• १३ असोज २०८१, आइतबार

‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न

blog

डल्लु, पुस १५ गते। काठमाडौंको डल्लु आवासमा ‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न भएको छ।

शनिबार दिउँसो आयोजित कार्यक्रममा नेपाल भाषाका उदयमान तथा लोकप्रिय गायक तथा गायिकाको प्रस्तुति रहनुका साथै नेवारी सांस्कृतिक समूहको धिमे प्रस्तुतिबाट कार्यक्रम सुरुवात भएको हो।

फनोलोजिक सोलुसन्सका प्रबन्ध निर्देशक रोजल शाहीले महोत्सवको मुख्य उद्देश्य भनेकै नेवार समुदाय, यसको परम्परा र नेवार समुदायमा फस्टाउँदै गएको युवाको संगीतको प्रवर्द्धन गर्नु रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “डल्लु आवास महोत्सव यस शृङ्खलाको पहिलो महोत्सव हो। कलाकारलाई प्रोत्साहन गर्न र नयाँ कलाकारलाई मञ्च उपलब्ध गराउने कार्यक्रम आयोजना गरिएको हो।” 

उहाँले यात्रा जात्राको कार्यक्रमले आगामी दिनमा देशभर विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गर्ने तथा नयाँ प्रतिभालाई प्रस्फुटन गर्ने रहेको बताउनुभयो। 

कार्यक्रममा गायक तथा गायिका उजन शाक्य, रोजमान महर्जन, निशा देशार र निभा डंगोलको प्रस्तुति रहेको थियो। साथै, परम्परागत कुमारी र बज्रयोगिनी नृत्य र हास्य शृङ्खला– धा सा धाल धाइ (नेपाल भाषा युट्युब शृङ्खला) जस्ता प्रस्तुति देखाइएको थियो। 


कार्यक्रममा यःमरी, समयबजी जस्ता नेवारी परिकारका स्टल सहित विभिन्न खाद्य स्टल पनि राखिएको थियो। एकदिने महोत्सवमा गायक कुमा सागर र ख्वपः ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै समापन भएको थियो।

कार्यक्रम फनोलोजिक सोलुसन्ससँगको सहकार्यमा श्री गणेश सामुदायिक विकास सेवाले सो कार्यक्रमको आयोजना गरेको हो।