• ९ मंसिर २०८१, आइतबार

अग्रगमनको बाटोमा समाज

blog

सरकारको एक वर्षको कार्यसम्पादन र उपलब्धिमाथि चौतर्फी समीक्षा भइरहेका छन् । मुख्य गरी तीनथरी मत आएका छन् । यी मत सरकारको सकारात्मक काम, सरकारको आलोचनात्मक टिप्पणी र स्थिर अवस्था हुन् । सरकार र विभिन्न मन्त्रालयका कार्यसम्पादन हिजो र आजको तथ्य र तथ्याङ्क विश्लेषण गर्दा विश्व समाज जसरी अगाडि बढेको देखिन्छ, सोही अनुसार नेपाली समाज सकारात्मक भएको देखिन्छ । भ्रम हाम्रो आँखामा होइन, मस्तिष्कमा छ । त्यसलाई हटाउन तथ्य केलाउनुपर्ने हुन्छ । यी तथ्य निम्नानुसार छन् :

सन् २००३ सम्ममा मानव जातिले डिजिटल जानकारीको पाँच एक्साबाइट सिर्जना ग¥यो । एक एक्साबाइट भनेको एक अर्ब गिगाबाइट (जिबी) हो । सन् २०१० मा मानव जातिले प्रत्येक दुई दिनमा पाँच एक्साबाइट सूचना उत्पादन गरिरहेको थियो । सन् २०१८ मा ३३ जेटाबाइट डाटा उत्पादन ग¥यो । एक जेटाबाइट भनेको एक हजार एक्साबाइट हो । सन् २०२३ मा १२० जेटाबाइट डाटा उत्पादन भयो । सन् २०२५ सम्ममा १७५ जेटाबाइट पुग्ने छ । अहिले संसारभर भएका कम्प्युटरले संयुक्त रूपमा २.७ जेटाबाइट डाटा भण्डार गर्न सक्छन् । 

त्यो भनेको संसारमा अहिलेसम्म छापिएका पुस्तक र पत्रिकाभन्दा २७ गुणा र सबै सिर्जना गरिएका सङ्गीतभन्दा छ गुणा बढी हो । माथि उल्लिखित सङ्क्षिप्त तथ्याङ्कले प्रविधिमा भइरहेको घातीय वृद्धिलाई देखाउँछ । हामी विशाल सूचना प्रचूरताको युगमा बाँचिरहेका छौँ । यसले हाम्रो सोच्ने तरिका र समग्र जीवनशैलीलाई अकल्पनीय रूपमा बदलिरहेको छ । यस युगले हामीले यसअघि कल्पना पनि नगरेको चुनौती र अवसर सिर्जना गरिरहेको छ । यसलाई आत्मसात् गरेर मात्रै हामी हाम्रो समाजलाई सही दिशा दिन सक्छौँ । 

हिजो दास युगमा धेरै दास भएको मान्छे शक्तिशाली थियो । सामन्ती युगमा जमिनको मालिक प्रभुत्वशाली थियो । औद्योगिक युगमा धेरै कारखानाको मालिक हैकमवादी थियो । आज डिजिटल युगमा जोसँग धेरै तथ्याङ्क छ, ऊ नै पृथ्वीको सबैभन्दा धनाढ्य र प्रभावशाली हुन गएको छ । अतः औद्योगिक युगमा जीवाश्मा इन्धनले बजार परिचालनमा मुटुको काम गथ्र्याे, आज डाटाले त्यही काम गर्दछ । डाटा आजको युगको नयाँ तेल हो । आज समाजको मुटुमा डाटा छ । डाटाले सम्पूर्ण कुरा बोल्दैन तर डाटाबिना संवाद गर्न पनि सकिँदैन । 

हामी उज्यालो युगमा छाैँ । अहिले संसारभर ८५ प्रतिशत मान्छेले बिजुली प्रयोग गर्दछन् । नेपालमा पनि ८५ प्रतिशतको पहुँचमा बिजुली पुगेको छ र अबको दुई वर्षमा बिजुली प्रयोग गर्नेहरूको सङ्ख्या शतप्रतिशत नै हुने छ । कर्णाली, सुदूरपश्चिम र मधेशका बाँकी क्षेत्रहरू अब राति पनि उज्यालो हुने छन् । बिजुली सामान्य उज्यालो मात्र होइन, हाम्रो गुणस्तरीय जीवनको मापन पनि हो । बिजुली कहाँ प्रयोग हुन्छ भन्दा पनि बिजुली प्रयोग नहुने क्षेत्र नै छैन । अब हामी बिजुलीबिनाको जीवन कल्पना गर्न नसक्ने अवस्थामा छौँ । ऊर्जाका नयाँ नयाँ स्रोत पत्ता लाग्दै छन् र खास गरी प्रकृतिमैत्री नवीकरणीय ऊर्जा अबको हाम्रो भविष्य हुँदै छ ।

