• ९ मंसिर २०८१, आइतबार

तीव्र गतिमा कृषि अनुसन्धान

blog

धेरै किसानका लागि गोरुले दाइँ गरी धान चुट्ने दिन अब गइसके । एक आपसमा मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज त्यस्तो दृश्य विरलै देख्न पाइन्छ । देशका अधिकांश ठाउँमा पछिल्लो समय धान चुट्न थ्रेसर मेसिन प्रयोग हुन थालेको छ । दाइँ गर्ने मात्र होइन, धान रोप्न र काट्न पनि मेसिन प्रयोग हुन थालेको छ । यसले किसानलाई धेरै सजिलो भएको छ । 

सिरहा नवराजपुरका जागेश्वर यादव भन्नुहुन्छ, “गाउँ छाडेर मानिस वैदेशिक रोजगारीमा वा अध्ययनका लागि सहरबजार गएपछि खेतमा काम गर्ने मजदुर पाइँदैन तर कृषिमा भित्रिएको प्रविधिले यो चिन्ता हटाइदिएको छ ।” धान रोप्नदेखि भित्र्याउनसम्म मेसिन प्रयोग हुन थालेपछि मजदुरको आवश्यकता नै पर्दैन । दाइँको तयारीका लागि पाँच/सात दिनअघिदेखि नै खेतको सबभन्दा ठुलो गरो खुर्केर, लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको सङ्खुवासभा पाँचखपन नगरपालिका–१, ओतेनका भैरवबहादुर थापा पनि बताउनुहुन्छ । 

धानका लागि मात्र होइन, मकै गोड्न, कोदो चुट्न, दुध दुहुन, मकै छोडाउन, धान गोडमेल गर्न, कफीको बोक्रा छोडाउन, बिउ सफा गर्न, गहुँ छर्न, अदुवा सफा गर्न, भुसा काट्न, कृषि उपज सुकाउन पनि विभिन्न प्रविधिको विकास भइसकेको छ, जसले गर्दा किसानलाई खेती गर्न निकै सजिलो भएको छ । त्यसले उत्पादनमा पनि वृद्धि गरेको छ । आलु खन्ने मेसिन पनि आइसकेको छ । यो मेसिनले परम्परागत तरिकाले आलु खन्दा लाग्ने समयमा ६० प्रतिशत र ऊर्जामा ७८ प्रतिशत कम खर्चमा आलु खन्न सकिन्छ । श्रमिक अभावको समस्या समाधान गर्न यो मेसिन आलुमा मात्र होइन, गाँजर, चुकन्दर, मुला खन्नमा पनि प्रयोग भइरहेको छ । 

कफी छोडाउने एइडी कफी पल्पर मेसिन हात र खुट्टा दुवैले चलाउन सकिन्छ । हातले चलाउने मेसिनले एक घण्टामा ५० देखि ६० केजीसम्म कफीको बोक्रा छोडाउन सकिन्छ भने खुट्टाले चलाउने मेसिनले एक घण्टामा एक सयदेखि १२० केजीसम्म बोक्रा छोडाउन सकिन्छ । नार्कले मकै छोडाउने मसिनको विकास गरेको छ, जसले एक घण्टामा १३ किलोदेखि १५ किलोसम्मको मकै छोडाउन सकिन्छ । अर्थात् यी मेसिनले कामलाई निकै नै सहज बनाइदिएका छन् । 

चारपाङ्ग्रे ट्याक्टरबाट चल्ने कल्टिभेटरलाई सुधार गरी उखुमा गोडमेल गर्ने तथा उकेरा लगाउने मेसिनको समेत विकास भएको छ । तरकारी र मकै बाली गोडमेल गर्ने हलुका हाते औजारको पनि विकास भएको छ । तीनपाते सुन्तालाको बिउ निकाल्नका लागि तीन वटा मेसिन विकास भई सफलतापूर्वक परीक्षण पनि सम्पन्न भइसकेको छ । 

के के हुँदै छ ?

गत मङ्सिर ९ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले कृषि वैज्ञानिक सम्मेलन ग¥यो । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकले ११३ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । जलवायुबारे अध्ययन गरी डिजिटल नक्सा तयार गर्नका लागि सार्कका कृषि वैज्ञानिकको सम्मेलन मङ्सिर २४ गते सम्पन्न भयो । सो सम्मेलनले सार्क स्तरमै जलवायुको अवस्था थाहा पाउन डिजिटल नक्सा बनाउने निर्णय गरेको छ । मङ्सिरमै मात्र लम्पिस्किनविरुद्ध खोप तयार गर्ने विषयमा केन्याबाट वैज्ञानिक आएर छलफल गरेका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहकार्यमा १० वर्षभित्रै उच्च पर्वतीय क्षेत्रमा नमुना जिन बैङ्क स्थापना गर्ने भएको छ । नार्कले गहुँ, मकैमा थप अनुसन्धान गर्नका लागि पनि काम गर्ने भएको छ । अर्थात् नार्कले कृषि अनुसन्धानको क्षेत्रमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासको यी केही उदाहरण मात्र हुन् । 

