मानव समाजमा सूचना सम्प्रेषण र उपभोग हुने तरिकामा क्रान्ति नै आएको छ । सूचनाको प्रकृति, गुणस्तर, विविधता, समावेशिता, वस्तुनिष्ठता जस्ता गुणमा मनग्य विकास गर्न भने अझै निकै मेहनत गर्नुपर्ने छ । आमसञ्चारका माध्यमले परम्परागत र डिजिटल दुवै प्रकारका मञ्च अँगाल्ने हुनाले विकसित बहुपक्षीय मिडिया परिदृश्यमा डिजिटल एवं सामाजिक मिडियाबाट सार्वजनिक हितमा पर्ने प्रभावप्रति समुचित ध्यान अपेक्षित हुन्छ नै ।
डिजिटल मिडियाको अभ्यास पनि मानवीय क्रियाकलाप नै भएकाले मानव अधिकारसम्बन्धी मूलभूत सिद्धान्त यस सम्बन्धमा आकर्षित हुनु स्वाभाविक हो । त्यति मात्र होइन डिजिटल मिडियाको प्रयोगले सार्वजनिक जीवनमा व्यापक र गहिरो प्रभाव पार्ने स्पष्ट देखिएकोले यसको अभ्यासमार्फत जनसमुदायलाई उन्नत र सुसूचित समाज निर्माणतर्फ दिग्दर्शित गर्ने ध्येयसमेत राख्नु आवश्यक छ । यसै सिलसिलामा डिजिटल मिडियाको अभ्यासलाई बहुदृष्टिकोणात्मक ढङ्गले दिग्दर्शित गर्ने खालका केही सैद्धान्तिक पहलुहरूको स्मरण गर्नु उपयोगी ठहर्ने छ । यस सन्दर्भमा आकर्षित हुन सक्ने थुप्रै मिडियासम्बन्धी सिद्धान्त भए पनि यहाँ सामाजिक उत्तरदायित्व, एजेन्डा निर्माण, द्वारपाल, उपभोग तथा सन्तुष्टि, सांस्कृतिक साम्राज्यवाद र उत्तरसत्यसम्बन्धी मिडिया सिद्धान्तको सङ्क्षिप्त चर्चा गरिन्छ ।
नैतिक आचरणयुक्त भएर लोकतन्त्र र मानव अधिकारको परिपालना गर्दै जिम्मेवार अभ्यास गर्न मिडियाको सामाजिक उत्तदायित्वको सिद्धान्तले दिग्दर्शित गर्छ । मिडिया समग्रतामा सामाजिक सम्बन्धलाई अगाडि बढाउने औजार एवं सामूहिक हित प्रवर्धन गर्ने मामला भएकोले यस क्षेत्रले राम्रोलाई पक्षपोषण र खराबलाई निरुत्साहित गर्नु यसको सैद्धान्तिक धरातल हो । बहुलवादी दृष्टिकोण र सामाजिक न्यायको सिद्धान्तलाई अँगालेर संविधान–प्रदत्त स्वतन्त्रताको संवेदनशीलताको साथ सदुपयोग गर्नु मिडिया उत्पादक तथा प्रयोगकर्ताको सामाजिक उत्तरदायित्व हो । सामाजिक उत्तदायित्वको सिद्धान्त अनुसार सार्वजनिक सिद्धान्तको म्यान्डेट अन्तर्गत सत्य र शुद्ध सूचना, विविधताको प्रतिनिधित्व गर्ने सन्तुलित कन्टेन्ट, सामाजिक जवाफदेहिता, नागरिक सहभागिता जस्ता गुणको अवलम्बन गर्नुपर्ने हुन्छ ।
डिजिटल मिडियाको अभ्यास गर्ने क्रममा एजेन्डा सेटिङ सिद्धान्तको उत्तिकै सान्दर्भिकता रहन्छ । यस सिद्धान्त अनुसार मिडियाले जनतालाई के सोच्ने भनेर सिकाउँदैन, बरु केको बारेमा सोच्ने भनेर विषय प्राथमिकीकरण गरेर प्रस्तुत गर्छ । आजकाल सबै पुस्ताले डिजिटल मिडियाको प्रयोग गर्छन् । युवा र किशोर पुस्ताले भने यसको व्यापक प्रयोग गर्छन् । बढीभन्दा बढी अन्वेषण गर्ने, सिक्ने बुझ्ने, आलोचकीय क्षमता र सिर्जनात्मकताको विकास गर्ने विशेषतायुक्त यस उमेर समूहले पछिल्लो