पूर्वी अफ्रिकाबाट होमो सेपियन्सले संसारभर फैलिँदा पैदलै जङ्गल, खोला र पहाडहरू पार गरेको थियो । हजारौँ वर्षअघि घोडसवार भएर यात्रा गर्न थाल्यो । लामो समय घोडा यातायात र लडाइँको साधन थियो । १९ औँ  शताब्दीको अन्त्यतिर अमेरिका र युरोपका सहर घोडाको मलले दुर्गन्धित भएको हुन्थ्यो । सहरमा लादी व्यवस्थापन सरकारको टाउको दुखाइको विषय थियो । एक्कासि गाडीको आविष्कार भयो । अब सहरमा लादी व्यवस्थापन र घोडाको आहार खोजी समस्या रहेन । हिजो कसैले पनि सोचेको थिएन कि सडक त सफा राम्रो हुने छ तर आकाश फोहोर हुने छ, वायु प्रदूषित हुने छ भनेर ।

नेपालको इतिहासमा एडोल्फ हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको गाडी ल्याउँदा बाटो थिएन, भरियाले बोकेर ल्याएका थिए । एक शताब्दी पनि पूरा भएको छैन, हुम्ला र डोल्पाको सडक खुलेसँगै अब सबै जिल्ला सडक सञ्जालमा जोडिएका छन् । यातायातको सञ्जाल विश्व मानव जातिलाई जोड्ने सञ्जाल भएको छ । हाम्रो प्रगति हेर्न हामीले ५० वर्षअघि फर्केर हेरे पुग्छ तर अझै धेरै गर्न बाँकी छ । प्रदूषणरहित गाडी बनाउनु छ, गुणस्तरीय सडक बनाउनु छ, सबैको पहुँचमा यातायात हुनुपर्ने छ । उड्ने कारहरू प्रयोग गरेर सडक टाफ्रिक जाम त हटाउनु नै छ ।

लाखाैँ वर्ष हामीले जङ्गलमा बितायौँ । दस हजार वर्षअघि कृषि युगमा प्रवेश ग¥यौँ । पाँच सय वर्षअघि औद्योगिक युगमा प्रवेश गरेका छौँ । अहिले यो पाँचौँ औद्योगिक क्रान्तिको समय भनिन्छ । अहिले विश्व जनसङ्ख्याको ५६ प्रतिशत जनसङ्ख्या सहरमा बस्छन् । सन् २०५० सम्ममा दसमध्ये सात जना मानिस सहर निवासी हुने छन् । होमोसेपियन्स होमोअर्बान हुँदै छ भनिन्छ । मानव बस्तीको केन्द्र एसिया र अफ्रिका रहेका छन् । अहिले नै यी महादेशमा बस्ने जनसङ्ख्या ७७ प्रतिशत रहेका छन् । हामी विश्वको केन्द्रमा हुने छौँ । हाम्रा अगामी चाल विश्वस्तरबाट चाल्नुपर्ने छ । अर्थनीति, राजनीति, कूटनीति सबै क्षेत्रमा । 

सन् १९९० संसारभर प्रतिहजार बालबालिकामध्ये ९३ जना पाँच वर्ष नपुग्दै मर्ने गरेका थिए । सन् २०२३ मा यो सङ्ख्या २७ जना रहेका छन् । नेपालमा अझै कम २३ जना रहेका छन् । जब कि नेपालमा सन् १९५० मा २२७ जना रहेका थिए । बालमृत्युदर घट्नुको अर्थ हो– समाजको विकास स्तर बढिरहेको छ । कुपोषण, युद्ध, महामारी, खोपको अवस्था आदिले मृत्युलाई निर्धारण गर्दछ । 

अहिले संसारमा थौरै बच्चा जन्मन्छन् र धेरै बाँच्छन् । प्रजनन दर प्रतिमहिला २.२७ बच्चा रहेका छन् । सन् १८०० मा प्रतिमहिला सात जना बच्चा जन्मन्थे । जन्मेका सातमध्ये दुई जना मात्रै बाँच्दथे । नेपालमा अहिले प्रजनन दर प्रतिमहिला २.१ रहेको छ, औसत विश्वको भन्दा पनि कम । यस चित्रले बच्चाको पढाइ, स्वास्थ्य, रोजगारीदेखि समग्र भविष्यको सङ्केत गर्दछ । हामी संसार सँगसँगै छौँ भन्ने देखाउँदछ । यसरी नै प्रत्येक एक लाख बच्चा जन्माउँदा १५१ जना आमाको मृत्यु भएको छ सन् २०२२ मा भने सन् २००० मा यो सङ्ख्या ५५३ थियो । प्रत्येक वर्ष मातृ मृत्युदरमा सुधार भइरहेको छ । दिगो विकास जसले सन् २०३० सम्म प्रत्येक एक लाख जीवित बच्चा जन्माउँदा मातृ मृत्युदर ७० मा झार्ने योजना बनाएको छ ।

