• १३ असोज २०८१, आइतबार

एकानब्बे वर्षमा पनि कलासाधना

blog

शिबा तामाङ

काठमाडौँ, पुस २१ गते । क्रोधकला शिरोमणिको उपाधिबाट विभूषित ९१ वर्षीय कलाकार कालु कुमाले (कुम्हा) सौम्य र शीतल व्यक्तित्वका धनी हुनुहुन्छ । विसं १९९० मा ललितपुरको थपाटोल ओकुबहालमा जन्मिई क्रोधकलामा विशेषज्ञता हासिल गर्नुभएका कलाकार कुमालेको कलाकर्म अहिले पनि जारी छ । 

उहाँको दिनचर्याको सुरुवात नुहाएर चिया, हल्का खाजाबाट हुन्छ । ध्यान, सङ्कीर्तन र जपपछि हात्तीवनस्थित कला स्टुडियोमा माग भए अनुसारका काम गर्ने र अन्य कलाकारका काम निरीक्षणसहित हरेक दिन कलाकर्ममा सरिक हुँदै उहाँको दिन बित्ने गरेको छ । उहाँको कलाकर्मसहित पारिवारिक, व्यावसायिक र सामाजिक जीवन दर्शाउने पुस्तक ‘देउता बनाउने मान्छे’ प्रकाशित भएको छ । 

बिहीबार उहाँको निवासमा आयोजित सो किताब र कलाकार कालु कुमालेको व्यक्तित्व चर्चामा सरिक क्रोधकला शिरोमणि कालु कुमालेले यो उमेरमा पनि आफ्नो पेसाप्रतिको समर्पणलाई अरू दुनियाँले सामान्य ढङ्गले लिएको तर आफूले राष्ट्र वा समाजसँग केही अपेक्षा नराखेको बताउनुभयो । उहाँको मूर्ति सन् १९६८ मै लन्डनस्थित  भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा राखिएको थियो । भारत र तिब्बतका थुप्रै गुम्बा, मन्दिर र देवस्थलमा उहाँका मूर्तिकलालाई देवताका रूपमा पुजिँदै आएको छ । विश्वका ५० भन्दा बढी मुलुकमा आफ्ना कृति पुगेको उहाँको दाबी छ । काममा विश्वास गर्ने कलाकार कुमालेले १.५ इन्चदेखि १० फिटसम्मका पाँच सय वटा विशाल मूर्ति बनाइसक्नुभएको छ ।

क्रोधकला शिरोमणि फाउन्डेसनका उपाध्यक्ष सरोज डङ्गोलले सङ्घर्ष र अनुभवले खारिएका कलाकार कालु कुमालेले सो फाउन्डेसनमार्फत कला र सञ्चार क्षेत्रका लागि थुप्रै पुरस्कार, सम्मान प्रदान गर्दै अन्यलाई प्रेरित गरिरहेको जानकारी दिनुभयो । डङ्गोलले कला क्षेत्रका लागि उहाँले पु¥याउनुभएको योगदानको कदर गर्न राज्यले दीर्घकालीन काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सो अवसरमा कलाकार अजय देसारले औपचारिक र कलासम्बन्धी शिक्षा नपाए पनि आफ्नो प्रतिभाको बल र मेहनतले देशको गौरव विश्वमाझ पु¥याउन सफल कलाकारको सम्मान र प्रवर्धनका लागि विशेष पहल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

काठमाडौँ विश्वविद्यालयका कला विषयका प्राध्यापक भुवन थापाले मूर्तिकलाको माध्यमबाट मुलुकको पहिचान विश्वमा फैलाउन सफल कलाकार कालु कुमाले (कुम्हा) को योगदान र  प्रेरणादायी कामलाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो ।  क्रोधित एवं अन्य भावभङ्गीका देवदेवीको विशाल मूर्तिकला निर्माण गरेर देशविदेशमा समेत चर्चित प्राज्ञ कुमालेलाई उहाँको कामका कारण नागरिक समाजका तर्फबाट क्रोधकला शिरोमणि पदवी दिइएको छ भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मानार्थ प्राज्ञको उपाधि दिएको थियो । 

पत्रकार कुमार यात्रुले समाज, परिवार र देशसँग समेत कुनै अपेक्षा नराखी ९१ वर्ष हुँदा पनि आफ्नो मूर्तिकला कर्मलाई निरन्तरता दिनु नै उहाँ मानव समाजका लागि उदाहरणीय व्यक्तित्व हो भन्नुभयो ।  

क्रोधकला शिरोमणि कालु कुमालेका चर्चित एवं विशाल कलाकृतिहरू भैरव, धँटल धन्वन्तरी बाराही, त्यागल बालकुमारी मन्दिरको गणेश र भैरव, महाबुद्ध ठुलो वज्र, यमन्त, सिद्धा हुन् । त्यसै गरी सतुङ्गल विष्णुदेवी मन्दिरको गणेश भैरव, अजिमा, पद्यपाणि, बोधिसत्व, वज्रयोगिनी, वज्रभैरव, चक्रसंवर, ह्यगृव, कालभैरव, श्वेत महाङ्काल, काग्युमा रहेका छन् । लन्डनको भिक्टोरिया एन्ड अल्बर्ट म्युजियम, अमेरिका, जापान, भुटान, कोरिया, इटाली, मङ्गोलियालगायत थुप्रै देशमा उहाँका कला पुगेका छन् ।