समय खास गरी डिजिटल मिडियाका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्छ । यस पुस्ताको वर्तमानमा बन्दै गरेको समग्र दृष्टिकोणले सिङ्गै राष्ट्रलाई घनीभूत रूपमा प्रभावित पार्ने हुँदा डिजिटल मिडियाको कन्टेन्ट सही र समृद्ध हुनु जरुरी छ । विद्यालय तहदेखि नै डिजिटल मिडियासम्बन्धी साक्षरता दिँदै कलिला पुस्तालाई राम्रो कन्टेन्टबारे दिग्दर्शित गर्नु आवश्यक छ । मुख्यतः डिजिटल मिडिया उत्पादकले यससम्बन्धी आफ्नो अन्तर्दृष्टि थप उन्नत पार्नु पर्छ ।
एजेन्डा निर्माणका मुख्यतः तीन स्तर हुन्छन् ः सार्वजनिक एजेन्डा, मिडिया एजेन्डा र नीति एजेन्डा । जनस्तरको एजेन्डा खास गरी मिडिया एजेन्डाबाट प्रभावित हुन्छ । मिडिया एजेन्डा भने मिडिया स्वयम्ले तय गर्ने एजेन्डा हो । मिडियाले आफ्नो सूचना सङ्कलन र विश्लेषणद्वारा एजेन्डा तयार गर्छ । अर्कोतिर, नीति एजेन्डा भने सार्वजनिक एजेन्डा र मिडिया एजेन्डा दुवैबाट प्रभावित भएर नीति निर्माण गर्ने जिम्मेवारी प्राप्त निर्णयकर्ताले निर्धारण गर्छ । यी तीन तहकै एजेन्डा निर्माणमा डिजिटल मिडियाको भूमिका विचारणीय हुन्छ ।
त्यस्तै, परम्परागत मिडियामा प्रयोग हुँदै आएको द्वारपाल सिद्धान्त डिजिटल मिडियाको हकमा पनि निकै सान्दर्भिक छ । सूचनाको छनोट, सम्पादन गर्दै जनसमक्ष के के सम्प्रेषण गर्ने र नगर्ने भन्ने सुझबुझपूर्ण निर्णय लिनुपर्ने दायित्व खास गरी यहाँ आकर्षित हुन्छ । यदाकदा त्रुटि भए पनि प्रायः नेपालका मिडिया क्षेत्रले सामाजिक सद्भाव भड्काउने साम्प्रदायिक हिंसाको प्रयासलाई निष्फल पारिदिने गरेका छन् । यस सन्दर्भमा डिजिटल मिडियाको रूपमा बढी प्रयोगमा आउने सामाजिक सञ्जालका प्रयोगकर्ता धेरै हदसम्म स्वयम् द्वारपालको भूमिकामा रहेको तथ्यमाथि सामाजिक सचेतना फैलाउनु आवश्यक छ ।
डिजिटल मिडियाको सैद्धान्तिक आधारमाथि विचार गर्ने क्रममा प्रयोग र सन्तुष्टिसम्बन्धी मिडिया सिद्धान्तको प्रासङ्गिकता पनि कम छैन । यो सिद्धान्त प्रयोगकर्ता–केन्द्रित छ । यसको अर्को विशेषता विविधता र छनोटको अवसर हो । आवश्यकताबमोजिम मिडिया छनोट गरेर प्रयोग गर्नुपर्ने हुन्छ । डिजिटल मिडियामार्फत सूचनाको बाढी आइरहेको वर्तमान विश्वमा नेपाली मिडिया प्रयोगकर्ताले पनि उद्देश्यमूलक भएर मिडियाको प्रयोग गर्नु आवश्यक छ । नत्र धेरै बेफाइदा पनि हुन सक्छ । सबै कुरा राम्रो पनि हुँदैन । सबै कुरा नराम्रो पनि हुँदैन । यस सिद्धान्तको आँखामा प्रयोगकर्तालाई धेरै स्वतन्त्रता हुन्छ र एक अर्थमा उनीहरू न्यायाधीश जस्तै हुन्छन् । यसबाट नेपाली डिजिटल मिडियाका प्रयोगकर्तालाई मिडिया साक्षरता र सामाजिक विज्ञानद्वारा सशक्तीकरण गर्न कति मेहनत गर्न बाँकी छ भन्ने प्रस्ट हुन्छ ।
