थियो । 

आज सबै सबैको बदला लिन दोगरालाई मौका मिलेको थियो । 

उसले एक एक हिसाब चुक्ता गर्ने सुर कसेको थियो र हर महिना कसेर ब्याज उठाउन आउँथ्यो । जब महिना बित्न लाग्थ्यो उसले बैँसको बेला आफू धेरै दिन रोशनीका कारण गल्लीमा सुत्नुपरेको याद ताजा भएर आउँथ्यो र मध्यरातमै चिच्याउँदै रोशनीयाँ ! एय रोशनियाँ ! दरबाजा खोल भन्न पुग्थ्यो । 

 छोरो अस्ट्रेलिया पनि पुगेको थियो । उसले बन्दोबस्ती चलाएकै थियो । आमालाई समयमै हर महिना बुझाउनुपर्ने हिसाब पनि पठाइहाल्थ्यो तर साहु कहिल्यै पुग्यो भन्दैनथ्यो उता छोरा दिक्क र यता आमाको हैरानी । दस लाख ल्याएको २० लाख गइसक्यो हिसाब मागेको माग्यै । त्यसको अन्त्य कहिल्यै भएन । रोशनीका लागि छोरा बिदेसिनु र साहुसँग ऋण काढ्नु एक यातना जस्तै भयो । त्यसले जीवनमा नटुङ्गिने हतभागी हुनुको अवस्था सिर्जना गरिदियो । 

बिरालोलाई ढोका थुनेर कुट्न खोज्दा आफैँंलाई डस्छ । सुतिरहेको सर्पलाई किचोल्न खोज्दा उसले सिध्याउँछ । अति नै भएपछि आफैँंले तह लगाएको घोडाले नै भीरमा लगेर पछारिदिन्छ । त्यसैले त भन्छन् अति गर्नु अतिसार नगर्नु । दोगरा बाबुसाहेबले अति गरेपछि रामा रोशनीले लामो निःश्वास छोडिन् र बिस्तारै समाजमा उकुसमुकुस भएर बसेका अरुहरूसँग पनि यस विषयमा बोल्न थालिन् ।

 उनी जब समाजमा अलि अग्रसर भएर मिटर ब्याजपीडितका कुरा सुन्न थालिन् आफ्नो जस्तै कहर भोग्ने त कति हो कति ? निकास नपाएर पो पीडा ननिस्किएको रहेछ । पीडाको निकास पाएपछि त छरपस्ट हुने भयो । समाज जब बोल्न थाल्यो तब दोगरा बाबुसाहेबहरूको आव्रmोश र आवेग झन् झन् व्रmुरतामय हुन थाल्यो । 

उनी प्रत्येक दिन रोशनीको घर पुग्थे, उनलाई धम्क्याउँथे, हात हाल्न खोज्थे शरीर छुन खोज्थे र अत्यास मात्रै दिन्थे । 

एक दिन दोगरा बाबुसाहेब बिहान उज्यालोले जनकपुरको माटो स्पर्श नगर्दै रोशनीको दैलामा आइपुगे । उनले आरम्भमा त राम्रै मुखले बेलाएका थिए । रोशनीले सुनेको नसुन्यै गरिन् । बिहान राम्ररी उज्यालो पनि भएको छैन । नियत नराम्रो भएको छोरामान्छे दैलामा आएको छ कसरी ढोका खोलेर स्वागत गर्नु ? उनलाई सकस भयो । उनी उठ्नै मानिन् । 

 जब दोगराले तारन्तार चिच्याइरहे, ढोका ढक्ढक्याइरहे रोशनीको पनि रिसको पारो उक्लन थाल्यो । उनले बोलिन् मैले किन ढोका खोल्ने ? एक्ली महिला भएको ठाउँमा किन आएको, मैले पैसा त दिएकै छु । उनले मनमनै सोचिन् । उसले तारन्तार ढोका घच्याइरहे । एक्कासि ढोका घरक्क खुल्यो उनले झ्यालबाट चिच्याइन् । गुहार गुहार चोर आयो... लौन गुहार गुहार...। मान्छेहरू गाउँ गाउँबाट एक दुई गर्दै आँगनमा थुप्रिन थाले । उसले रोशनीलाई चुल्ठोमा घिच्याउँदै बाहिर ल्याएर तँलाई राँड मेरो पैसा दिन्नस् भन्न थाले । रोशनीलाई सही नसक्नु भो मैले तिम्रो पैसा दिइसकेको छु । यहाँ तिमी पैसा लिन आएका होइनौ । यो उज्यालो नहुँदै तिम्रो यहाँ आउनुका अभिप्राय राम्रो नियतमा हुँदै होइन । त्यसैले म यो कुरा सबैसामु भन्दिन्छु । उनी दुनियाँको सामु रोइरहिन् र भनिन् । हामी सबैको घर खेत सबै यो ब्वाँसोले खाइसक्यो अब पनि तपाईंहरू बोल्नुहुन्न ? म त बोल्छु अब मुख खोल्छु भनिन् । त्यतिबेला दोगराले रोशनीलाई ढाडमा दुई लात हानेर रिसाउँदै हिँडे । रोशनी त्यति बेला रोइनन् । बरु उनी लडेको ठाउँबाट उठिन् र दृढ भए आश्वविश्वास बलियो बनाइन् । 

