• ९ मंसिर २०८१, आइतबार

जोखिममा महिला स्वास्थ्य

blog

स्वास्थ्य र जीवनको अन्योन्याश्रित सम्बन्ध छ । स्वस्थ र सक्रिय जीवन कसको चाहना हुँदैन र ? स्वस्थ रहन अठोट, जाँगर, प्रतिबद्धता, लगनशीलता, अनुशासन, त्याग, उत्साह, निरन्तरता, प्रतिज्ञा जस्ता विषयको विशेष भूमिका हुन्छ । स्वास्थ्यभित्र शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य आदि समावेश हुन्छन् । राम्रो स्वास्थ्य एउटा यस्तो व्यक्तिगत तथा सामाजिक साथै राष्ट्रिय पुँजी हो, जसले व्यक्तिको विभिन्न क्षमता र योग्यताको यथायोग्य सम्मान र परिचालन गर्छ । स्वस्थ नागरिक देशको विशिष्ट मानव पुँजी हो । भौतिक पुँजीलाई उच्चतम परिचालन गरेर व्यक्ति, समाज र राष्ट्रलाई मात्रै होइन, विश्वसमुदायलाई नै लाभ दिने क्षमता मानव पुँजीमा हुन्छ । स्वस्थ मानिसले मात्रै स्वस्थ कल्पना गर्न सक्छ । संसारलाई सुखी, आत्मनिर्भर र क्रियाशील हुन उत्प्रेरित हुने विषय नै स्वस्थ कल्पना हो । स्वस्थ कल्पनाको मुख्य स्रोत नै सन्तुलित स्वास्थ्य हो । स्वास्थ्य वास्तवमा विकास, प्रगति र उन्नतिको निर्णायक विषय पनि हो । 

मानिसको सामाजिक, आर्थिक विकासमा स्वास्थ्यको प्रमुख भूमिका हुन्छ । त्यसैले संसारका विकसित मुलुकहरूले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन् । समाजको सन्तुलित विकासमा मानव स्वास्थ्यको भूमिकालाई भुल्न सकिन्न । अझ मानव स्वास्थ्यलाई ऊर्जा प्रदान गर्ने काममा महिला स्वास्थ्यको भूमिका सर्वोपरि हुन्छ । महिला स्वस्थ हुँदा समग्रमा परिवार स्वस्थ हुन्छ भने पुरुष स्वस्थ हुनु भनेको व्यक्ति स्वस्थ हुनु हो । जब एक महिला स्वस्थ हुन्छन् तब उनीहरू मात्रै प्रसन्न हुन्नन समग्र परिवारलाई खुसी र सुखी राख्ने ऊर्जा उनीहरूमा उत्सर्जन हुन्छ ।

देशको सन्तुलित विकासका लागि महिला स्वास्थ्य र महिला अधिकारको विशेष भूमिका हुन्छ । स्वास्थ्यप्रति महिला सचेत र अनुशासित हुँदा ती गुण सन्ततिमा स्वतः हस्तान्तरण हुन्छ । महिला स्वास्थ्यको प्रभाव परिवार र समाजका हरेक पाटोमा पर्छ । स्वस्थ महिलाबाट मात्रै स्वस्थ बच्चा जन्मन्छ । स्वस्थ महिलाले आफ्नो बच्चा र परिवारलाई कसरी निरोगी राख्ने भन्ने रणनीति अख्तियार गर्न सक्छन् । त्यसैले महिला स्वास्थ्यको प्रवर्धन भनेको परिवार समाज र राष्ट्रलाई निरोगी राख्ने विशेष अभियान हो । तसर्थ महिला स्वास्थ्यको प्रत्यक्ष प्रभाव देशको सामाजिक, आर्थिक, राजनीतिक, औद्योगिक, शैक्षिक, कृषि, अनुसन्धान, आविष्कार आदि क्षेत्रहरूमा पर्छ । त्यसैले महिला स्वास्थ्यलाई गर्भावस्था तथा प्रसव पीडामा दिने मातृ स्वास्थ्य सेवामा मात्रै केन्द्रीकृत र सीमित गर्नु भनेको महिला स्वास्थप्रति झारा टार्नु हो । फेरि महिलाको स्वास्थ्यमा उसको शारीरिक संरचनाको मात्र प्रभाव पर्ने नभएर उसको वरिपरिको सामाजिक, आर्थिक, पर्यावरण र राजनीतिक परिस्थितिको पनि स्वास्थ्यमा असर परिरहेको हुन्छ । 