नेपाली जनतामाझ डिजिटल मिडियाको प्रयोगलाई थप बल प्रदान गर्न सक्ने अर्को महत्वपूर्ण सिद्धान्त सांस्कृतिक साम्राज्यवादसँग सम्बद्ध छ । शक्तिशाली मुलुकका बहुराष्ट्रिय मिडियाले कमजोर राष्ट्रका संस्कृतिमाथि सांस्कृतिक रूपले गर्ने थिचोमिचोको लेखाजोखा गर्ने सांस्कृतिक साम्राज्यवादसम्बन्धी मिडिया सिद्धान्तले विशेषतः अल्पविकसित मुलुकका मानिसलाई आलोचकीय दृष्टिकोणका साथ सजग रहन मद्दत गर्छ । सत्ताकै रूपमा मिडियाको प्रयोग, सूचनाको असमान प्रवाह, संस्कृतिको एकरूपीकरण, मिडियाको राजनीतिक तथा आर्थिक मकसद, बहुराष्ट्रिय मिडियाको सङ्केन्द्रित स्वामित्व एवं कन्टेन्टमा नियन्त्रण, र आफ्ना सांस्कृतिक पहिचान जोगाउन विभिन्न वैकल्पिक कदमसहित स्थानीय तवरले गर्न सकिने प्रतिरोधलाई यस सिद्धान्तले प्रमुख विषय बनाउँछ ।
डिजिटल मिडियाको सैद्धान्तिक आधारको खोजी गर्दा उत्तर–सत्य सिद्धान्त छुट्याउनै नहुने पक्ष हो । अन्त जस्तै नेपालमा पनि यसको जल्दोबल्दो सान्दर्भिकता छ । जनमत आजकाल वस्तुगत तथ्य र प्रमाणबाट भन्दा भावनात्मक आकर्षण र वैयक्तिक विश्वासद्वारा बढी प्रभावित भइरहेको तर्फ इङ्गित गर्ने यस सिद्धान्तले राम्रो स्तरको मिडिया साक्षरता र नागरिक स्तरमा आलोचनात्मक चिन्तनको माग गर्छ । यसले प्रमुख रूपमा डिजिटल मिडियालाई सम्बोधन गर्छ । अझ सामाजिक सञ्जालका मञ्चहरूबाट फैलने आवेग, अफवाह, अन्धविश्वास, पूर्वाग्रह द्वेष, घृणा, हिंसा जस्ता खतरालाई यस सिद्धान्तले नजिकबाट अवलोकन गर्छ । सूचनाको हेरफेर र मनसायवश सत्यको आवरणमा झुट घोकाउने प्रयास, तथ्य नै पुरिने गरी संवेगमाथि जोड दिने प्रवृत्ति, भ्रामक सूचनाबाट जनसमुदायलाई अन्योलग्रस्त र विभाजित तुल्याउने जस्ता क्रियाकलापप्रति यस सिद्धान्तले सरोकारवाला पक्षको ध्यान आकृष्ट गर्छ ।
यद्यपि, उत्तर–सत्य सिद्धान्तले सूचना तथा सञ्चार प्रविधि–जडित समाजमा बाँच्ने अन्य मुलुकका नागरिकलाई झैँ नेपालीलाई पनि डिजिटल मिडियाको सुझबुझपूर्ण प्रयोगबाट ज्ञान, गुण र विज्ञानबाट मनग्य मात्रामा सुसज्जित हुन्छ । विशेषतः खोज अनुसन्धान गर्न र सूचनाका आधिकारिक स्रोत भेट्नका निम्ति अभूतपूर्व रूपले सहज बनाइदिने डिजिटल मिडियाका सकारात्मक पक्षलाई यथाशक्य सदुपयोग गर्न पट्टि नेपालीको जोड रहनु पर्छ ।
नोबेल पुरस्कार बिजेता प्रसिद्ध लेखक अल्बर्ट क्यामुसको ‘स्वतन्त्रता अझ राम्रो बन्ने अवसरबाहेक केही होइन’ भन्ने भनाइलाई स्मरण गर्ने हो भने डिजिटल मिडियाको अभ्यासको क्रममा बढ्दै गएका विकृति र विसङ्गतिलाई भारी मात्रामा न्यूनीकरण गर्न विद्यमान लोकतान्त्रिक संरचना अन्तर्गतका सरोकारवाला पक्षले लोकतान्त्रिक स्वतन्त्रताको सदुपयोग गर्ने र गर्न सिकाउने जिम्मेवारीलाई जवाफदेहिताका साथ बहन गर्दै डिजिटल मिडियासम्बन्धी बृहत् शिक्षा प्रदान गर्ने नीति अवलम्बन गर्न ढिलाइ गर्न हुन्न ।