हप्तामा तीन वा सोभन्दा कम दिन मात्रै मलोत्सर्ग हुनु, दिसा साह्रो हुनु, मल त्यागका लागि बल गर्नुपर्ने आवश्यकता हुनु र मल त्यागपछि पनि पेट सफा नभएको भान भइरहनु जस्ता लक्षण समूहलाई कब्जियत वा अङ्ग्रेजीमा ‘कन्स्टिपेसन’ भनेर बुझिन्छ । कहिलेकाहीँ लामो समयसम्म मलोत्सर्ग नहुँदा आन्द्रामा मलको सञ्चिति भई एकै पटक पखालाका रूपमा मलको निष्कासन हुने पनि कब्जियतकै कारण हुन सक्दछ । त्यस्तै पेट फुलेको महसुस हुने, पेट दुख्ने, मल त्याग गर्दा मलद्वारमा दुख्ने, घाउ हुने वा रगत देखिने जस्ता लक्षण पनि कब्जियतका कारण देखा पर्न सक्दछ ।
कब्जियत आफैँमा एक स्वतन्त्र रोग हो र अन्य थुप्रै रोगसँग सम्बन्धित लक्षण पनि । आजको समयमा मुख्यतया अस्वस्थकर खानपान, तनाव र निष्क्रिय जीवनशैली नै कब्जियतको प्रमुख कारकका रूपमा देखिएको छ । चिया, कफी, मदिराको अधिक प्रयोग र अप्राकृतिक, पत्रु र प्रशोधित आहारको सेवन कब्जियत रोगको एक मुख्य कारण हो । मस्तिष्क र स्नायुप्रणालीगत रोग वा आघातहरू, अन्तःस्रावी ग्रन्थीहरूको असन्तुलित कार्य, मानसिक समस्या, आन्त्रको हर्निया, अर्बुद रोगलगायत, मधुमेह जस्ता दीर्घ रोगहरू र केही औषधीको दुष्प्रभावले पनि कब्जियत हुन सक्छ । नियमित शौचको बानी नहुनु र मलोत्सर्गको वेगलाई बेवास्ता गर्नु पनि व्यवहारजन्य कब्जियतका कारण हुन् ।
रेचक औषधीहरू
मलोत्सर्ग गराउने प्रकृतिका औषधीलाई रेचक भनिन्छ । यस्ता औषधीलाई अङ्ग्रेजीमा ‘ल्याक्जेटिभ’ भनिन्छ । कार्यको आधारमा रेचक औषधीलाई चार वटा समूहमा वर्गीकृत गरिएको छ, जसमध्ये क्षोभक वा उत्तेजक रेचकले स्नायुलाई उत्तेजित गराई मलोत्सर्ग गराउँछन् । परासरणीय वा ओस्मोटिक रेचक वर्गले आन्त्रमा पानीको मात्रा बढाई मललाई पातलो गरी निष्कासन गर्न मद्दत गर्छन् । मल नरम गराउने वर्गको रेचकले मलको सतहलाई नरम बनाई मलोत्सर्गलाई सहज गराउँदछ ।
त्यस्तै अर्को वर्गका रेचकहरू भने रेसा वा चोकर (फाइबर) हुन् । यस्ता रेचकहरू आन्त्रमा पुगी पानीको अवशोषण गर्छन् र मलको आयतन बढाई आन्त्रमा तनाव सिर्जना हुन्छ । सो तनावको प्रतिक्रियामा आन्त्रमा सङ्कुचन पैदा हुन्छ र मलको विसर्जन हुन्छ । रोगको अवस्था अनुसार चिकित्सकले कुन प्रकारको रेचक कति समय सेवन गर्ने भनेर सुझाव दिने गर्छन् ।
आयुर्वेदमा चिकित्साकर्मलाई शोधन र समन गरी दुई वर्गमा विभाजन गरिएको छ । समन चिकित्सा रोगको प्रत्यक्ष प्रतिकारमा लक्षित चिकित्सा पद्धति हो भने शोधन चिकित्सामा शरीरमा सञ्चित मलको विशोधन प्रमुख लक्ष्य हो । आयुर्वेदको सिद्धान्त अनुसार मलको उचित शोधन भएपछि शरीरको रोग प्रतिरोधात्मक शक्ति बलवान् हुन्छ र समन औषधीको अपेक्षित लाभ प्राप्त हुन्छ । त्यस्तै प्राकृतिक चिकित्साको सिद्धान्त अनुसार पनि शरीरमा मलको सञ्चिति नै रोगको मूल कारणका रूपमा मानिएको छ ।
