• ९ मंसिर २०८१, आइतबार

मेलमिलापको सान्दर्भिकता

blog

पुस १६ गते अर्थात् नेपाली कांग्रेसको इतिहासमा नयाँ आयाम थपिएको दिन ! कांग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने दिन !

२००७ साल फागुन ७ गते राणा शासनको अन्त्यसँगै प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । देशमा प्रजातन्त्रको अभ्यास सुरुवात भयो । राजा र जनता मिलेर ल्याएको प्रजातान्त्रिक अभ्यास स्वाभाविक रूपले हुन सकेन । राजसंस्थाले आफूमा शक्ति केन्द्रित गर्ने प्रयासका कारण फुटाउ र राज गर भन्ने सिद्धान्त अपनाउँदा दलहरूमा समेत विखण्डन तथा अविश्वासको वातावरण निर्माण भयो । 

अन्ततोगत्वा २०१५ सालमा अन्तरिम संविधानमार्फत आमनिर्वाचन भयो र कांग्रेसले दुई तिहाइ बहुमतसहित विजयी भयो । बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । सुवर्णशमशेर, गणेशमानलगायत प्रमुख नेता मन्त्री रहेको मन्त्रीमण्डल पनि गठन भयो । कृष्णप्रसाद भट्टराई प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभयो । 

कांग्रेसको एकमना जननिर्वाचित सरकारले राज्य रजौटा उन्मूलन, बिर्ता हरण, जग्गाको हदबन्दी निर्धारण, वनजङ्गलको राष्ट्रियकरण, राष्ट्रिय आएमा वृद्धि, कृषि क्षेत्रमा आधारभूत परिवर्तन, बेठीबेगारी समस्या हल, भ्रष्टाचार निर्मूल, लघु उद्योग तथा औद्योगीकरण गर्ने र त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न शैक्षिक कार्यक्रम, यातायात, स्वास्थ्य आदि क्षेत्रमा व्यापक सुधार गर्ने प्रतिबद्धताका साथ कार्यक्रम सञ्चालन गरिए । यो कुरा तत्कालीन सम्भ्रान्त परिवार र राजनीतिक दललाई पचेन । उनीहरूकै उक्साहटमा तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकार, प्रतिनिधि सभा र सबै प्रजातान्त्रिक अङ्ग भङ्ग गरी तिनीहरूमाथि प्रतिबन्ध लगाई प्रधानमन्त्री, सभामुख, मन्त्रीलागायत नेताहरूलाई गिरफ्तार गर्नुभयो । कतिपय नेताहरू प्रवासमा निर्वासित भए ।  बिपीलाई तीन महिना सिंहदरबार बन्दी र फागुन १६ गते सुन्दरीजलमा सारिएको थियो ।

२०२५ साल कात्तिक महिनामा  बिपीलगायत नेता जेल मुक्त भए । उपचारका लागि भनेर भारत गएका  बिपी  उतै निर्वासित जीवन बिताउन बाध्य भए । यता नेपालमा उनीहरू माथि ज्यान मुद्दा लगाइयो ।

भारतमा निर्वासित जीवन बिताइरहेका  बिपी  कोइराला देशमा सङ्कट आइपर्ने सम्भावना देखिरहनुभएको थियो । किनकि भारतले सिक्किममा अधिकार गरी आफ्नो एक प्रान्त बनाएको थियो, भारत–पाकिस्तान युद्धपछि पूर्वी पाकिस्तान अलग भएर बङ्गलादेश बनिसकेको थियो । दक्षिण एसियाका अन्य देशमा पनि अस्थिरता थियो । इन्दिरा गान्धी नेतृत्वको सरकारले भारतमा इमर्जेन्सी लगाएर नेताहरू पनि असुरक्षित थिए ।