अहिलेसम्म मानव जातिले मृत्युलाई टारेर अमरत्व प्राप्त गर्न सकेको छैन तर पनि मृत्युलाई सारेर लामो आयु बाँच्न भने सकेको छ । तीन सय वर्षअघि पृथ्वीका मान्छेको सरदर आयु ३० वर्ष रहेको थियो भने अहिले ७२ वर्ष रहेको छ । सन् १७०० मा पृथ्वीका अधिकांश मान्छे गाउँमा बस्थे र ८५ प्रतिशत मान्छे निरपेक्ष गरिबीको रेखामुनि थिए । अहिले नेपालीको सरदर आयु ७१ वर्ष रहेको छ । सबैभन्दा धेरै हङकङको ८६ वर्ष र सबैभन्दा कम चाडको ५५ वर्ष । हाम्रो आयु बढ्नुका कारण समग्र हाम्रो जीवनशैली नै हो । खास गरी गरिबीविरुद्धको लडाइँ, स्वास्थ्य प्रचुरता, शिक्षाको स्तरमा वृद्धि, राजनीतिक व्यवस्थामा सुधार आदिले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । वैज्ञानिकले प्रयास गरिरहेका छन् कि एक दिन मृत्युमाथि विजय प्राप्त गरेर सायद अमरत्व प्राप्त गर्न सकिएला ।

महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भनिन्छ तर स्थिति यस्तो थिएन । कुनै समयमा महिलाले नारकीय जीवन बिताउँदथे । लोग्ने मर्दा सति जान बाध्य पारिन्थ्यो । शिक्षा, स्वास्थ्य, आर्थिक, सम्पत्ति कतै पनि अधिकार थिएन । अहिले परिस्थिति फेरिएको छ । छ हजार ७४३ वडामा दलित महिला र खुला महिला गरी १३ हजार ४८६ जना महिला जनप्रतिनिधिको अनिवार्य व्यवस्था गरिएको छ । प्रदेश सभा र सङ्घीय संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । सभामुख र उपसभामुखमा एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्था छ । राज्यका अन्य निकायमा पनि ३३ प्रतिशत महिला उपस्थिति कार्यान्वयन हुँदै गइरहेको छ । 

संसारभर औसतमा ९२ प्रतिशत छोरा र ९० प्रतिशत छोरीले प्राथामिक तह विद्यालय जाने गरेका छन् । नेपालमा पनि ८५ प्रतिशतभन्दा बढी छोरी स्कुल जाने गरेका छन् । उद्योग, व्यापार, सामाजिक काम हुँदै नीति निर्माण तह र अनुसन्धानको क्षेत्रमा समेत महिलाको सहभागिता उल्लेखनीय रहँदै आएको छ । नेपाल सरकारको सचिवमा नौ जना महिला रहेका छन् । पितृसत्तावादका सम्पूर्ण अवशेष त मेट्न लामो समय लाग्ला तर नेपालमा कतिपय उदाहरण विश्वस्तरमै रहेका छन्, लैङ्गिक समानताका लागि ।

कुनै समय थियो मान्छेले पशुवत काम गर्नु पथ्र्यो, दैनिक १८ घण्टासम्म । त्यतिबेला मजदुरले नारा घन्काएका थिए । आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन । पूरै अवस्थामा सुधार त भएको छैन तर पशुवत काम अब इतिहास बन्दै छ । बालश्रम उन्मूलनका धेरै प्रयास सफल हुँदै छन् । अहिले संसारभर २५ लाख रोबट काममा प्रवेश गरिसकेका छन् र तिनीहरूमध्ये आधा त चीनमा मात्रै छन् । सन् २०३० सम्म यो सङ्ख्या दुई करोड पुग्ने अनुमान छ । खेती किसानीदेखि उद्योगधन्दा हुँदै डाक्टर, इन्जिनियर, वकिल, पाइलट, ड्राइभर सबैले गर्ने काम रोबोटले गर्ने छ । अब मान्छेलाई आराम चाहियो भनेर आन्दोलन गर्ने होइन, फुर्सदको समय कसरी बिताउने भनेर सोच्नुपर्ने बेला हुँदै छ । 

हामीसँग अनगिन्ती यस्ता तथ्य तथ्याङ्क छन्, जसले हामीलाई समाजको अग्रगामी दिशाको सूचकको काम गर्दछ । हाम्रो आजको अवस्था चुनौतीविहीन त छैन नै । वातावरण परिवर्तन, सिन्थेटिक जीवन, कृत्रिम बौद्धिकता र आणविक हतियारको खतरा त हाम्रो आकाशमाथि घुमिरहेको छ । जहिले पनि प्रविधि दुई धारे तरबारका रूपमा रहेको हुन्छ । यस्ता चुनौतीलाई अवसरका रूपमा प्रयोग गर्न सके मात्रै हामीले आफ्नो भविष्यलाई उज्ज्वल बनाउन सक्ने छौँ । हाम्रो पुरानो सोच्ने तरिकामा परिवर्तन यसको प्रस्थान बिन्दु हुनु पर्दछ । 

  

Author

रामदीप आचार्य