त्यस्तै पशुको नस्ल सुधारका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट १५ वटा मुर्रा जातको भैँसी ल्याएको छ । कोरियाबाट १०१ वटा कोरेली गाई पनि ल्याइएको छ । दुध तथा मासुमा आत्मनिर्भर हुने उद्देश्यले यी गाई र भैँसी नेपाल ल्याइएको हो । नार्कले गाई, भैँसी, बाख्रा र बङ्गुरमा कृत्रिम गर्भधारणको सफल अनुसन्धान गरिरहेको छ । मासुका लागि पालिने पाख्रिबासे कालो बङ्गुर कृषि अनुसन्धान केन्द्र पाख्रिबासले विकास गरिसकेको छ । यसै गरी खरी, सिंहल, तराई बाख्रा र च्याङ्ग्राको नस्ल सुधार गर्न सिफारिस गरिएको छ ।

केही वर्षअघि अस्ट्रेलिया र अफ्रिकाबाट ल्याइएका बोयर जातका बाख्राबाट स्थानीय जातको बाख्राको नस्ल सुधार गर्ने काम अगाडि बढाइएको छ । नार्कले विकास गरेका टर्की, गिरिराज, अस्ट्रोलप, न्यु ह्याम्सैरलगायत कुखुराले छोटो समयमा नै राम्रो उत्पादन दिने तथा प्रतिकूल वातावरणमा पनि हुर्कने हुनाले निकै लोकप्रिय बनेका छन् ।

कुखुराको उत्पादनमा दानाको लागत घटाउने उद्देश्यले कम्फ्रे घाँसको प्रयोग गरिन्छ । यस घाँसको प्रयोगले २० प्रतिशतसम्म कम दाना खुवाएर कुखुरा उत्पादन गर्न सकिन्छ । यो प्रविधिको विकास नार्कले गरेको हो । पशु आहारा अनुसन्धान केन्द्रले लामो समयको अनुसन्धानपछि दुधालु गाईभैँसीका लागि आहारामा अत्यन्तै पोषिलो युरिया मोलासेस मिनरल ब्लक प्रविधिको विकास पनि गरेको छ । कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानले यसको उत्पादन र उत्पादकत्व वृद्धि गरेर समग्र मुलुकको आर्थिक स्तरमा सुधार गर्ने काम पनि गरेको छ । नार्कले कृषि क्षेत्रका विभिन्न पक्षको अध्ययन अनुसन्धान गर्दै त्यसका समस्या पहिचान गरी समाधानको उपायसमेत पत्ता लगाउने गरेको छ । 

ऐनकानुनमा सुधार

कृषिसम्बन्धी नीतिनियम निर्माण र संशोधन गर्न नेपाल सरकारलाई सहयोग गर्ने काम पनि नार्कले गर्दै आएको छ । नार्कको पुनर्संरचना गर्नका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले एउटा कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले मन्त्री भुसाललाई आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ । कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिवको व्यवस्था गर्नुपर्नेलगायतका विषय समेटिएर बुझाएको सो प्रतिवेदन कार्यान्वयन भयो भने कृषि अनुसन्धानको क्षेत्रमा एउटा ठुलो उपलब्धिका रूपमा लिइने विश्वास गरिएको छ । 

नार्क हालसम्म २०४८ सालकै ऐनबाट सञ्चालित भइरहेको छ । सो ऐनलाई संशोधनका लागि नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले कृषिमन्त्री डा. भुसाललाई मस्यौदा बुझाउनुभएको छ । कृषि क्षेत्रको अनुसन्धानका लागि समय सुहाउँदो नीति, ऐन, कानुन हुनुपर्नेमा जोड दिइएको छ र त्यसका लागि काम अगाडि बढेका छन् । नार्कले प्रदेश कृषि अनुसन्धान र समन्वय रणनीतिसमेत तयार गरेर कृषि मन्त्रालयमा बुझाइसकेको छ । त्यसै गरी टीकापुर कैलालीमा बहुआयामिक कृषि अनुसन्धान केन्द्र सञ्चालनका लागि अध्ययनको काम अगाडि बढाइएको छ । 

अनुसन्धानका काम

बाली तथा बागबानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धानलगायत कृषि क्षेत्रको विविध पक्षको अनुसन्धान गर्न केन्द्रीय कार्यालय, अनुसन्धान केन्द्र, बालीवस्तु कार्यक्रम, निर्देशनालय र प्रतिष्ठान गरी देशभर ६२ वटा अनुसन्धान कार्यालय सञ्चालनमा रहेका छन् । कृषिको समग्र विकासका लागि उन्नत प्रविधिको खोज, अनुसन्धान र विकास गरी अनुसन्धानबाट विकसित प्रविधिहरू कृषकको खेतबारीमा पु¥याउनका लागि नार्कले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