नेपालको राष्ट्रियतामा खतराको सङ्केत थियो त्यसैले  बिपी  कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रका नाममा एक अपिल जारी गर्दै नेपाल फर्कने निर्णय गरेका थिए । शुभचिन्तकले ज्यान जोखिममा नपार्न दिएको सल्लाहको पर्वाह नगरी स्वदेश फर्कने निर्णयमा पुगेका थिए । उहाँको अपिलमा “न पञ्चायतसँग आत्मसमर्पण न त राजासँग सङ्घर्ष बरु राजासँग सहकार्य गरी प्रजातन्त्रको पुनस्र्थापनाको सङ्कल्प गर्नुभएको थियो । आन्दोलनकै माध्यमबाट पञ्चायतको अन्त्यको शङ्खघोस थियो । राष्ट्रिय मेलमिलाप र सङ्घर्षको नीति थियो । लोकतान्त्रिक अधिकार प्राप्तिका सन्दर्भमा  बिपीको यो नीति मुलुककको सार्वभौमिकताको रक्षाका लागि हतियार छोडी जनताका माझमा जानु थियो । एकता, स्वतन्त्रता, अखण्डता र सार्वभौम देश बनाउन भावनात्मक एकताका लागि अपिल थियो । हतियारको राजनीति गलत र जनतालाई एकीकृत गर्न देशभित्रै सङ्घर्षको शङ्खघोष थियो । राष्ट्रिय मेलमिलापबाटै राष्ट्रियता, लोकतन्त्र र आर्थिक समृद्धि गर्ने योजना थियो । उनको भनाइ थियो, ‘राष्ट्र सङ्कटमा परेको बेला स्वदेश फर्कदै छौँ । राजा र जनताले राष्ट्रिय अस्थित्वलाई सर्वोपरि मान्नु पर्छ ।’ राजालाई उहाँको सल्लाह थियो, ‘देश नरहे पनि माटोमा खेती गरेर खाउँला तर देशबिनाको राजा कल्पना गर्न सकिँदैन ।’ प्रजातन्त्रको पुनस्र्थापनाका लागि ज्यानभन्दा ठुलो देश भन्दै स्वदेश फर्कने निधो गरेका थिए । राष्ट्रियताप्रतिको संवेदनशीलता र प्रजातन्त्रप्रतिको प्रतिबद्धता तत्कालीन राजाले बुझेनन् । राजाले जनतासँगको दुरी बढाएकाले राजालाई जनतासमक्ष ल्याउने प्रयास थियो राष्ट्रिय मेलमिलाप ! दृष्टिकोण, सिद्धान्त अडान र कार्यान्वयन  बिपीको आदर्श थियो ।  बिपीले यो नीति लिनुमा विदेशी हस्तछेप रोक्नु, राष्ट्रियताको संरक्षण गर्नु र राष्ट्रिय एकता कायम गर्नु थियो ।

यत्रो शङ्खघोषका साथ राष्ट्रियता सन्दर्भमा राजासँग घाटी जोड्ने र प्रजातन्त्रका लागि देशभित्रै सङ्घर्ष गर्ने अठोट लिएर फर्केका  बिपीलाई नबुझेर तत्कालीन राजा र पञ्चायतपक्षधरले विमानस्थलबाटै पक्राउ गरी पुनः सुन्दरीजल कारागारमा चलान गरे ।

 बिपी  जेलमा रहे पनि सुसुप्त प्रायः भएको कांग्रेसले सञ्जीवनी प्राप्त ग¥यो । त्यसको परिणाम २०३७ सालको जनमत सङ्ग्रहको थियो । यस पटक पनि जालझेलको चक्रव्यूहमा नेपाली जनता परे तर पनि प्रजातन्त्र प्राप्तिको लहरलाई कसैले रोक्न सकेन र २०४६ सालमा प्रजातन्त्रको पुनरुदय भयो ।

यसपछि पनि राजा र जनताको दुरी कम भएन । राजाहरूको फुटाउ र राज गरको नीति कायमै रह्यो । देशमा द्वन्द्वको स्थिति उत्पन्न भयो । राजा वीरेन्द्रको वंशनासबाट पनि नवनियुक्त राजाले चेतेनन् । तत्कालीन राजा ज्ञानेन्द्र झन् जनताबाट टाढा हुनुको परिणाम नेपाली जनता राजसंस्थाप्रति विमुख हुन पुगे ।