आयुर्वेदमा पक्वाशयगत मलको विशोधनका लागि थुप्रै औषधी एवं कर्मको वर्णन गरिएको पाइन्छ । राजवृक्ष, हर्रो, बर्रो, निशोथ, सिउँडी, दन्ती, सिन्दुरे, कुटकी, अँडेर, सनइपत्री, इसबगोल जस्ता कैयौँ जडीबुटीहरू रेचन कर्मको प्रयोगका लागि आयुर्वेदमा वर्णन गरिएको छ । त्यस्तै लाङ्गली, आँक, जमालघोटा, रातिगेडी जस्ता विषयुक्त जडीबुटीहरूको र केही क्षार, लवण तथा खनिज पदार्थको प्रयोगका बारेमा पनि उल्लेख भएको पाइन्छ । यस्ता जडीबुटी र खनिजको प्रायोग गरी बनाइने थुप्रै रेचक औषधीको सूत्रहरू आयुर्वेदमा वर्णित छन् । आयुर्वेदको प्रमुख ग्रन्थमध्ये एक मानिने चरक संहितामा मात्रै २४५ वटा विरेचन योगको व्याख्या पाइन्छ ।
आयुर्वेदिक रेचक औषधीहरू तीक्ष्ण, मध्य र अल्पशक्तिवान गरी शक्तिका आधारमा तीन वर्गमा विभाजन गरिएको छ । यी आयुर्वेदिक रेचकलाई आधुनिक वर्गका रेचकसँग तुलना गर्दा अधिकांश औषधी क्षोभक प्रकृतिका रहेको पाइन्छ । यस वर्ग अन्तर्गत अँडेर, निशोथ, सनई पत्री, दन्ती आदि पर्छन् । कुटकी र इसबगोल जस्ता थोरै केही जडीबुटीहरूले आन्त्रलाई उत्तेजित नगरी केवल मललाई नरम गराई विसर्जन गराउने काम गर्दछन् । इसबगोलले मलको सरल विसर्जनमा मात्र नभई मधुमेह, उच्च कोलेस्टे«रोल र मोटोपनका बिरामीलाई पनि फाइदा गर्ने अनुसन्धानहरूले प्रमाणित गरेका छन् ।
प्राकृतिक चिकित्सामा नुनयुक्त जलको पान र इनेमाद्वारा पक्वाशयको शोधन गरिन्छ । यसले परासरणीय वा अस्मोटिक क्रियाबाट मल निष्कासन गर्छ । आयुर्वेदमा इनेमालाई वस्ति चिकित्साका रूपमा वर्णन गरिएको छ । मल शोधनका साथै थुप्रै वात दोषजनित रोगमा तेल वा औषधीको काँढालाई पक्वाशयमा पठाई वस्ति चिकित्सा गरिन्छ ।
शरीरका स्वाभाविक प्रणाली र क्रियाचक्रहरू व्यक्ति–व्यक्ति बिचमा फरक हुन सक्दछन् । पाचन क्रिया र मलोत्सर्गको चक्र पनि व्यक्ति अनुसार फरक पर्दछ । हरेक व्यक्तिलाई अनिवार्य रूपमा दैनिक मलोत्सर्जन हुनै पर्छ भन्ने बुझाइ गलत हो । यसै बुझाइका कारण कतिपय मानिस कब्जियत हटाउने रेचक औषधीको व्यसनमा पर्छन् । एक पटक रेचक औषधीको प्रयोगले पूर्णतया रिक्त भएको पक्वाशयमा पुनः मल सञ्चय भई मलको वेग सिर्जना हुन अर्को दुई वा तीन दिन लाग्न सक्दछ । त्यसबिचको समयमा मलोत्सर्जन नहुँदा धेरै जनालाई कब्जियत भयो भन्ने लाग्न सक्छ र पुनः रेचक औषधीहरूको प्रयोग गर्न पुग्छन् । यसरी शरीरको स्वाभाविक मलोत्सर्गको चक्र नै खलबलिन्छ र मानिस रेचक औषधीको व्यसनमा फस्न पुग्दछन् ।
