• १३ साउन २०८१, आइतबार

पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’

blog

फाइल तस्बिर

चितवन, पुस १७ गते । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिबल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका-२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो ।

यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो । महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताउनुभयो । 

कुखुराको मासु र अण्डाको महत्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उहाँको भनाइ थियो । मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीहरुमा असर पारेको बताउनुभयो । यो समयमा कुखुराको मासु र अण्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उहाँले बताउनुभयो ।

स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उहाँले सबैखाले रोगीका लागि उपयुक्त हुने अण्डाको महत्व बुझाउन जरुरी रहेको बताउनुभयो । दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा र कुखुराको मासुको महत्व बारेमा जानकारी गराइएको थियो ।

यस क्रममा २६ सरकारी विद्यालयका एक हजार नौ सय ४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे जानकारी गराइएको छ । महोत्सवसहित दिवसका अवसरमा आज रक्तदान पनि गरिएको छ । कार्यक्रमअघि मञ्चको कार्यालय भरतपुरबाट कार्यक्रम स्थलसम्म प्रभातफेरी गरिएको थियो । वि.सं.२०१७ पुस १७ गते बाराको परवानीपुर सेन्ट्रल ह्याचरीको शुभारम्भपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ । यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ । रासस