त्यसरी नचल्नुहोस्; जसरी डरले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी प्रेमले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी खुसीले तपाईंलाई चलाउँछ ।
ओशो एक युगपुरुष हुन्, जसले अध्यात्म र आधुनिकतालाई एउटै फोल्डरमा फोल्ड गरेर मानिसका मन मस्तिष्कमा सेन्ड गर्ने उपक्रम रचेका छन् । उनको सिद्धान्त र विचार यथार्थपरक छन्, जुन हरेक जनमानसका हृदय छामेर भनिएका वाणी झैँ लाग्छन् । मानिसलाई आध्यात्मिक चेतना सँगसँगै अधिकतम सन्तुष्टिमा बाँच्न उत्प्रेरित गर्ने सन्देश वाहक एक महामानव मात्र हुन्, उनी कुनै भगवान् होइनन् ।
अध्यात्ममा झुम्न चाहनेका लागि ध्यान, योग र शारीरिक अभ्यासको माध्यमबाट भगवान्प्रतिको समर्पणलाई मार्ग खुलस्त गरेका छन् । सांसारिक माया, ममता र भुलभुलैयामा भुल्न चाहनेका लागि वैयक्तिक स्वतन्त्रता र स्वाधीनताका साथ बाँच्न पाउने मानवीय अधिकारका पक्षमा पनि उत्तिकै सशक्त तर्क प्रस्तुत गर्न सफल छन् । प्रत्येक धर्मले यौनिकतालाई आआफ्नै तरिकाले विश्लेषण गरेको पाइन्छ । यौन र सेक्सका विषयमा खुलेर कुरा गर्न नचाहने, लाज र पापका रूपमा हेरिने समाजमा अरूको नजरबाट लुकीछिपी गर्नुलाई पुरुषार्थको संज्ञा दिने धर्मग्रन्थ पनि हामीले नपढेका होइनौँ ।
आफ्नो खुसीका लागि सहमतिमा गर्छ भने त्यो कसरी पाप हुन्छ । अरूले गर्दा एउटा निश्चित नियम र अनुशासनको सीमा हुनुपर्ने आफूले गर्दा त्यही महान् कार्य ठहरिने हाम्रा धार्मिक ग्रन्थका ऋषि, महर्षि र महान् देवीदेवताको किंवदन्ती विरोधाभासपूर्ण लाग्छन् । अप्सरा देख्दा ऋषिमुनीहरूको ध्यान भङ्ग हुनु, आशुतोष भगवान् मन परेकी स्त्री नपाउँदा पागल हुनु, विष्णु भगवान्ले जालन्धरकी श्रीमती देख्दा भोग्ने लालसा राख्नु । धर्मग्रन्थमा महिलालाई झुक्याएर वा जबरजस्ती गरेका यस्ता थुप्रै किस्सा नभएका होइनन् । तिनलाई भगवान् भनेर पुज्ने समाजले तिनै विषयवस्तुलाई सहमतिमा प्रेमपूर्वक गर्नु पाप होइन, शरीरको आवश्यकता हो भनी यथार्थताको वकालत गर्ने ओशोको विचारलाई समर्थन गरेको पाइन्न ।
आपराधिक मानसिकतालाई हटाएर समुन्नत समाज निर्माण गर्न खोज्ने व्यक्ति कसरी व्यभिचारी र विवादास्पद बन्न पुगे ? आश्चर्यको कुरा छ । प्रत्येक मन्दिर परिसरमा जाँदा कहीँ न कहीँ रासलीलामा लिप्त मूर्तिकला कुँदिएका पाइन्छन्, तिनलाई हेरेर मानिस रोमाञ्चित बन्छन् । ओशो तपोवनमा त्यस्तो चित्रकला कहीँ कतै राखिएको देखिँदैन । ओशोले शरीरको अश्लील विज्ञापन होइन, जीवनको आवश्यकता र सन्तुष्टि बुझाउन खोजेका हुन् भन्ने सजिलै बुझ्न सकिन्छ । माया, प्रेम र यौनको चक्रमा संसार चलेको कुरा सबैलाई चेतना छ ।
