• २० वैशाख २०८१, बिहिबार

बालकुमारी घटनाको पीडा

blog

केही वर्षयता मुलुकको ठुलो जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने क्रम निरन्तर चलिरहेको छ । सामथ्र्य र पहुँच अनुसारका मुलुकमा गएर पसिना बगाएर उनीहरूले पठाएको धनले परिवारको पालनपोषण गर्ने मात्र नभई देशको अर्थतन्त्रमा समेत भरथेग पुगिरहेको छ । विश्व अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका बाबजुद मुलुकको अर्थतन्त्र धरमर नहुनुका पछाडि रेमिट्यान्स पनि मुख्य आधार भएको आर्थिक विश्लेषकको भनाइलाई नकार्न सकिन्न । वैदेशिक रोजगार कम्पनीहरूका कार्यालयमा लाग्ने गरेको भिड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लाइनले जति नै मन कुँडिए पनि देशमा रोजगारीका अवसरको कमी रहुञ्जेल वैदेशिक रोजगारी बाध्यता जस्तै भइसकेको छ । सुरक्षित र राम्रो आम्दानी हुने भनिएको दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएर पनि उल्झनमा परेका युवा शुक्रबार एकाएक आक्रोशित हुने परिवेश निर्माण भयो । परिस्थिति काबुबाहिर हुँदा तोडफोड नै भयो । ललितपुरको बालकुमारी रणभूमि जस्तै बन्न पुग्यो । भिड नियन्त्रणभन्दा बाहिर गएर आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाउँदा दुई जना युवाको ज्यान गएको छ ।

श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै आक्रोशित भिडले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको हो । गत साउनमा कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कम्पनीमा कामका लागि लिइएको भाषा परीक्षामा सामेल भएका परीक्षार्थीले सो कम्पनीको परिणाम आइनसकेकाले अर्को उत्पादनमूलक रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गर्दै आएका थिए । उक्त परीक्षामा करिब ३२ हजार नेपाली इपिएस अन्तर्गत भाषा परीक्षामा सामेल थिए । त्यसको नतिजा नआउँदै कोरियाले पुनः उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरेको थियो तर साउनको परीक्षामा सहभागी भएकालाई उत्पादनमूलक क्षेत्रको परीक्षाका लागि आवेदन दिन नपाउने भनिएपछि त्यसविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए । निवेदकहरूका पक्षमा अदालतको आदेश आएपछि ग्वार्कोस्थित इपिएस शाखाले उनीहरूलाई आवेदन दिन बोलाएको थियो । अन्यलाई भने इपिएसको मापदण्ड अनुसार तत्काल अर्को परीक्षामा सामेल हुन नमिल्ने भनिएपछि युवा जमात आक्रोशित भएर प्रदर्शनमा उत्रिएको हो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न बल प्रयोग गरेको थियो । परिस्थिति काबुभन्दा बाहिर गएकाले गोली चलाउन बाध्य भएको सुरक्षाकर्मीको भनाइ छ । गोली प्रहारबाट गम्भीर घाइते शाहको पाटन अस्पताल र रावतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

घटनाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुःख व्यक्त गर्दै घटना घट्नुका पछाडि सरकारी पक्षको पनि गल्ती भएको स्वीकार गर्नुभएको छ । घटनाको यथार्थ छानबिन गर्न सरकारले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी तोकिएको छ । समितिले प्रतिवेदन तयार पारेपछि जसको जे जस्तो कमजोरी देखिन्छ, सोही अनुसार सरकारले कारबाही गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको छ । 

प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्विकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख (एसएसपी) सिद्धिविक्रम शाह र इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय तत्काल गर्नुलाई सकारात्मक मानिएको छ । यसै गरी ललितपुर प्रहरीबाट सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।

यसैबिच सरकारले घटनामा निधन भएका दुई जनाका परिवारलाई तत्काल दस/दस लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेर पीडित परिवारलाई सान्त्वना प्रदान गरेको छ । नेतृत्वविहीन भिड एकाएक भड्किएर उत्पन्न विषम परिस्थितिलाई संयमतापूर्वक नियन्त्रण गर्ने कार्यमा सुरक्षाकर्मी एवं जिम्मेवार निकायका तर्फबाट कमजोरी हुन पुग्दा दुःखद घटना हुन पुगेको भन्दै मानव अधिकार आयोगले समेत सरकारको ध्यानाकर्षण गराएको छ । आगामी दिनमा यस किसिमका घटना पुनः दोहोरिन नदिन सबै पक्षबाट संयमता अपनाउँदै कमजोरी सुधार गर्न आवश्यक देखिन्छ ।