महिलाको स्वास्थ्यलाई घरपरिवार र समाजले मात्रै होइन, राज्यले नै कम प्राथमिकता दिएको छ । सामाजिक संरचना र मान्यताका कारण राज्यप्रदत्त सेवाहरू लिन कहिलेकाहीँ परिवार बाधक बन्ने विषयलाई दुर्भाग्यपूर्ण भन्नु पर्छ । महिलाको निर्णयात्मक अधिकारलाई घरपरिवारले, समाजले र राष्ट्रले नै सीमित र न्यून आकलन गरेको छ । निर्णय क्षमतामा जहाँ अङ्कुश लाग्छ, त्यहाँ व्यक्तित्व विकास र प्रभाव स्वतः कम हुन्छ । यसको प्रत्यक्ष प्रभाव महिला स्वास्थ्यमा पनि पर्छ ।

महिला स्वास्थ्यको अर्थ मातृत्व स्वास्थ्यभन्दा व्यापक छ । त्यसै गरी महिला स्वास्थ्य भन्नुको अर्थ सामान्य स्वास्थ्य सुविधा पाउनु मात्र होइन । स्वस्थ रहनुको अर्थ महिलाले आफ्नो स्वास्थ्यका लागि आवश्यक निर्णय लिन सक्ने अवसर तथा अधिकारको सुनिश्चितता पनि हो । पुरुषप्रधान समाजको नकारात्मक प्रभावबाट महिला स्वास्थ्य पनि अछुतो छैन । फेरि पुरुषको सहयोगबिना महिलाले स्वस्थ रहने अनुकूल वातावरण बनाउन सम्भव छैन । त्यसैले हाम्रो सामाजिक संरचनामा नै संशोधन र पुनर्विचार आवश्यक छ । महिलाको कामको जिम्मेवारी नै यस्तो प्रकारको हुन्छ कि आफ्नो स्वास्थ्यका लागि ख्याल गर्ने त समय नै हुँदैन । हाम्रो परिवारमा, समाजमा कामको बाँडफाँट महिला स्वस्थ्य मैत्री छैन । परिवारको रेखदेख र अन्य कामको व्यवस्थापनमा महिलाको एकलौटी जिम्मेवारी भएकाले उनीहरू त्यो चौघेराबाट बिलकुलै बाहिर निस्कन पाउँदैनन् । घरको कामकाजमा व्यस्त रहँदा स्वास्थ्यमा आएको परिवर्तनमा पनि महिलाले ध्यान दिन पाएका हुँदैनन् । परिणामस्वरूप उनीहरूलाई गम्भीर प्रकारका रोगले आक्रमण गर्छ । अन्ततः ओछ्यान परेपछि मात्र घरपरिवारले थाहा पाउँछन् र ढिलो उपचार पनि हुन्छ । 

 शिक्षाका कारण महिलामा स्वास्थ्यसम्बन्धी ज्ञानको कमी छ । नियमित रूपमा सामान्य परीक्षणले ठुलो रोग लाग्नबाट बच्न सकिन्छ भन्ने कुराको जानकारीसम्म छैन । जानकारीको अभावमा पनि अकालमा ज्यान जाने गर्छ । महिलाहरू सङ्क्रमित हुने प्रमुख रोगहरूमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर आदि प्रमुख छन् । स्तन क्यान्सको सुरुवात स्तनमा उत्पन्न हुने गाँठागुँठीबाट हुन्छ । यसको परीक्षण स्वयम् महिलाले नै गर्न सक्छन् । आफैँले परीक्षण गर्न सकिने विषयमा महिलाहरू कि त जानकार छैनन् कि त लापरबाही गर्छन् । त्यस्तै पाठेघरको मुखको क्यान्सर र पाठेघरमा हुने क्यान्सर रोगबाट बच्न समय समयमा प्याप टेष्ट महिला स्वास्थ्यका लागि वरदान मानिन्छ । यो परीक्षण २१ वर्षदेखि ६५ वर्षसम्मका महिलाले गर्नु पर्छ । 