संसारमा प्रेम नचाहने र यौनमा आनन्दित महसुस नगर्ने प्राणी अपवादमा पाइएला । यति मात्र होइन, प्रेम र यौनबेगर जीवको अस्तित्व नै असम्भव छ भनिरहनु आवश्यक छैन । यही यथार्थ र सत्यताको धरातललाई दृष्टिगोचर गर्दै मानवीय भावना बुझेर मानिसका आन्तरिक खुसी र सन्तुष्टिमा जोड दिने युगपुरुष केवल ओशो हुन् भन्दा उनीमाथि न्याय होला । ओशोको वाणीले मानिसलाई विचलित र अनुशासनहीन बनाउँछ र समाजलाई नकारात्मक दिशातिर लैजान्छ भन्नु असान्दर्भिक हुन्छ ।
चराको चिरबिर, किराफट्याङ्ग्राको किरिङमिरिङ, नानाथरीका फूलको नाकमै ठोसिन आउने सुगन्ध, झरनाको छङछङ सुसेली, साना–ठुला रुखले ढकमक्क ढाकिएको जङ्गलबिचको रमणीय स्थल ओशो तपोवन । प्रकृतिले हदैसम्म लोभ्याउने रहेछ मानवीय मनलाई, ओशो तपोवन पुग्नेले सहजै अनुभूत गर्न सक्छ । ओशो तपोवन जाने निर्णय गर्दा मनमा एक किसिमको बेचैनी र कौतुहल थियो । ओशो भन्नेबित्तिकै मानिसको हेर्ने दृष्टि र बुझ्ने विवेक अलि भिन्न छ । ओशो को हुन् भनेर बुझ्नेले सजिलै जाने अनुमति दिन्छन् अन्यथा भ्रम र झुटा प्रचारका पछि लाग्नेले आज पनि छोरी चेलीलाई ओशो साधनामा गएर बस्न दिन मुस्किल नै पर्छ, त्यो अवसर मैले प्राप्त गरेँ । मेरो निर्णयलाई सहजै स्वीकारेर जान हौसला दिने छोरी शीलाष्मी र बहिनी (नन्द) सुनयनालाई हृदयबाट आभार व्यक्त गर्दछु ।
टेन्सन, तनाव, पीडा, कुण्ठा हुनेहरू भौतारिँदै पुग्ने ठाउँ भनेर एक पक्षले सोच्दा रहेछन्; जुन केही प्रतिशत सत्य पनि छ । अर्को पक्षले रासलीला रचाउने व्यभिचारी ठाउँ भनेर बुझ्दा रहेछन्; यो बुझाइ भ्रामक छ । म जाने निर्णय लिँदा जङ्गलमा गएर साधु भएर बस्न लागी भन्ने डर भनौँ वा भ्रम थियो आफन्तजनमा । वर्षौपहिले त्यस स्थलमा जाने र त्यहाँको प्राकृतिक सौन्दर्यलाई नियाल्ने हुटहुटी मेरो मनले बोकिसकेको थियो । मैले सुनेको थिएँ– एक निश्चित अनुशासन र नियममा ध्यान गर्ने उत्तम ठाउँ, दिमागलाई रिफ्रेसमेन्ट गराउने ठाउँ, विशेष गरी बौद्धिक व्यक्तित्व र साहित्यिक अनुरागीको रोजाइको केन्द्र । जहाँ नेपालीभन्दा विदेशी नागरिकको उच्च आकर्षण रहन्छ भन्ने सुनेको थिएँ । म पनि त्यहाँ गएँ ।
सुनिरहुँ, हेरिरहुँ, झुमिरहुँ झैँ वातावरणमा नरमाउने मन कुन मानवको होला र ? प्राकृतिक सुन्दरतामा रम्नु, रमाउनु र साक्षात्कार हुन जानुपर्ने काठमाडौँको चक्रपथबाट करिब १४ किलोमिटर टाढा त्रिशूली राजमार्गको नागार्जुन जङ्गलको बिचमा रहेको छ ओशो तपोवन । बालाजु चक्रपथबाट गाडीमा ३५ मिनेट र पैदल साढे २ घण्टामा पुग्न सकिन्छ । ओशोको वाणी र दृष्टिमा जसरी तानिन्छ मानिसको मन, तपोवनको सुन्दरताले त्यसरी नै आकर्षित गर्छ । साँच्चिकै त्यहाँ पुग्ने जो कोहीलाई पनि चुम्बकले ताने झैँ तान्ने ऊर्जा छिपेको महसुस हुन्छ । एक दिन बस्छु भनेर गएका मानिस हप्तौँसम्म रम्न र भुल्न लालयित हुन्छन् । समय र परिस्थिति अनुकूल हुँदा बस्ने समय एक्सटेन्ड गर्दै अलि दिन तपोवनको छहारीमा लुटपुटिन चाँजोपाँजो मिलाउने सोच जाग्नु स्वाभाविक मानिन्छ ।
