नेपाली राजनीतिका नक्षत्र बिपी कोइरालालाई सम्झने अनेक दिनमध्ये पुस १६ पनि एक हो । असार ६ स्मृति दिवस र भदौ २४ जन्मजयन्तीबाहेक नेपाली माटोमा जननिर्वाचित प्रथम प्रधानमन्त्री बनेको दिन जेठ १३ पनि बिपी कोइरालाको सम्झना जोड्न मिल्ने दिन हो । त्यो प्रधानमन्त्री र उहाँलाई प्रधानमन्त्री बनाउने संसद्लाई राजा महेन्द्रले विघटन गरेको दिन पुस १ गतेलाई कालो दिवसका रूपमा मनाउने प्रचलन लोकतन्त्र बहालीसँगै विस्मृतिमा गए पनि देशमा पहिलो जननिर्वाचित प्रधानमन्त्री नियुक्त भएको दिन राष्ट्रिय गौरवको दिन हो ।
जन्म र मृत्यु दिवस संयोग हुन् । त्यही दिन नजन्मिएको भए बिपीमा त्यो तीक्ष्ण बुद्धि रहन्थ्यो कि रहँदैनथ्यो अथवा त्यही दिन मृत्यु नभएर केही दिन बिपी बाँचेको भए नेपाली राजनीतिमा कुनै परिवर्तन कसरी आउँथ्यो ? यी प्रश्न अहिले काल्पनिक मात्र हुन् तर जेठ १३ र पुस १६ बिपीका जन्म वा मृत्युभन्दा बढी राजनीतिक महत्वका दिन हुन् । भलै बिपीले स्थापना गरेको मुलुकको सबैभन्दा ठुलो र सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले पछिल्ला यी दुई दिनलाई महत्व दिने गरेको छैन । जेठ १३ गते देशमा के भएको थियो भन्ने कसैको स्मृतिमा पनि छैन ।
आज पुस १६ गते परेकाले यहाँ यसको सन्दर्भ र महत्वलाई फेरि एक पटक सम्झने प्रयत्न गरिएको छ । २०३३ साल पुस १६ मा बिपी कोइराला आफूविरुद्धका राजद्रोहका आठ आठ वटा मुद्दाको सामना गर्ने सोचका साथ स्वदेश फर्कनु भएको थियो । उहाँले यसलाई राष्ट्रिय मेलमिलापको नीति बताउनुभएको थियो र पुस १६ लाई राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने परम्परा छ । उहाँको यो निर्णय कांग्रेसका धेरै नेताका लागि अप्रिय र अनौठो लाग्दै गर्दा बिपीले आफू मुलुक जोगाउनका लागि स्वदेश फर्कने निर्णय गरेको बताउनु भएको थियो । त्यसो त बिपीले २०३२ साल माघमा नै दरभङ्गामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जानुपर्ने अवस्थाका बारेमा लामो व्याख्यान दिनुभएको थियो ।
उहाँले पुस १६ को निर्णय गर्दै गर्दा बताउनु भएको थियो, हिजोसम्मको हाम्रो सङ्घर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति मात्र थियो । त्यसो हुँदा हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ । आज यसमा एउटा नयाँ आयाम (त्यो आयाम उहाँले राष्ट्रियता खतरामा रहेको भनेर अघिल्लो अनुच्छेदमा उल्लेख गर्नुभएको थियो ।) थपिएको छ । नेपाली कांग्रेसमा आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी देशको अस्तित्वको रक्षा गर्ने हो । ...राष्ट्रियता र प्रजातन्त्र भन्नुको तात्पर्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा गर्ने दुवै जिम्मेवारी नेपालीले लिनु परेको छ ।
बिपीको यो निर्णय राजनीतिक दुस्साहस यस अर्थमा थियो उहाँ नेपाल फर्कनेबित्तिकै मृत्युदण्ड पनि हुन सक्थ्यो । उहाँविरुद्ध राजद्रोहका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थिए । उहाँले यसको पर्वाह नगरी भन्नुभएको थियो, हामीमाथिको सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराका सामु नगण्य भन्ठानेर नै हामीले यो ऐतिहासिक निर्णय लिएका हौँ । उहाँले यो खतरा मोल्दै गर्दा विरोधीहरू उहाँको आगमनबाट अत्तालिएका थिए र राजा र पञ्चायतसँग सम्झौता गर्न आएको प्रचारबाजी गरिरहेका थिए । उहाँको भनाइको एउटा टुक्रालाई मात्र समातेर अर्थ लगाउँदा उनीहरूको आरोप सही देखिन सक्थ्यो । उहाँले भन्नुभएको थियो, मेरो र राजाको घाँटी जोडिएको छ । उहाँको आशय सम्झौतापरस्त थिएन । राष्ट्रियता खतरामा रहेको निक्र्योल गरेर मात्रै उहाँले यस्तो अप्रत्याशित निर्णय लिनुभएको थियो । मुलुकमा राजाले प्रजातन्त्र दिऊन् या नदिऊन्, राजासँगको झगडा म आफ्नै मुलुकमा बसेर गर्छु भनेर उहाँ स्वदेश फर्कनु भएको थियो । राष्ट्रियताको पक्षमा योभन्दा ठुलो निर्णय अरू के हुन सक्छ ?
