• १३ असोज २०८१, आइतबार

संवादरहित नाटक ‘गुलाफ’

blog

काठमाडौँ, पुस १३ गते । नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएको छ । मण्डला नाटकघर थापागाउँमा नाटकको वल्र्ड प्रिमियर गरिएको हो । यसपछि यसको युरोपका विभिन्न सहरमा मञ्चन हुने छ ।

विगत २० वर्षभन्दा बढी समयदेखि रङ्गकर्मीमा सक्रिय रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन तर दृश्यले कथा बोल्ने छ । यसको अङ्ग्रेजी नाम ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको छ । नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’ को मञ्च नाटकघरको बिचमा तयार पारिएको छ । मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्ने छन् । ‘गुलाफ’ हेर्न एक सोमा ६४ जनाले मात्र प्रवेश पाउने छन् ।

सिद्धार्थ गौतमले आफ्ना प्रश्नको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ ले आफ्नो विषय बनाएको छ । त्यस चरम पीडा र बिछोडका कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरू, विकारहरू र त्यसले पारेको प्रभाव र परिवर्तनहरू नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस गरिएको छ ।

नाटकमा यशोधराका रूपमा कलाकारहरू दिया मास्के र सरिता साह देखिनुभएको छ । त्यस्तै देव न्यौपानको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्जिता पराजुलीको वेशभूषा, हुम बिसीको मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन रहेको छ । बलबहादुर राई, कपासेली ठिटो, तीर्थ विश्वकर्मा, सस्मिल पुनमगर र इक्सा मादेन लिम्बू सहयोगी छन् । ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड, फुक नोले सहयोग गरेको छ भने नेपालमा एक्टर्स स्टुडियो र थिएटर मल प्रदर्शन सहयोगी छन् ।