• २३ वैशाख २०८१, आइतबार

आभास एघार वर्षमा ९ कक्षा

blog

“म पनि कहिलेकाहीँ मोबाइल चलाउँछु तर मलाई मोबाइल चलाउनभन्दा किताब पढ्न  मन पर्छ । मोबाइल जस्तै किताब पनि जति पढ्यो, त्यति नै लत लाग्दो रहेछ ।” यो भनाइ ११ वर्षमा नै ९ कक्षामा पढेर चर्चामा आउनुभएका आभास ढकालको हो । सामान्यतः आभासको उमेर समूहका बालबालिका ५/६ कक्षामा पढ्छन् तर उहाँ काठमाडौँमा रहेको देशतिलक मेमोरियल हाई स्कुलमा ९ कक्षामा अध्ययनरत हुनुहुन्छ । 

११ वर्षको उमेरमै ९ कक्षामा । यो सुन्दा धेरैका लागि आश्चर्यको विषय हुने नै भयो तर आभास यसलाई कुनै अनौठो विषय नभएको दाबी गर्नुहुन्छ । कक्षा ३ बाट आभासले कहिल्यै पनि पूरा एक वर्ष एउटै कक्षामा पढ्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “३ कक्षामा आठ महिना पढेर ४ कक्षामा भर्ना भएँ । चार महिनामा आफ्नो मेहनतले ४ कक्षा पनि राम्रै अङ्क ल्याएर पास भएँ । ५ कक्षामा १० महिना, कक्षा ६ मा दुई महिना, ७ कक्षामा चार महिना ८ कक्षामा आठ महिना पढेँ । अहिले ९ कक्षामा पढ्दै छु ।” 

उहाँका बाबाआमाको सहयोग र आफ्नो दिनरातको मेहनतले खेलकुदका लागि छुट्याएको समय पनि पढाइमा लगाएको बताउनुहुन्छ । आभासलाई विद्यालयमा पढाइ हुने सबै पुस्तक उत्तिकै सजिलो लाग्छ । उहाँ पढ्नका अलावा कथा, कविता लेख्न मन पराउनुहुन्छ । कथा कविता र आफ्नो दैनिकीकोविषयमा केन्द्रित रहेर किताब प्रकाशन गर्ने आभासको योजना छु ।

हरेक दिन तीन घण्टा क्रिकेटका लागि छुट्याएका आभास विद्यालयमा पनि हरेक अतिरिक्त क्रियाकलापमा उत्तिकै तेज छन् । विद्यालयस्तरीय तथा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता र किड्स क्विक जस्ता प्रतियोगितामा आभास सधैँ पहिला हुने गर्छन् । उनी अत्यन्तै मिठो बोल्ने र भाषण कलामा निपूर्ण छन् । विद्यालयमा हुने क्रियाकलापमा उनले धेरै पटक स्टेजमा बोलेर उत्कृष्ट भाषण कलाको उपाधिसहित पुरस्कार पनि पाएको आभासले मुनासँगको कुराकानीको क्रममा बताए ।

प्रस्तुति : सिर्जना खत्री