उनले स्थानीयहरूलाई भनिन्, आउनुहोस् काठमाडौँ जाऔँ । सिंहदरबार जाऔँ र आफ्ना दुःख भनौँ । आन्दोलन गरौँ । नत्र त अब भएका झुपडीबाट पनि उठीबास लगाइदिन्छन् । आज मलाई परेको छ भोलि तपाईंलाई पर्छ पर्सि अर्कोलाई पर्छ । समस्या सधँै यस्तै हो । यो बस्ती उसले उठाउन चाहेको छ । 

केही केहीले रोशनीलाई आँट दिए, साहस दिए र भरोसा दिलाए पनि । त्यहाँ आठ दस जना आजै काठमाडौँ गएर कथा भन्ने र धर्ना बस्ने निर्णयमा पुगे । उनीहरू खाना खाएर जम्मा हुँदासम्म ३०,  ४० जना भइसके । उनीहरूले मरे पनि बाँचे पनि अब मिटरब्याजीहरूलाई नछोड्ने बरु आफैँं मर्ने भनेर अनशन बस्न काठमाडौँ गए । 

उनीहरू बस रिजर्भ गरेर काठमाडौँ गएको समाचार पत्रपत्रिका र स्थानीय रेडियोहरूले भन्न थाले । रोशनीहरूको कथा त्यस गाउँमा मात्र थिएन । तराईका हर कुनाकन्दरमा थिए । हर झोपडीहरूमा थिए । हरेकका अन्तस्करणमा थिए । यो खबरले सबै पीडितहरूलाई आँट र साहस दिलायो । सबै गाउँबाट काठमाडौँ जाने लहर लाग्यो । 

एक, दुई गर्दागर्दै तराईका अनेक गाउँका हतभागीको लामो रिजर्भ गाडी जुलुसको लर्को राजधानीतिर समुद्र जस्तै बग्न थाल्यो । 

यसरी समय चिप्लिरह्यो कि सेकेन्ड सेकेन्डमा समयको प्रवाह चलिरह्यो र मान्छेको मनोविज्ञान सक्षम भएर सम्बल थपिरह्यो । खै कसरी हो, अशिक्षित रामा रोशनीको आँगनी र दोगरा बाबुसाहेबको नियतबाट सिर्जित समस्याले राजधानीको चिसोलाई बेस्सरी गाँज्यो । 

पत्रपत्रिकाले गतिलो मसला पाए । नवनेताहरूले पनि राजनीतिको मुद्दा भेट्टाए । 

भाषणबाजी, आरोप प्रत्यारोप र नारा जुलुसको सिलसिला चलिरह्यो । दोगरालाई कंश र रावणको रूपमा चित्रण गर्नेहरूको प्रभाव बढिरह्यो । रामा रोशनी केन्द्रमा थिइन्, बिस्तारै उनको चर्चाबाट समय अन्तै मोडियो । 

दोगडा बाबुसाहेब न थिए । रात रात उनी पार्टीका मुख्यालयहरू पुगे । नेताका चुला चौकामा पुगे । तिनका बैङ्क खातामा मागे अनुसार किस्ता किस्तामा रकम थुप्रियो । रामा रोशनीको समस्या पनि आयोग बनाएर तीन महिना पन्साइयो र तीन महिना चुप लाग्न भनियो । आगोले पोलेका र पीडा भोगेकाहरू त चुप बस्न सक्ने कुरै भएन तर त्यसका आडमा राजनीतिका रोटी सेक्नेहरू पन्छिए । रत्नपार्कमा थुप्रिने रमितेहरू टाढिए । अधिकारकर्मीहरू पन्सिए र पत्रपत्रिकाका मालिकहरू शान्त रहे । ती भागे जसले रामा रोशनीहरूको तुरुप लगाएर अकुत आर्जन गरे । तिनीहरूले रत्नपार्क छोड्न मानेनन्, जसलाई मिटरब्याजको आगोले डसेको थियो । दोगराहरूको हर्कतले डामेको थियो ।

