• १३ असोज २०८१, आइतबार

मैनालीका तीन कृति सार्वजनिक

blog

वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिँदै ।

काठमाडौँ, पुस १२ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित कार्यव्रmममा वरिष्ठ मूर्तिकार मैनालीका लेखसङ्ग्रह ‘कलाका कुरा’, कविता सङ्ग्रह ‘मेरो कामना’ र ठाकुरप्रसाद मैनालीः सिर्जना र विवेचना’ कृति सार्वजनिक गरिएको हो ।

कलाकार मैनालीको व्यक्तित्व र कृतित्व सम्बन्धमा अन्य लेखकले चर्चा गरिएका लेख ‘सिर्जना र विवेचना’ कृतिमा समेटिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग र नेपाली समसामयिक मूर्तिकार समूह ‘आरम्भ’ द्वारा संयुक्तरुपमा आयोजित कार्यव्रmममा प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तमछाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्र थुम्केली, प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो र वरिष्ठ मूर्तिकार मैनालीले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको थियो । 

कूलपति हार्तमछालीले मूर्तिकार मैनाली जिउँदो पुस्तकका रुपमा रहनुभएको बताउनुभयो ।

उहाँले मूर्तिकार मैनालीको व्यक्तित्व र कृतित्व नेपाली कला इतिहासमा उदाहरणीय रहेको चर्चा गर्दै उहाँका अनुभवलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक कार्य गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यले अघिल्ला पुस्ताको अनुभवलाई समेट्नु पर्छ । त्यसलाई लिपिबद्ध गर्नुपर्छ र आउने पुस्तामा हस्तान्तरण गर्नुपर्छ । मूर्तिकार मैनाली जिउँदो सम्पदा हुनुहुन्छ ।”

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलाका क्षेत्रमा योगदान पु¥याएको पुस्ताको बिरासतलाई जोगाएर लैजान नयाँ पुस्तालाई जोड्दै जान आवश्यक रहेको चर्चा गर्नुभयो ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कला इतिहासका लागि मूर्तिकार मैनालीका पुस्तक दस्तावेजका रुपमा रहने र कलाका नयाँ पुस्ताका लागि बौद्धिक खुराक हुने बताउनुभयो ।