यदुप्रसाद भट्ट
मनाङ, पुस १८ गते । मनाङका चौँरीपालकको जीवन याक, चौँरी तथा च्याङ्ग्रासँगै जोडिएकाले अधिकांश पशुपालकको जीवन याक, चौँरीसँगै बित्ने गर्दछ । चौँरी स्वभावैले हिउँमा बस्ने गर्दछ । तातो तथा न्यानो स्थानमा याक, चौँरीलाई असहज हुने भएकाले बेँसी धेरै मन पराउँदैनन् तर यतिबेला मनाङका लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याक, चौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।
हुँदा खानेहरू जाडो छल्न बेँसी झरे भने हुनेखानेहरू काठमाडौँ, पोखरालगायतका सहरमा पसिसके। किसानको न त सहरमा घर छ न त उनीहरू याक, चौँरी छोडेर नै बस्न सक्छन् । यिनीहरूलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ ।
हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यतिबेला। यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकाका ६० वर्षीय याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउनुहुन्छ । सानो उमेरदेखि नै गोठ र याक, चौँरीसँगै जीवन गुजार्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “याक, चौँरी त हाम्रो छोराछोरी जस्तै हो । यिनीहरूको स्याहारसुसारमै जीवन बितेको छ । हाम्रो समाज भनेको हामी बुढाबुढी र याक, चौँरी हो ।”
अर्का ६१ वर्षीय निङ्मा सोनाम लामाले गोठ सार्दा सार्दै बिहे भएको बताउनुभयो। १३ वर्षको उमेरमै गोठालो भएका लामाले याक, चौँरीको स्याहारसुसार गर्दा गर्दै जीवन गुज्रिँदै गएको थाहा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही काम गर्दा गर्दै बिहे ग¥यौँ र बालबच्चा हुर्कायौँ ।
अहिले हामी गोठमा छौँ तर छोराछोरी काठमाडौँमा पठनपाठनका लागि पठाएका छौँ।” “चिसो छल्न जान मन लागे पनि राम्रो आम्दानी लिनका लागि याक, चौँरीको स्याहारसुसार गर्नु परेको छ’ – उहाँले भन्नुभयो । पहिलेपहिले २५ देखि ३५ हजारमा बिक्री हुने याक, चौँरी अहिले याकको एक लाख ५० हजारसम्म र चौँरीको ९० हजारसम्म मूल्य पाउने गरेको उहाँको भनाइ छ ।
फु गाउँका कर्म तेन्जिङ लामाले हाल आफूलगायत तीन गोठ तल क्याङमा झरेको र पशुचौपायाको स्याहारसुसारमा व्यस्त रहेको बताउनुभयो । पशुपालन नै जीविकोपार्जनको मुख्य स्रोत भएको उहाँको भनाइ छ । उहाँले मनाङका अन्यत्र क्षेत्रमा याक, चौँरीको छाला तथा उनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको सुनाउनुभयो ।
फु गाउँका ङिमा एन्जो लामाले छालाबाट दोचा र उनबाट लुगा बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन् । हामीले जानेको सिप अहिलेका मानिसले सिक्नै खोज्दैनन् । लगाउन पनि रुचाउँदैनन् ।” विगतमा मनाङवासी पशुपालन र कृषिमा निर्भर थिए । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अन्य पालिकाको तुलनामा नार्पाभूमि पशुपालन र कृषिमा नै आधारित रहेको बताउनुभयो ।