 केही मूलधारका मिडिया मालिक र तिनका बाछिटाहरू पन्सिए । केही सच्चा मानव धर्म बोल्नेहरू आइरहे, तिनका दुःखमा आँसु मिसाइरहे । केहीले भने हामी अझै चर्को आवाजले नबोल्ने हो भने बहिरा भएका सरकारी कानले सुन्नै सक्दैनन् । अझै चर्को बोलाँैँ, अझैँ आँसु बगाऔँ, अझै चिच्याऔँ । यसरी रत्नपार्कको एक उदास साँझ उनीहरू बैठक बसे र तीन दिनपछि फेरि मधेशदेखि अरू प्रताडितहरू पनि जम्मा भएर आएपछि विशाल जुलुस रत्नपार्कबाट बाहिर निस्कियो । त्यसको केन्द्रभागमा थिइन् रामा रोशनी । 

उता बागबजारतिरबाट प्रहरीको अर्को समूह उठ्यो । अश्रुग्याँस, लठ्ठी र गोलीको नाल जुलुसतिर सोझियो । जुलुसका बिचमा कहिल्यै नदेखिएका केही सुकिलामुकिलाहरू पनि थिए । केही हुल्लडबाज र उपद्रवी जस्ता मानिस पनि थिए । नाराबाजीसहित निस्केको जुलुसमा घुसपैठ रहेका उपद्रवीमध्येको कसैले छुरा प्रहार गरेपछि रामा रोशनी ढलिन्, पुलिसलाई उत्तेजित गराउन ढुङ्गामुढा गरियो र ढलेकै रामारोशनीमाथि कुनै प्रहरीको लाठी पनि लाग्यो । भीड तितरबितर भयो । उनी एक्लै सडकमा लडिन् । 

बेलुका नेता र दोगराको एकै होटलमा डिनर थियो । कुनै अनलाइन पत्रपत्रिकाले यो समाचार पनि खासखुस लेखिहाले । 

प्रहरीको भ्यानमा रोशनीलाई राखियो र अस्पताल पु¥याइयो । अस्पतालमा पनि कोही कसैलाई भेट्न दिइएन तर दिइयो दोगरा बाबुसाहेबलाई । किन दिइएन खै रोशनीका आफन्तहरूलाई र किन दियो दोगरालाई यो प्रश्नको उत्तर त कसैलाई थाहा भएन तर ७ दिनपछि भने रोशनीको मृत्युको घोषणा अस्पतालबाट आयो । उनको गाउँमा शोक सभा पनि भयो र त्यसका अतिथि कहिलिए दोगरा बाबुसाहेब अब आगो जस्तो आन्दोलन टुङ्ग्याउने तुरुप फालियो र त्यसमा मधेशका केही नवधनाढ्यहरू र जमिदारहरूलाई राखेर मिटरब्याज पीडितहरूलाई घाँस हालिदिए । मधेश फेरि सामसुम भयो । रामारोशनीको कहानी पनि एकादेशको कथा भयो । आमा नै नरहेपछि छोरालाई देश फर्किन मन लागेन । उसले फेसबुकमा आव्रmोश पोखेर देश फर्किने नाम नै लिन छाड्यो । 

जान्नेहरू र थाहा पाउनेहरूले भने “दोगरा बाबुसाहेवले स्वास्थ्यकर्मीहरूलाई प्रभावमा पारेर पो रोशनीको शिकार गरेको रहेछ ।” रोशनी र रोशनीहरूको जीवन फेरि अर्को किंवदन्ती भइदियो । फेरि अर्को रहस्यको गर्तमा हराएकी सानो जूनकीरी भएर रोशनी बिलाइन् । उनको बाटोलाई पछ्याएर रत्नपार्क र माइतीघर मण्डला जाने हिम्मत अर्को कसैको नभएपछि रोशनीलाई गाउँमा शितलादेवी भनेर पुज्न थालियो । 

आन्दोलनको रोशनी मेट्न मन्दिर बनाउने पैसा पनि दोगराले नै चन्दामा दिएको भन्नेहरू पनि छन् । फेरि गाउँमा रोशनी र रोशनीहरू प्रताडना सायद अन्त्यहीन र यथावत् भइरह्यो । आजभोलि पनि दोगरा बिहान बिहान उज्यालो नखस्दै अर्को रोशनीको घरको ढोका घचघच्याउन पुग्छ “रोशनीया एय रोशनीया दरबाजा खोल् ।” 

अक्षर आवास, धादिङ