समयमा नै उपचार गर्दा सजिलै निको हुने रोगका कारण थुप्रै महिलाले मृत्युवरण गर्नु परेको छ । कुनै पनि महिलाको मृत्यु भनेको परिवारकै बिचल्ली हुनु हो तर यो समस्या समाधानमा राज्य, समाज र परिवारको ध्यान पुग्न सकेको छैन । महिलाले समय समयमा आफ्नो स्तनको परीक्षण आफैँ गर्न सक्छन् । स्तनमा कतै गिर्खा, गाँठा केही भेटिएमा तुरुन्तै घरपरिवारलाई जानकारी गराउनु पर्छ र चिकित्सककहाँ गएर उपचार गराउनु पर्छ । यस्ता सानातिना कुराबाट पनि अनभिज्ञ हुन्छाैँ । अशिक्षित मात्र होइन, पढेलेखेका कतिपय महिलाले पनि ध्यान दिएको पाइँदैन । आफ्नो शरीरमा आएको परिवर्तन थाहा नपाउँदा स्वास्थ्य जोखिम आफैँ निम्त्याउछौँ । अन्तिम अवस्थामा थाहा पाउँदा अमूल्य जीवन नै गुमाउन पुग्छौँ, जसको पीडा सम्पूर्ण परिवारले पनि भोग्नु पर्ने हुन्छ । सङ्क्रमण बढेपछि उपचार पनि महँगो हुन्छ । महँगो उपचारले आर्थिक साथै शरीरको पनि क्षति हुन्छ ।

अर्काे आममानिसलाई सङ्क्रमित गर्ने रोग हो मुटुरोग । आजकल खानपिन र गलत जीवनशैलीका कारणले २०/२५ तथा ३५/४० वर्षमा नै हृदयाघात भएको देख्न र सुन्न पर्छ । यो सबै हुनुको पछाडि हाम्रो आहार, बिहार, खानपान, रहनसहन र व्यस्त जीवनशैली हो । पहिला पहिला हृदयाघात ५०/५५ वर्षपछि मात्र भएको सुनिन्थ्यो तर अहिलेको खानपान, रहनसहनले गर्दा कलिलो उमेरमा नै हृदयाघात भएको देख्न सुन्न पर्छ । त्यसमा पनि अझ डाक्टरहरूको भनाइ अनुसार महिलामा हुने हृदयाघातको प्रकृति भिन्न हुन्छ । जस्तो पुरुषहरूलाई हृदयाघात हुनुपूर्व छातीमा दुख्ने, सास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने जस्ता लक्षण देखा पर्छन्, जसले गर्दा यो हृदयाघातको लक्षण हो भन्ने हुन्छ । अस्पताल जाने समय पाइन्छ । समयमा नै उपचार पाउँदा ज्यान जोखिममा पर्नबाट जोगिन्छ तर महिलामा चाहिँ हृदयाघात हुँदा पुरुषमा जस्तो लक्षण देखिँदैन । महिलामा हृदयाघात हुँदा फरक लक्षण देखिन्छ । कतिपय महिलालाई हृदयाघात भएको चाल पाइँदैन । परिणामस्वरूप समस्या जटिल बन्छ । 

हामी सबैले ४०/५० वर्ष पुगेपछि नियमित स्वास्थ्य परीक्षण गर्नु पर्छ, जसबाट हामीलाई आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी हुन्छ । केही असहज महसुस भएमा तुरुन्तै डाक्टरको सल्लाह लिन सक्छौँ । व्यायाम पनि शरीरलाई स्वस्थ राख्ने एउटा उत्तम उपाय हो । हाम्रो समाजमा बिहान बेलुका हिँड्ने, हलुका शारीरिक व्यायाम गर्ने बानी प्रायः कम महिलामा मात्रै पाउँछाैँ । यसो हुनुमा उनीहरूलाई फुर्सद नभएर पनि हो । उमेर घर्केपछि व्यायामको बानी लगाउन पनि कठिन हुन्छ । त्यसैले मुटुरोग, पाठेघरको क्यान्सर, मिर्गौला जस्ता जटिल रोगबाट बच्न महिलाले समय समयमा स्वास्थ्य परीक्षण र बिहान बेलुका कम्तीमा आधा घण्टाको हिँडडुलका लागि समय छुट्याउनु पर्छ । कहिलेकाहीँ हामी अचानक दुब्लाउँदै जान्छौँ । मोटो थिएँ, कुनै व्यायाम नगरी दुब्लाएँ भन्ने पनि गरेका हुन्छौँ तर यसरी अचानक दुब्लाउनु पनि ठिक हुँदैन । यसलाई बेवास्ता गर्दा कहिलेकाहीँ ठुलो रोगको आक्रमणको सिकार बन्नु पर्छ । त्यस कारण यसलाई बेवास्ता नगरी समयमै परीक्षण गरेमा रोगबाट बच्न सकिन्छ ।

  

Author

डा. मायाकुमारी शर्मा