• २० वैशाख २०८१, बिहिबार

ज्येष्ठ नागरिकको सुरक्षा

blog

हाम्रो समाजमा ‘आगो ताप्नु मुढाको, अर्ती सुन्नु बुढाको’ भन्ने लोकोक्ति चलिआएको छ । ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी भएका कारण उनीहरूबाट शिक्षा ग्रहण गरेर पुस्तान्तरणका क्रममा आउँदो पुस्ताले जीवनोपयोगी कार्यमा लगाउन आवश्यक छ भन्ने अभिप्रायले ज्येष्ठ नागरिकलाई सम्मानपूर्ण व्यवहार गर्न यस किसिमले सामाजिक आग्रह गरिएको विदितै हुन्छ । यसै अनुरूप राज्यले पनि ज्येष्ठ नागरिकका लागि विशेष सम्मानपूर्ण व्यवस्था गर्दै आएको छ । २०७७ सालदेखि पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको छ । यस पटक पनि ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ मूल नारासहित बुधबार तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले पनि सन् १९९१ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ । 

त्यसो त कति वर्ष माथिकालाई ज्येष्ठ नागरिकमा गणना गर्ने भन्ने सम्बन्धमा विश्वमा समान अवधारणा पाइँदैन । सम्बन्धित राज्यले नीति निर्माण गरेर आफ्ना देशका नागरिकलाई विशेष व्यवस्था गरेको हुन्छ । सामान्यतः ६० वर्ष माथिकालाई ज्येष्ठ नागरिकको रूपमा गणना गरिने गरेको छ । विश्वको जनसङ्ख्याको १३ प्रतिशत हिस्सा ६० वर्षमाथिको उमेर समूहको रहेको आकडा छ । नेपालमा पनि यो उमेर समूहको जनसङ्ख्या १० प्रतिशतभन्दा माथि रहेको २०७८ सालको जनगणनाले देखाएको छ । पछिल्लो समयमा नेपालीको सरदर आयुमा वृद्धि हुँदै आएको कारण यो उमेरलाई काम गरेर खान सक्ने उमेर नै मान्नुपर्ने हुन्छ । राज्यका कतिपय निकायमा सेवा गर्न पाउने उमेर हद नै ६५ वर्षसम्म तोकिएको छ र उहाँहरूले राज्यलाई आफ्नो ज्ञानसिपले सेवासुविधा पु-याउँदै आउनुभएको छ । 

राज्यका तर्फबाट विशेष सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको उमेरको हकमा भने ६८ वर्ष कायम गरिएको छ । नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यका तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गरे अनुरूप ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको दायित्व राज्यले लिँदै आएको हो । यसै अनुरूप ज्येष्ठ नागरिकसम्बन्धी ऐन नियम तर्जुमा गरिएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नै खडा गरिएको छ । सरकारले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नका लागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिमार्फत कार्य गर्दै आएको छ । देशभरका ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गर्ने, ज्येष्ठ नागरिकसम्बन्धी सचेतना, उहाँहरूमा भएका ज्ञान/सिप हस्तान्तरणका गतिविधि सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक संरक्षणमा विविध कार्य गर्न थालिएका छन् । ज्येष्ठ नागरिकलाई टहल्न पार्क निर्माण, भजन कीर्तन स्थल, स्वास्थ्य केन्द्रलगायतका सुविधाको व्यवस्था हुन अपरिहार्य देखिन आउँछ । केही समयअघि ज्येष्ठ नागरिकमैत्री सेवासुविधाको माग गर्दै लामो समयसम्म सडक आन्दोलनसमेत गरेर सार्वजनिक यातायातमा सिटको आरक्षण तथा भाडामा छुटको व्यवस्था गरिएको भए पनि व्यवहार अझै पनि सहज हुन सकिरहेको छैन ।

केही समययता हाम्रो सामाजिक संरचनामा चलिआएको पुरानो मान्यता भत्किँदै गएको छ । बाबुआमा वृद्ध भएपछि सेवासुश्रुषामा कत्ति पनि कमी हुन नदिइ हेरचाहमा खट्ने छोराछोरीहरू बाबुआमादेखि टाढा हुन थालेका छन् । वैदेशिक रोजगारीमा जाने, अध्ययनका क्रममा विदेश गएर उतै पलायन हुने तथा बाबुआमालाई बेवास्ता गर्ने प्रवृत्तिले ज्येष्ठ नागरिकका दुःख बढिरहेका छन् । स्वदेशमै भएकाहरूले पनि बाबुआमाप्रतिको दायित्व बोध नगरेर अलग भई रमिते बनिदिँदा ज्येष्ठ नागरिकलाई जीवन निर्वाहमा समस्या परिरहेको यथार्थ टड्कारो रूपमा देखिएको छ । यस्तो अवस्थामा राज्यका तर्फबाट लिने दायित्वले मात्रै नपुग्ने स्पष्ट हुन आउँछ । सरकारले विशेष व्यवस्था नै लागु गरेर बाबुआमाको हेरचाहमा सन्तानले अनिवार्य निर्वाह गर्नुपर्ने भूमिकाप्रति सचेत गराउन आवश्यक देखिन्छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले २०५१ सालदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सुरु गरेर यतिबेला ६८ वर्ष माथिकालाई मासिक चार हजार रुपियाँ उपलब्ध गराउँदै आएको विदितै छ । यसरी सबैलाई एउटै उमेर समूहमा राखेर समान रूपमा उपलब्ध गराउँदा वृद्ध तथा अशक्तको हकमा सुरक्षा भत्ताले कुनै किसिमको सघाउ पुग्न नसकेको ज्येष्ठ नागरिक अधिकारकर्मीको भनाइलाई मनन गर्नुपर्ने हुन्छ । उमेर समूह निर्धारण गरेर माथिल्लो उमेर समूहका ज्येष्ठ नागरिकका हकमा राज्यले समुचित ध्यान दिन आवश्यक देखिन्छ । ज्येष्ठ नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक सुरक्षामा राज्य, समाज र परिवारले पर्याप्त ध्यान दिँदा नै सुसभ्य समाज निर्माणमा सघाउ पुग्न सक्ने छ ।