• २० असोज २०८१, आइतबार

स्यार्से कालिका मेला सम्पन्न

blog

मकवानपुरको कैलाश गाउँपालिका-९ नामटारस्थित कालिका मन्दिरमा पूजाआजा गर्दै भक्तजन ।

राममणि दाहाल

हेटौँडा, पुस १० गते । मकवानपुरको नामटारमा स्यार्से कालिका मन्दिरमा लागेको दुई दिने मेला सम्पन्न भएको छ । कैलाश गाउँपालिका-९ नामटारस्थित कालिका मन्दिर परिसरमा सोमबारबाट सुरु भएको मेला मङ्गलबार धान्य पूर्णिमाका दिन कालिका मन्दिरमा पूजाआजासहित पाठीको बली दिएर समापन गरिएको हो । 

पाठीको बली नदिने भक्तजनहरुले नरिवलको बली दिएका थिए । मेलाको पहिलो दिन सोमबार राष्ट्रिय कलाकारहरुको जमघटमा सांस्कृतिक कार्यक्रम भएको स्थानीय रामचन्द्र शिवाकोटीले जानकारी दिनुभयो । उहाँले धान्य पूर्णिमाका दिन कालिका मन्दिरमा पूजाआजासहित मेला भर्न मकवानपुर र आसपासका जिल्लामा ठूलो सङ्ख्यामा भक्तजन आएको बताउनुभयो ।

२०५० सालमा नामटार बजार क्षेत्रमा आएको भिषण बाढीले मन्दिर बगाएपछि बगर बनेको स्थानमा रहेको ढुङ्गालाई स्यार्से कालिका देवी मान्दै पूजाआजा गरिँदै आएको थियो । कैलाश गाउँपालिका-९ वडाध्यक्ष भुवनसिंह घलानले प्रदेश सरकार, गाउँपालिका, वडा कार्यालय र भक्तजनको सहयोगमा निर्माण भईरहेको मन्दिरलाई पूर्णता सहयोगका लागि आग्रह गर्नुभएको छ ।

मन्दिरलाई थप आकर्षक बनाउने सहित मन्दिर आसपासको क्षेत्रको संरक्षणको काम बाँकी छ । २०५० को बाढीले मन्दिर बगाएकै स्थानमा दाताहरुको सहयोगमा ठूलो ढुङ्गामा कालिका र गणेशको मूर्ति कुँदेर गत मङ्सिरमा प्राण प्रतिष्ठा गरिएको थियो ।

नामटारमा रहेको स्यार्से कालिका मन्दिरमा परापूर्व कालदेखि पुजाआजा हुँदै आएको शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार कालिकादेवीको मागेको कुरा पूरा हुने विश्वाससहित पूजाआजा गर्न भक्तजन आउने गरेका छन् । भाकल गरेकाहरु मन्दिरमा धान्यपूर्णिमामा र उक्त समयमा नभ्याउनेहरु चण्डीपूर्णिमा आउने गरेको उहाँले बताउनुभयो ।