बजारमा सजिलै उपलब्ध हुने र डाक्टरको प्रेसक्रिप्सनबिना किन्न पाइने हुँदा बिरामी आफैँ त्यस्ता रेचक औषधी किनेर सेवन गर्ने गर्छन् । जडीबुटी औषधीले कुनै दुष्प्रभाव गर्दैन भन्ने गलत बुझाइका कारण रेचक औषधीमध्ये आयुर्वेदिक औषधी बिरामीको पहिलो रोजाइमा पर्छन् । मात्रा र सेवन विधि नमिल्दा आयुर्वेद औषधीले पनि दुष्प्रभाव निम्त्याउन सक्छन् । कुनै आयुर्वेदिक रेचक औषधीमा त विषालु जडीबुटी, क्षार र खनिजसमेत प्रयोग गरिएको हुँदा त्यस्ता रेचकको सेवन चिकित्सकको पूर्वसल्लाह अपरिहार्य हुन्छ ।
बजारमा पाइने धेरै जसो आयुर्वेदिक औषधीमा कुनै एक वर्गका रेचक गण मात्र प्रयोग नभई सबै वर्गका रेचक द्रव्य मिसाइएका हुन्छन् । क्षोभक द्रव्य, लवण र इसबगोल जस्तो मलको आयतन बढाउने प्रकृतिका घटकहरू एकै औषधीमा राखिएको हुन्छ । यसरी तयार गरिएको औषधी तुलनात्मक रूपमा बढी प्रभावकारी हुन्छन् र आधुनिक रेचकको तुलनामा कम हानिकारक मानिन्छन् । बजारमा पाइने कतिपय यस्ता औषधीको लेबल पढ्ने हो भने सनई पत्रीलाई एउटा महत्वपूर्ण घटकका रूपमा प्रयोग गरिएको देखिन्छ ।
सनईलाई अङ्ग्रेजीमा सेना भनेर चिनिन्छ । यसमा पाइने रासायनिक घटकका कारण सनईले आन्त्रको स्नायु र पेशीलाई उत्तेजित गर्छ र मलोत्सर्ग गराउँदछ । यस्ता औषधी चिकित्सक वा स्वास्थ्यकर्मीको निगरानीमा सीमित समय सेवन गर्नका लागि तयार गरिएको हुन्छ । केही अध्ययनले अन्य क्षोभक औषधीको तुलनामा सुरक्षित भनेर उल्लेख गरे पनि लामो प्रयोगले कालान्तरमा आन्त्रको पेशी र स्नायुलाई क्षति पु¥याउन सक्ने तथ्य अन्य अनुसन्धानले स्थापित गरेको भेटिन्छ । यस्ता औषधी नियमित सेवन गर्दा जल वियोजनको असन्तुलन हुने, आन्त्रको पेशी कमजोर हुने, स्नायुमा क्षति पुग्ने र मेलानोसिस कोलाई जस्ता समस्या निम्तिन सक्छन् ।
अँडेरको तेल पनि रेचक औषधीका रूपमा प्रयोग हुँदै आएको क्षोभक वर्गको रेचक हो । यसको दीर्घकालीन प्रयोगले आन्त्रको स्वाभाविक सङ्कुचन र प्रसारण क्रियालाई अवरोध गर्न सक्ने तथ्य स्थापित भएको पाइन्छ । क्षोभक औषधीहरूले आन्त्रलाई उत्तेजित गरी सङ्कुचित गराउँदा प्रतिक्रियास्वरूप महिलाको गर्भाशय पनि सङ्कुचित हुन सक्ने केही अध्ययनले देखाएको छ, जसको कारण गर्भाशयमा पलित गर्भको पतन हुन सक्ने जोखिम रहन्छ ।
घरेलु उपाय