तिम्रो दिमागले राम्रो सोच्नु, नराम्रो सोच्नु तिम्रै अनकन्सियस दिमागको उपज हो । यसको जिम्मेवार मात्र तिमी हौ । तिमीलाई अरूले न हँसाउन सक्छ न सताउन सक्छ । तिम्रो सोचाइले मात्र सञ्चालित हुन्छ सबै कुरा ।
आजका मानिस व्यस्त छन्, उकुसमुकुस छन्, पीडा, तनाव, नैराश्य, टेन्सनले ग्रसित छन् । यति धेरै बेफुर्सदिला छन् कि आफूले आफैँलाई नियाल्ने समयको सधैँ अभाव हुन्छ । म के चाहन्छु भनेर बुझ्न नसक्ने महामारीबाट ग्रसित छन् । सगरमाथा चढ्नु छ पिठिउँमा ढुङ्गाको भारी बोकेर हिँडे जस्तै हो आजको मानिस । व्यर्थको ढुङ्गा बोकेर सगरमाथाको चुचुरोमा पुग्ने अभिलाषा पूरा त होला तर सकसपूर्ण हुने छ ।
ओशो तपोवनमा दिइने मेडिटेसन क्लासको आशय पनि यसकै पेरिफेरीमा घुमेको हुन्छ । दिमागमा अनावश्यक डर, चिन्ता, आशा, अभिलाषा बोकेर जीवनलाई बोझिलो बनाउँदै अटस मटससाथ लतारिँदै हिँड्नुमा जीवनको सार्थकता सम्झिँदा रहेछाँै भन्ने भ्रमबाट बाहिर निकाल्ने एक मात्र माध्यम मेडिटेसन रहेछ । बिहान गराइने डाइनामिक मेडिटेसन, योगा, एक्सरसाइज, सभासनले शरीरलाई स्वस्थ र स्फुर्त राख्न सहयोग गर्दछ । ब्रेकफास्टपछि २ घण्टाको खाली समय प्राकृतिक सुन्दरताको छहारीमा टहरिनु, साथीभाइसँग कुरा सेयरिङ गर्नु वा आफूलाई ध्यानमा भुलाउनु व्यक्तिगत स्वतन्त्रता छ । दिउँसो १२ बजेबाट दोस्रो सेसन मेडिटेसन सुरु हुन्छ । जसमा सङ्गीतको तालमा झुम्दै, नाच्दै, उफ्रँदै दिमागमा मेडिटेसनको तरङ्ग तरङ्गित गराउँदै अर्कै संसार अर्थात् अलौकिक स्वर्गीय आनन्दमा लीन भएको आभास गर्न सकिन्छ । दिमागलाई केन्द्रीकृत गरेर उच्चतम सन्तुष्टि लिन सकिन्छ भन्ने ज्ञान पाउन मेडिटेसनको गहिराइमा पुग्नु आवश्यक छ । सुखदुःखको स्रोत, पहिचान र कार्यान्वयनको प्रभाव स्वयम् व्यक्तिमा निहित हुन्छ । अरूलाई दोषारोपण गर्नु मूर्खताको एक बहानाभन्दा केही होइन । दोस्रो ध्यान बैठकपछि खाजा र आरामको समय डेढ घण्टा हुन्छ ।
पुरुष जातिलाई स्वामी’ जी र महिला जातिलाई मा’ जी भनी सम्बोधन गर्नु ओशो केन्द्रको औपचारिक शिष्टाचार हो । स्वामीजीको अर्थ मालिक र माजीको अर्थ पृथ्वी अर्थात् जननी भनिएको रहेछ । पुरुषलाई स्वामी’ जी र अविवाहित नारीलाई पनि मा’ जी सम्बोधन गर्दा सुरुमा असहज महसुस हुन्छ । मेललाई स्वामी’ जी र फिमेललाई मा’ जीबाहेक अरू सम्बोधन गर्न नपाइने नियम अनौठो लाग्छ । प्रत्येक स्वामी जी, माजीहरू प्रकृति जस्तै निश्चल, शान्त, सुन्दर र सधैँ मन्द मुस्कानमा देखिन्छन् । मुहारमा चमकता, भावुकता, आत्मीयता, मिलनसारिता, सहयोगी र प्रेमिल त्यहाँको विशेषताभन्दा फरक पर्दैन ।
