• १३ असोज २०८१, आइतबार

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते

blog

राममणि दाहाल

हेटौँडा, पुस १८ गते । हेटौँडा उपमहानगरपालिका ११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौँडा ११ स्थित थानाभर्‍यामा हेटौँडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नं.को मोटरसाइकलको ठक्करबाट बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका वर्ष २५ का एडीलाई बुधवार बिहान दोडिँदै गरेको अवस्थामा ठक्कर दिँदा घाइते भई उपचारको लागि  हेटौँडा अस्पताल पठाएकोमा चिकित्सकले बिहान ७ः३० बजे मृत घोषणा गरेका थिए । उक्त घटनापश्चात् मोटरसाइकलसमेत अनियन्त्रित भई पल्टँदा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका ४ हुप्राचौर बस्ने वर्ष ४१ को लक्ष्मण लामाको टाउको र हातमा चोट लागी हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएकोका थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।

सोही घटनामा गणमा कार्यरत प्रहरी जवान नवराज सार्की दायाँ हातमा चोट लागेको र अर्का प्रहरी जवान विजय खत्री बायाँ खुट्टा र बायाँ हातमा भित्री चोट लागेको र अवस्था सामान्य छ । उनीहरू उपचारपश्चात् गणमा फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।