• १३ असोज २०८१, आइतबार

हिउँदे अधिवेशनको तयारीमा स्थानीय तह

blog

हिउँदे अधिवेशनको तयारीमा कैलारी गाउँपालिका । तस्बिर :अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, पुस २२ गते ।
 स्थानीय तहमा हिउँदे अधिवेशन तयारी सुरु भएको छ । पुसभित्रै अधिवेशन सकाउने गरी स्थानीय तह तयारीमा जुटेको हो ।

केही स्थानीय तहले हिउँदे अधिवेशन सम्पन्न गरिसके पनि कैलालीका धेरैजसो स्थानीय तहले पुस अन्तिम साता अधिवेशन गर्ने तयारी गरिरहेका छन् । पुस २४ गतेबाट हिउँदे अधिवेशन गर्ने गरी तयारी भइरहेको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो ।

हिउँदे अधिवेशन स्थानीय तहहरूले ऐन, कानुन, नीति, नियम बनाउने अधिवेशनको रूपमा बुझिन्छ । अधिवेशनको तयारीमा रहेका स्थानीय तहमा यतिबेला नयाँ विधेयक, कार्यविधि बनाउने कार्यको चटारो चलेको छ । अधिवेशनमा पेस गर्नका लागि विधेयक तयारीको काम भइरहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

जिल्लामा जानकी गाउँपालिकाले यसअघि नै हिउँदे अधिवेशन सम्पन्न गरिसकेको छ । यसैगरी, जोशीपुर गाउँपालिकाले अधिवेशन सुरु गर्दैछ । धेरैजसो स्थानीय तहले पुसभित्रै अधिवेशन सम्पन्न गर्ने तयारी गरेका छन् । चुरे गाउँपालिकाले पनि पुसभित्रै हिउँदे अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिरहेको अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो ।

जिल्लास्थित टीकापुर नगरपालिकाले भने माघ पहिलो साता हिउँदे अधिवेशन गर्ने तयारी गरिरहेको छ । सो पालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले आफ्नो पालिकाले पुसमा नभई सम्भवतः माघ पहिलो साता अधिवेशन गर्ने बताउनुभयो । 

यसैगरी, कञ्चनपुरको स्थानीय तह पनि हिउँदे अधिवेशनको तयारीमा जुटेका छन् । आफ्नो पालिकाले पुस २५ गते नै अधिवेशन गर्ने गरी तयारी अगाडि बढाएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।