बेलाबेलामा राजाले प्रजातन्त्रमाथि प्रहार गरेकाले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला जनताबिचको मेलमिलापबाट मात्र प्रजातन्त्रको स्थायित्व सम्भव छ भन्ने निष्कर्षमा पुगी तत्कालीन माओवादी विद्रोहीसँग हात मिलाउन पुग्नुभयो । त्यति मात्र होइन तत्कालीन सात राजनीतिक दलहरू बिचमा एकता निर्माण गरी माओवादीसँगको सहकार्यमा २०६२/६३ को आन्दोलन भयो । नेपालको संविधान २०७२ जारी भई राजतन्त्रको अन्त्य र सङ्घीय गणतान्त्रिक नेपालको निर्माण भई झन्डै आठ वर्षको अभ्यास पनि भसकेको छ । समावेशिताको चरित्रको संविधानको कारण एकमना सरकार बन्न सकेको छैन । त्यसैले पनि राष्ट्रिय मेलमिलापको आवश्यकता टड्कारो देखिन्छ ।

आज राजतन्त्रको अन्त्य भएको छ राजा र जनताको सम्बन्धको मुद्दा ओझेलमा परेको छ । प्राजातन्त्रको रक्षा र देशको अस्तित्व जोगाउने जिम्मेवारी सबै नेपालीको छ । प्रजातन्त्रका लागि अब लडाइँ गर्न नपरोस तर राष्ट्रिय एकतालाई बलियो बनाउने र देशको विकास गर्ने महान् लक्ष बन्नु पर्छ । मात्र प्रजातन्त्रमा परिष्कारको गुन्जायस रहनु पर्छ । प्रजातन्त्र समय सापेक्ष हुनु पर्छ । किनकि राष्ट्रियताको मियो नै प्रजातन्त्रको धरातल हुन्छ । राष्ट्रिय मेलमिलापको नीति कांग्रेसको एजेन्डा भएकाले पुरानो र ठुलो पार्टीको कारण राष्ट्रिय मेलमिलापको नीतिलाई नेपाली कांग्रेसले एक पटक गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।

साँच्चै  बिपीको मेलमिलापको नीतिलाई साकार पार्ने हो भने हिजोको जस्तो मेलमिलापको सन्दर्भ त आज नहोला तर पनि आन्तरिक लोकतन्त्रमा मेलमिलापको सन्दर्भ टड्कारो देखिन्छ । 

सबैले भन्दछन् कि कांग्रेस एकढिक्का नहुँदा देशले दुःख पायो । कांग्रेस हा¥यो त आफ्नै कारणले । कांग्रेस विखण्डित भयो त आफ्नै कारणले । कांग्रेसले आन्तरिक लोकतन्त्र मजबुत पार्नु पार्छ । लोकतान्त्रिक पार्टी हचुवामा चल्नु हास्यास्पद मानिछ । भाइचारा सुदृढ हुनु पर्छ । भातृ र शुभेच्छुक संस्था गतिशील हुनु पर्छ । ५१ सदस्य रहने ४८ वटा विभागहरू सम्पूर्ण रूपमा क्रियाशील हुनु पर्छ । भनाइ नै छ नि ‘भाइ फुटे गवार लुटे ।’ 

आदर्श, सिद्धान्त, रणनीति तथा कार्यनीति स्पष्ट हुनु पर्छ । सिद्धान्तलाई कार्यान्वयनमा परिणत गर्नु पर्छ । राजनीतिक र आर्थिक एजेन्डा कामयावी हुनु पर्छ । राजनीतिक र आर्थिक नीति समयसापेक्ष नहुँदा युवा पलायन हुने व्रmम रोकिएन ।  बिपीको मेलमिलाप नीतिको त्यसैले पनि अझै सान्दर्भिक छ । 

  

Author

प्राडा शोभाखर कँडेल