नार्कले हालसम्म उच्चतम प्रतिफल दिने विभिन्न बालीका पाँच सयभन्दा बढी जात विकास गरिसकेको छ । नार्कले प्रविधि विस्तार एवं सेवाको सन्दर्भमा स्रोत बिउ, बेर्ना, पाठापाठी आदि उत्पादन तथा वितरण, तालिम सञ्चालन, बाह्य अनुसन्धानबाट प्रविधि प्रमाणीकरण र अन्य आधुनिक प्रविधिको जानकारी दिने कामसमेत गर्दै आएको छ । धानको उत्पादकत्व वृद्धि गर्न राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले सुक्खा, डुबान तथा चिसो सहन सक्ने र बढी उत्पादन दिने ७५ वटा जात उन्मोचन गरेको छ । धानपछि ठुलो हिस्सा ओगटेको बाली मकै हो । मकै बालीको उत्पादकत्व वृद्धिका लागि राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमले हिमाल, पहाड र तराई क्षेत्रका लागि उपयुक्त करिब ४० वटा उन्नत तथा वर्णशङ्कर जात विकास गरेको छ । 

त्यस्तै गहुँको उत्पादकत्व वृद्धि गर्नका लागि राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले तातो सहन सक्ने तथा रोगप्रतिरोधी क्षमता भएका विभिन्न ४० वटाभन्दा बढी जात विकास गरेको छ । यसका साथै गहुँ छर्ने औजारको पनि विकास गरिएको छ । यो प्रविधिबाट गहुँ छर्दा परम्परागत तरिकाभन्दा कम लागत र राम्रो उत्पादन भएको अनुसन्धानबाट देखिएको छ । धान, मकै र गहुँ बालीपछि अन्य खाद्यबालीमा जौ, कोदो, फापर आदि पर्दछन् । 

पहाडी बाली अनुसन्धान कार्यक्रमले जौ, कोदो र फापर बालीको उन्नत प्रविधिको विकास गरी किसानलाई सिफारिस गरेको छ । कोदो, तर्फा ओख्ले, डल्ले, काब्रे कोदो १ र २ र फापरमा मिठे फापर १ सिफारिस गरिएको छ । कोसेबालीमा पनि लामो अनुसन्धानपछि उन्नत प्रविधिको विकास गरेर किसानसमक्ष सिफारिस गरिएको छ ।

कोसेबाली अनुसन्धान कार्यक्रमले मुसुरोको उन्नत जात खजुरा मुसुरो ३ र ४, शीतल, शिखर, सिमल तथा महेश्वर भारती जात सिफारिस गरिएको छ । कल्याण र प्रतीक्षा जस्ता मुँग र कालो मासमा कालु, रामपुर मास र खजुरा मास १ विकास गरिएको छ । भटमासमा लुम्ले भटमास १, तरकारी भटमास १, पुजा, रेन्सोम, कब र सेती जस्ता जात सिफारिस गरिएको छ । चना समुहमा तारा, कालिका, कोसेली, अबरोधी जातको विकास गरिएको छ । 

यसै गरी गाजले बोडी, मालेपाटन १, सूर्य, आकाश र प्रकाश जस्ता बोडीका जात सिफारिस गरिएको छ । तेलहन बालीको उत्पादन बढाउनका लागि रााष्ट्रिय तेलहन बाली अनुसन्धान कार्यक्रमको स्थापना गरिएको छ । सलगम, गाँजर, प्याज, रामतोरिया, तनेबोडी, घ्युसिमी, केराउ, भेडे खुर्सानी, भन्टा, घिरौँला, काँक्रो, स्क्वास फर्सी, स्विस चार्ड, तितेकरेला, पालुँगो तथा रायोका सागलगायतका तरकारीका उन्नत प्रविधि र जातको विकास गर्नुका साथै बागबानी अनुसन्धान कार्यक्रमले रायो, काउली, बन्दा, मुला, टमाटर, बोडी, सिमी, काँक्रो जस्ता तरकारी बालीहरूमा प्लास्टिक टनेल र खुला स्थानमा समेत बाह्रै महिना उत्पादन गर्न सकिने खेती प्रविधिको विकास गरिसकिएको छ । कपिलवस्तुको वाणगङ्गामा न्यानो पानीमा हुने माछा अनुसन्धान कार्यक्रम स्थापनाको कार्यलाई पनि अगाडि बढाइएको छ । 

  

Author

सुरेशकुमार यादव