• ८ मंसिर २०८१, शनिबार

हरिवंशसँगै विपिन र दुई रवीन्द्र

blog

काठमाडौँ, पुस १८ गते ।  फिल्म ‘महाजात्रा’ फस्र्ट लुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिनुभएको छ । पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिकामा देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्विलचेयरमा बोकेको दृश्य छ । 

उहाँहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको प्रस्ट सङ्केत पोस्टरले गरेको छ । चलचित्रका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको जानकारी दिनुभयो । “पोस्टरमा देखिएका पात्रले पनि यसको कथासार झल्काउँछ । पृष्ठभूमिमा गाडी, पैसा अनि 

हामी तीनसँगै हरि दाइ । यसले धेरै तथ्य सङ्केत गरेको छ,” अभिनेता बानियाँले भन्नुभयो । आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको छ ।

निर्देशक प्रदीप भट्टराईले चलचित्रमार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताउनुभयो । यसमा हाँसो र रोदनको मिश्रण छ । मौलिकता र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । नेपालमा यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।

चलचित्रमा वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहनुभएको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने छ ।