• १३ असोज २०८१, आइतबार

चार पुरुषको वाचा ‘पगला घोडा’

blog

काठमाडौँ, पुस २३ गते । हाम्रो समाजले महिला र पुरुषबिचको सम्बन्धलाई कसरी लिन्छ ? यसले विपरीत लिङ्गीहरूको सम्बन्धलाई कस्तो असर पार्छ र यहीभित्र परिवार र समाजले हेर्ने दृष्टिकोणले कस्तो उतारचढाव ल्याउँछ ? यी सबै कुराको मिश्रित सम्मिश्रण हो, नाटक ‘पगला घोडा’ । नाटक मनोवैज्ञानिक कथा श्रेणीमा बुनिएको छ । यसभित्र पितृसत्तात्मक समाजमा महिलाको अधीनतालाई विशेष रूपले चित्रण गरिएको छ । एक युवतीको अन्त्येष्टिमा मसानघाटमा उपस्थित भएका विभिन्न क्षेत्रका चार पुरुषले गरेका वाचाको वरिपरि नाटक घुमेको छ ।

थिएटर आकारको प्रस्तुति रहेको नाटक ‘पगला घोडा’ अहिले मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गरिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील, स्थापनाविरोधी नाटकहरूका लागि परिचित हुनुहुन्छ ।

नाटक घनश्याम श्रेष्ठले निर्देशन गर्नुभएको छ । पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ । यस संवेदनशील विषयवस्तुलाई दर्शकमाझ कलामार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको श्रेष्ठ बताउनुहुन्छ । अहिले समाजमा भएका घटनालाई दर्शकसामु प्रत्यक्ष रूपमा देखाउन नाटक एक उत्कृष्ट कथा रहेको उहाँको दाबी छ ।

नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय छ । प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारीलगायत 

मञ्चमा देखिनुभएको छ । सुषमा कोइराला सहायक निर्देशक र शङ्कर भण्डारी स्टेज मेनेजरका रूपमा रहनुभएको नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गर्नुभएको छ । उहाँलाई अनुवादमा आलेख सुपरिवेक्षकका रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गर्नुभएको छ ।

यही पुस १२ बाट मण्डला नाटकघरमा मञ्चन सुरु भएको नाटक माघ ६ सम्म सोमबारबाहेक हरेक दिन ५ बजे मञ्चन हुने छ । शनिबार १:३० बजे थप सो राखिएको छ । विसं २०६८ मा स्थापना भएको थिएटर आकारले थुप्रै नाटक मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’, ‘बिम्बाको सपना’, ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’, ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति (भरत नाट्यम्) लगायत मञ्चन भएका छन् ।