• १३ असोज २०८१, आइतबार

भाषाको विकासमा योगदान दिने व्यक्तित्वहरू सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २२ गते । बागमती प्रदेशका सदस्य तथा विभिन्न विधामा योगदान दिएका व्यक्तिहरूलाई हली नेवाः गुथिले सम्मान गरेको छ । राजधानीको पचलीमा बागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउन योगदान दिएबापत उहाँहरू सम्मानित हुनुभएको हो ।

कार्यक्रममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ, पूर्व सभासद् रुपा महर्जन श्रेष्ठ, पत्रकारहरू सुरेश मानन्धर र श्रीकृष्ण महर्जन, निर्देशक सुरेन्द्र तुलाधरलगायतलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले सङ्घीयताको कारणले विभिन्न राजनीतिक उपलब्धिसहित भाषा, कला, संस्कृतिको उत्थान हुनसकेको बताउनुभयो ।

उहाँले सिंहदरबारको शक्ति स्थानीय निकायसम्म पुगेकाले गाउँ गाउँमा आर्थिक उपार्जनसहित विकास निर्माणका कामले गति लिएको धारणा व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका सदस्य तथा काठमाडौँ महानगरका पूर्व उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौँ उपत्यकाको सभ्यतालाई आधुनिकताको नाममा मौलिक पहिचान गुम्ने खतरा बढेको भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

पूर्व राज्यमन्त्री दिलीप महर्जनले सङ्घीयताको कारणले नेपालमा रहेका सबै जातिले अपनत्व ग्रहण गरिरहेको बताउँदै भविष्यमा नेपाललाई हरेक कोणबाट एकताबद्ध हुने अवसर मिल्दै जाने बताउनुभयो । 

यस्तै, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ, हली नेवाः गुथिका केन्द्रीय अध्यक्ष विनोद महर्जनलगायतले धारणा कला संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।