• ८ मंसिर २०८१, शनिबार

पारिवारका उतारचढावमा आधारित फिल्म 'चित्रा'

blog

काठमाडौं, पुस २० गते । निर्देशक घनश्याम लामिछानेले फिल्म 'चित्रा'लाई बाबुछोरीको सम्बन्धमा आधारित फिल्मको रूपमा मात्रै बुझ्न नहुने बताउनुभएको छ । पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो फिल्ममा बाबुले छोरी बचाउन गर्ने सङ्घर्ष मात्रै नभएर सम्बन्ध, मित्रता, पारिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताउनुभएको हो ।

"बाबुछोरीको कथा यो फिल्ममा एउटा बाटो मात्रै हो यसबाहेक यसमा धेरै कथा छन्", उहाँले भन्नुभयो, "'चित्रा'लाई पूर्ण पारिवारिक फिल्मका रूपमा बुझ्नुपर्छ ।"

यस्तै, ४२ वर्षीय सन्तोष अधिकारीको 'चित्रा' डेब्यू फिल्म हो । उहाँले 'घर', 'आमा' लगायतका फिल्ममा सह-निर्माताको रूपमा काम गरिसक्नुभएको छ । त्यसैगरी उहाँले फिल्ममा 'एन्टागोनिस्ट' बनेका प्रमोद अग्रहरीको पात्रमा दर्शकले विभिन्न रूप देख्नसक्ने बताउनुभयो । "फिल्ममा प्रमोदको क्यारेक्टर साँच्चिकै आश्चर्यजनक छ । अर्पणजीको केसमा पनि त्यस्तै देख्नुहुनेछ," उहाँले भन्नुभयो ।

यस्तै, अभिनेता प्रमोद अग्रहरी पनि आशावादी देखिनुहुन्छ । उहाँले ट्रेलर सार्वजनिक भएपछि मिलेको प्रतिक्रियाहरूबाट आफू थप आशावादी भएको बताउनुभयो । "ट्रेलर रिलिज भइसकेको छ। मैले सकारात्मक प्रतिक्रियाहरू पाइरहेको छु । मलाई लाग्छ दर्शकको साथ पाइनेछु," उहाँले भन्नुभयो । 

कार्यक्रममा निर्देशक घनश्याम लामिछानेले आफ्ना पछिल्ला फिल्ममध्ये शैलीका हिसाबले 'चित्रा' फरक हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, "मेरो पहिलेका फिल्ममाभन्दा यो व्यावसायिक धारमा छ । यसमा मैले शैली परिवर्तन गरेको छु। बजार हेरेर बुझेर बनाएको छु र फिल्मले व्यावसायिक पाटोलाई राम्रो सम्बोधन गर्ने मेरो विश्वास छु ।"