सायद योग, ध्यान र प्राकृतिक वातावरणले हुनु पर्छ मानिस–मानिसबिचमा आत्मीयता र प्रेमिल व्यवहारको ऊर्जा थपिएको । नो माइन्ड म्याडिटेसन अर्थात् माइन्ड खाली गर्ने, दिमागलाई शून्य बनाउने, दिमागमा भएका राम्रा नराम्रा सबै कुरालाई बाहिर निकालेर खाली गर्ने एक किसिमको थेरापी हो । दिमागमा गुम्सेर बसेका दुःख, पीडा, समस्या, चिन्ता, तनाव, रिस–राग, घमण्ड, गुनासोलाई आआफ्नो तरिकाले व्यक्त गर्ने स्वतन्त्रता नै यसको मुख्य उद्देश्य रहेछ । त्यो देख्दा एक पागल खानाभन्दा कम लाग्दैन ।
पहिलो दिन यति अचम्म लाग्छ कि पागलखानामा आएछु भागी हालु झैँ लाग्छ । आँखामा पट्टी बाँधेर पागल झैँ क्रियाकलाप गर्नु पर्छ । कोही चिच्याउने, कोही कराउने, कोही रुने, कोही कुशन तकिया फ्याँक्ने, बजार्ने, आफूले आफैँलाई हिर्काउने, वालमा कोपर्ने, लात्ताले हान्ने, हाँस्ने, गीत गाउने, नाच्ने, मनमा जे आउँछ त्यही निर्धक्कसँग आँखामा पट्टी बाँधेर ब्याकग्राउन्ड न्वाइजी म्युजिकको साथमा गराइन्छ । एक अर्काको क्रियाकलापले डिस्टर्व नहोस् भनेर ठुलो स्पिकरमा न्वाइजी म्युजिक लगाइन्छ । जसले गर्दा नजिकै साथीले गाली गरेको, गुनासो पोखेको, भनेको कुरा राम्ररी नबुझिने र नसुनिने व्यवस्थापन मिलाइएको हुन्छ ।
मनमा जे आउँछ, त्यही बोलेर, क्रियाकलाप गरेर दिमागलाई जसरी हुन्छ खाली गराउन लगाउने उत्तम थेरापी रहेछ नो माइन्ड मेडिटेसन । सकारात्मक ऊर्जा प्रवाहका लागि एक किसिमको स्वैच्छिक पागलखानाको नाम दिन्छु त्यसलाई म । वास्तवमा मानिसभित्रको पागलपन हेर्न र बुझ्न त्यो मेडिटेसन काफी हुन्छ । यसले मानिसभित्र गुम्सिएर रहेका विकारलाई फ्याँकेर नयाँ ऊर्जा भर्न सहयोग गर्दछ । यो प्याकेज वास्तवमा व्यावहारिक रूपमा अनौठो लागे पनि सान्दर्भिक रहेछ भन्ने कुरा त्यसबाट निस्किनेको अनुभवले बताउँछ । सन्न्यास लिँदाका क्रियाकलाप भने असुहाउँदो र अव्यावहारिक लाग्छन् । सन्न्यास अर्थात् एक किसिमको सङ्कल्प हो । ओशोप्रति आफूलाई समर्पित गर्नु सन्न्यास हो । सन्न्यास लिने क्रममा स्वामीज्यूले निधारमा छोएपछि रुँदै ढल्नु हास्यास्पद लाग्छ । त्यहाँको म्युजिकमा पागल झैँ उफ्रँदै, नाच्दै झुम्नुमा मानसिक आनन्द भए पनि सन्न्यास लिने क्रममा रुँदै ढल्नुमा के रहेछ त्यस्तो भन्ने प्रश्न मनमा उब्जिरहेको हुन्छ ।
ओशो जाने र बस्नेलाई सामान्य लागे पनि युट्युबका भिडियो मात्र हेर्नेलाई यो एक किसिमको अराजक गतिविधि लाग्छ । भिडियोको आधारमा असान्दर्भिक, वाइयात लाग्नु स्वाभाविक देखिन्छ । वास्तवमा अस्वाभाविक देखिने गतिविधि नै मानिसको खोजी र चासोको विषय बन्छ । यो एउटा ओशोप्रति आकर्षित गराउने टेक्निकका रूपमा लिदा बेफाइदाभन्दा फाइदा नै होला ? यसले मानिसलाई ओशोप्रति नजिकाउन सहयोग पुग्छ भन्ने लाग्छ ।
दुःख र सुखलाई सन्तुलनमा राख्न सिक । दुःखले तिधमीलाई गहिराइमा डुब्न सिकाउँछ भने सुखले उचाइमा पुग्न सिकाउँछ । दुःख जरा हो, सुख हाँगा हो । सुख एउटा रुख जस्तै हो; जुन आकासिँदै जान्छ भने दुःखले पृथ्वीको गहिराइमा जरा फिजाउँदै जान्छ । जति जरा गाडिँदै जान्छ उति रुख बढ्दै जान्छ ।