त्यसबेला भारतमा सङ्कटकाल लागु गरिएको थियो । प्रधानमन्त्री इन्दिरा गान्धीमा सत्ताको उन्माद यति धेरै थियो, उहाँका विरोधी नेताहरू अधिकांश थुनिएका थिए । सङ्कटकालको विपक्षमा रहेका कतिपय नेपाली कांग्रेसका नेता कार्यकर्ता समेतलाई पक्राउ गरिएको थियो । बिपी कोइरालालाई या त मुलुकको प्रधानमन्त्री भएर देश फर्कन अन्यथा भारतमा रहेर राजनीति नगर्न चेतावनी दिइएको थियो । बिपीले प्रत्युत्तरमा भारतले बनाइदिने प्रधानमन्त्रीलाई ठाडै इन्कार गर्दै भन्नुभएको थियो, आज मलाई नियुक्त गर्न सक्नेले भोलि कुनै पनि बेला मलाई हटाउन सक्छ । त्यसैले म नेपाली जनताले बनाएको प्रधानमन्त्री बन्न प्रयत्न गर्ने छु । यही दृढताका साथ बिपी कोइराला स्वदेश फर्कनुभएको थियो ।
बिपी कोइरालाले राजा वीरेन्द्रसँगको संवादका क्रममा राष्ट्रियताका पक्षमा उभिएर नेपाल फर्केको प्रसङ्ग सुनाउँदै यो पनि प्रश्न गर्नुभएको थियो, म त विराटनगरको मानिस । यो देश रहेनछ भने पनि विराटनगर फर्केर खेती किसानी गरेर जीवन बिताउँला तर यो मुलुक रहेन भने सरकार कुन देशको राजा हुनु हुने छ ? उहाँले राजा र आफ्नो घाँटी जोडिनुका कारण यसरी प्रस्ट्याउनु भएको थियो ।
बिपी कोइरालाले राष्ट्र र राष्ट्रियता भनेको भूगोल मात्र होइन भन्नुभएको छ । राष्ट्रियताका बारेमा उहाँको प्रस्ट दृष्टिकोण थियो । आठ वर्ष लामो काराबासबाट छुटेपछि विराटनगरको एलिट क्लबमा उहाँले भन्नुभएको थियो, “देश वा राष्ट्र भनेको भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । जनताको अधिकार नै देशको अधिकार हो ।” ...नेपालको भूगोलबाट यहाँ बस्ने एक करोड नेपाली जनता लोप भए भने मेरो अर्थमा नेपाल लोप हुन्छ तर त्यो भूगोल भने जस्ताको तस्तै रहिरहने छ । ...राष्ट्रियतालाई जनताको सन्दर्भमा नसोची एउटा भूगोलको अर्थमा लिन थाल्यौँ भने राष्ट्रियता भन्ने शब्दलाई कुनै तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि गर्ने र जनताको अधिकार अपहरण गर्ने हतियार बनाउन सक्छ ।
राष्ट्रिय मेलमिलाप दिवसको औचित्य सकिएको हो ? आज कतिपय मानिसलाई यस्तो पनि लाग्न थालेको हुन सक्छ । बिपी जीवित छँदै पत्रकारहरूले उहाँलाई यो प्रश्न गरेका थिए । यो जनमत सङ्ग्रहपछि पञ्चायती संविधानमा तेस्रो संशोधन गरेर राष्ट्रिय पञ्चायतको निर्वाचन सकिएपछिको प्रसङ्ग थियो । कांग्रेसले चुनाव बहिष्कार गरेको थियो । यो प्रश्नमा उहाँको प्रतिप्रश्न थियो, “राष्ट्रिय मेलमिलापको अझै कति सम्भावना छ भनेर किन सोधिँदैन ?. हामी प्राणको बाजी लगाएर देशभित्र आयौँ । हामी यस्तो गम्भीर निर्णय लिएर अँध्यारोमा होमिन, त्यसै आत्महत्या गर्न आएका त होइनौँ होला ?” ...यो मेलमिलाप राजासँगको लडाइँको रणनीति होइन । अहिले देशमा राजाबाट भन्दा पनि ठुलो खतरा विदेशीबाट छ । त्यसमा म राजालाई सहयोगी बनाउन खोज्दै छु ।
पञ्चायत सकिएको ३५ वर्ष हुने क्रममा छ । राजतन्त्र विस्थापित भएको पनि १५ वर्ष पूरा भइसकेको छ । ४७ वर्ष पुरानो मेलमिलापको सान्दर्भिकता कहाँ खोज्ने ? किन खोज्ने ? मूलतः राष्ट्रिय मेलमिलाप राजा रहनु वा नरहनुसँगको सन्दर्भ होइन, न त पञ्चायती शासन रहनु वा नरहनुसँगको मात्र सम्बन्ध हो । यो केवल राष्ट्रियतासँग जोडिएको नेपाली कांग्रेसको भावना हो । देशप्रेम हो । पञ्चायत वा राजा सकिँदा देश सकिदो रहेन छ तर राष्ट्रियताका बारेमा अहिले प्रश्न उठाएर फेरि निरङ्कुश सत्ताको सपना देख्नेहरूका लागि कांग्रेसले राष्ट्रिय मेलमिलापको सन्दर्भमा उठाएका प्रश्नका आधारमा उनीहरूलाई जवाफ दिन सक्नु पर्छ । बिपीले प्रजातन्त्रका प्रश्नमा मात्र केन्द्रित रहेर राष्ट्रियतालाई तिलाञ्जली दिन सकिँदैन भन्ने निष्कर्षका आधारमा लिनु भएको यो नीति लोकतन्त्र रहेका कारणले राष्ट्रियता गौण मान्न सकिँदैन भन्ने सन्देश पनि हो । आज अरूले जुन रूपमा लिए पनि कांग्रेसले राष्ट्रियताको पक्षमा कांग्रेसको अडान र इतिहास हरेक नागरिकलाई पढाउन जरुरी छ ।