• २० वैशाख २०८१, बिहिबार

मेलमिलाप अझ बढी सान्दर्भिक

blog

नेपालको राजनीतिक इतिहासमा २०३३ साल पुस १६ गतेलाई विशेष महत्वको दिनका रूपमा हेरिँदै आएको छ । त्यस दिन नेपाली राजनीतिका शिखर व्यक्तित्व तथा प्रजातान्त्रिक समाजवादी विचारधाराका प्रणेता विश्वेश्वरप्रसाद (बिपी) कोइराला छिमेकी मुलुक भारतको आठ वर्ष लामो निर्वासन जीवनपछि राष्ट्रिय एकता तथा मेलमिलापको सन्देशसहित स्वदेश फर्किनुभएको थियो । तत्कालीन सरकारले उहाँविरुद्ध अनेकौँ मुद्दा चलाएर मृत्युदण्डको माग गरिरहेको अवस्थामा पनि ज्यानको बाजी थापेर स्वदेश फर्किनुलाई विश्व राजनीतिमै एक जोखिम र साहसिक कदम मानियो । बिपीको यसै साहसिक कदमको पृष्ठभूमिमा २०३६ सालको राष्ट्रिय जनमत सङ्ग्रह र २०४६ सालको परिवर्तनलाई जोडेर हेर्नुपर्ने हुन्छ । यस ऐतिहासिक दिनको सम्झना गर्दै प्रत्येक वर्ष पुस १६ गतेका दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा नेपाली कांंग्रेसले देशव्यापी रूपमा स्मरण गर्दै आएको छ । 

पुस १६ बर्सेनि महत्वको दिन हुँदै आएको छ । यसै सन्दर्भमा सत्ता साझेदार दल र प्रतिपक्षी दलका शीर्ष नेताहरूसमेत सोमबार एउटै मञ्चमा उपस्थित भएर यस दिनको सान्दर्भिकता र सन्देशप्रति ऐक्यबद्धता प्रकट गर्नु भएर राष्ट्रिय राजनीतिमा एकताको नवीन सन्देश दिनुभएको छ । उहाँहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र प्रभावकारी कार्यान्वयनबाटै जनताको सङ्घर्षबाट स्थापित व्यवस्थालाई बलियो बनाउने प्रतिबद्धता र त्यसका निम्ति अझ बढी एकता आवश्यक भएको औँल्याइयो । जटिल अर्थराजनीतिक अवस्थामा यो मननीय साझा सन्देशले ठुलो अर्थ राख्छ ।

आफूमाथि दर्जन राजद्रोह तथा राजकाजसम्बन्धी तात्कालिक पञ्चायती शासकका कथित मुद्दाका बाबजुद राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेर बिपीलाई काराबास चलान गरिएको थियो । विशेषतः अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चलखेल, दक्षिण एसियाको अस्थिरता र अनेक सामरिक रणनीतिलाई बिपीले सूक्ष्म रूपमा विश्लेषण गर्नुभएको राजनीतिक विश्लेषकले टिप्पणी गर्दै आएका छन् । नेपालको राष्ट्रियता र अखण्डतामा चुनौती थपिएको विश्लेषणका आधारमा उहाँ अन्ततः नेपाली जनताबिचमा आफ्ना विचार, राजनीतिक चिन्तनधारा र नीतिलाई उजागर गर्ने इच्छाशक्तिका साथ नेपाल फर्किनुलाई साहसिक कदम भएको शीर्ष नेताहरूले एउटै मञ्चबाट विचार व्यक्त गर्नुलाई यस दिनको सान्दर्भिकतासँग जोडेर हेरिएको छ । अहिले पनि भूराजनीतिक चुनौतीका अनेक आयाम कायमै हुँदा अझ बढी एकताले मात्र नेपाली समृद्धिको यात्रा सहज हुन सक्ने छ ।

पुस १६ कै सन्दर्भमा ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको ‘शान्ति र संविधान सहकार्यबाट, समुन्नतिमा गति सहकार्यबाट’ मूल सन्देश रहेको समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक व्यवस्था नै विश्वको उच्चतम राजनीतिक व्यवस्था भएको स्पष्ट पार्नुभयो । राष्ट्रिय एकता तथा मेलमिलापलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा नयाँ सङ्कल्पसाथ जनतामा जान आफूहरू चुकेको स्वीकार गर्दा अबको मार्गचित्रले सकारात्मक सन्देश दिने छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प सोच्न पनि नसकिने भन्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पारेर मात्रै जनआकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको थियो । उहाँले मेलमिलापको आवश्यकता र औचित्य वृद्धि हुँदै गएकाले परिवर्तनका पक्षमा सङ्कल्प गर्ने सबै दलबिच स्वस्थ प्रतिस्पर्धासहितको एकता र मेलमिलाप हुनु राष्ट्रहितमा भएको विचार व्यक्त गर्नुभएको थियो । त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाभित्र पनि लोकतन्त्रको रक्षाका लागि एकता अपरिहार्य भएको स्पष्ट पार्नुभएको थियो । 

एउटै मञ्चमा देशका शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय एकता तथा मेलमिलापका पक्षमा अभिव्यक्ति दिनुलाई केवल भाषणमा मात्र नभएर व्यवहारमा उतार्न आवश्यक भएको टिप्पणी हुने गरेको छ । नेपालको मूल समस्या गरिबी हो तर लोकतान्त्रिक गणतन्त्रविरुद्धका सबै जोखिम न्यूनीकरण गर्दै अगाडि बढ्दा सुशासन र समृद्धि हासिल हुन्छ । गरिबीविरुद्धको विजय सुनिश्चित हुने छ ।  राजनीतिक व्यवस्था परिवर्तनको अनेक चक्रमा अब देशले कल्पना गर्न सक्दैन । देश पछाडि फर्कन सक्दैन । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास नै मूल मार्गचित्र हो । संविधान सभाबाट जारी गरिएको नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न सकिन्छ भन्नेमा राजनीतिक दलहरू सहमत भएर एक ठाउँमा उभिन सक्नु यतिबेला देशको आवश्यकता हो । अझ बढी एकता र मेलमिलापबाटै आगामी चुनौतीको सामना गर्न सकिने स्पष्ट छ ।