सामान्यतया खानपान र जीवनशैली सुधारबाटै कब्जियतको समस्या समाधान हुन्छ । कुनै रोगको लक्षणका रूपमा भएको कब्जियतको निराकरणका लागि भने सो रोगको उपचार नै प्राथमिक उपाय हो । चिया, कफी र मदिरा जस्ता पेय पदार्थले कब्जियत गराउने हुँदा त्यस्ता पदार्थको कम सेवन गर्नु पर्छ । खानामा जैविक, प्राकृतिक र प्रशस्त रेसायुक्त परिकार संलग्न हुनु पर्छ । आहारमा दैनिक २० ग्राम फाइबरको प्रयोगले कब्जियतको समस्यामा सुधार गर्छ । स्याउ, मेवा, नासपाती, सुन्तला, भुइँकटहर जस्ता फल र हरियो–पहेँलो सागपात र तरकारीले पाचन क्रियालाई चुस्त राख्छन् । त्यस्तै चोकर नाफालिएको अनाज र गेडागुडीले पनि पाचन संयन्त्र सफा राख्न मद्दत गर्छन् । स्वस्थ खानासँगै प्रशस्त पानी वा झोलिलो पदार्थ पनि स्वस्थ पाचनका लागि महत्वपूर्ण हुन्छ ।
शरीर निष्क्रिय रहँदा भित्री अवयवको स्वाभाविक क्रिया पनि निष्क्रिय बन्ने हुन्छ । त्यसैले योगासन, व्यायाम र खेलकुद जस्ता क्रिया स्वस्थ पाचन प्रणालीका लागि अपरिहार्य हुन्छ । साथै पर्याप्त निद्रा र तनाव व्यवस्थापन पनि पाचन प्रणालीसँगै समग्र स्वास्थ्यका लागि हितकारी हुन्छ । मलको वेगलाई बेवास्ता गरी स्थगित गर्ने बानी त्यागी नियमित शौचको बानीको विकास गर्नु कब्जियत हुन नदिने उपाय हो ।
खतराको सङ्केत
प्रायः सामान्य आहार र व्यवहारजन्य कारणले हुने कब्जियत कहिलेकाहीँ भने खतराको लक्षण पनि हुन सक्छ । दीर्घकालसम्म रहिरहने कब्जियत साधारण नभई अन्य कुनै रोगको कारणले पनि भएको हुन सक्छ । अचानक कब्जियत हुनुका साथै पेट दुःख्ने, बान्ता आउने, वाक्वाक् लाग्ने, ज्वरो आउने, अपान वायुको उत्सर्जन नहुने जस्ता लक्षण आन्त्रको अवरोधका कारणले हुन सक्ने भएकाले विलम्ब नगरी चिकित्सकलाई भेट्नु पर्दछ । मलोत्सर्जनका क्रममा दुख्ने, घाउ हुने, रगत आउने जस्ता लक्षण भएमा पनि चिकित्सकको परामर्श लिनु पर्छ । प्रौढ उमेरका व्यक्तिहरूमा मलको अवरोधसँगै असाधारण रूपमा तौल घट्ने, शरीर निकै कमजोर हुने, मल त्यागको समय रगत, सिँगान र पीप जस्तो पदार्थ देखिने आदि लक्षण अर्बुदसँग सम्बन्धित हुने हुँदा यसको बेवास्ता गर्नु हुँदैन ।
बालबालिकामा हुने कब्जियत आन्त्रगत अवरोधसँग संलग्न हुन सक्ने भएकाले चिकित्सकको सल्लाहबमोजिम उपचार अपरिहार्य हुन्छ । गर्भिणी समयमा पनि आफूखुसी औषधी सेवन नगरी चिकित्सकको सल्लाहबमोजिम नै कब्जियतको उपचार गराउनु आमा र बच्चा दुवैका लागि सुरक्षित हुन्छ । लामो समयसम्म कब्जियत भए अन्य जटिलता पनि निम्त्याउन सक्छ । हर्निया, अर्श, गुदभ्रंस, मलद्वारको फिसर, फिस्टुला आदि कब्जियतका कारण निम्तिन सक्ने जटिलता हुन् । साथै रेचक औषधीको व्यसन पनि दीर्घकालीन कब्जियतको उपज हो । स्वस्थकर खानपान र घरेलु उपाय अवलम्बन गर्दा पनि कब्जियतको समस्यामा सुधार हुनुको सट्टा उल्लिखित खतराका सङ्केत वा अन्य अस्वाभाविक लक्षण देखिएमा अविलम्ब स्वास्थ्य संस्थामा जानु पर्छ ।