नेपाल बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कार र परम्परा रहेको मुलुक हो । १२ औँ राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार यहाँ १४२ वटा जातजाति, १२५ वटा भाषा र १० वटा धर्म चलनचल्तीमा रहेका छन् । यी विविध जातिमा किरात राई समुदायमा नै १३ वटा जाति छन् ।
किरात समुदाय अन्तर्गत राई, लिम्बू, याक्खा र सुनुवारलगायत जाति पर्छन् । किरात समुदायका धर्म, भाषा, चाडपर्व आदि मान्यताहरू फरक–फरक छन् । उनीहरूले वर्षको दुई पटक मान्ने चाडको समय चाहिँ एउटै छ तर चाडको नाम र मान्ने प्रक्रिया भने फरक छ । ती चाडहरू उँधौली, उँभौली, तोषी, स्याँदर, फोलस्याँदर आदि हुन् । यस अनुसार किरात राईहरूले वर्षको दुई पटक ‘दँःवाङ (उँभौली) र दँःदाप (उँधौली) लाई आफ्नो महान् चाडका रूपमा मान्ने गर्छन् ।
उनीहरूको यो चाड कसरी सुरु भयो भन्ने सम्बन्धमा विभिन्न भनाइ पाइन्छन् । एउटा भनाइ अनुसार तायादिनमा मरिसकेको भनिएको किरात पुर्खा खचुलुप्पा र हराएर बेपत्ता भएको मानिएको उनका दिदीहरू तँःमा र खेमा अकल्पनीय ढङ्गबाट भेट भएपछि त्यही भेटको खुसियालीमा यो चाड सुरु भएको हो भन्ने कुबीमी (धामी), तायमी (बुद्धिजीवी), लम्लँमी (अग्रज), नुवामी (जानकार व्यक्ति) हरूको भनाइ छ ।
बालीनाली लगाउने समय वैशाखमा पर्ने चण्डीपूर्णिमामा उँभौली र ती अन्नबाली पाकेर भण्डारण गरिसकेपछि मङ्सिर–पुसतिर पर्ने धान्यपूर्णिमामा उँधौली चाड मनाइन्छ । यो चाडमा केवल मिठो खाने, रमाइलो गर्ने तथा खुसियाली बाँड्ने मात्र नभएर उनीहरूको धार्मिक तथा सांस्कृतिक परम्परामा आधारित रहेको देखिन्छ किनभने यो चाडमा उनीहरूले मुख्य गरी आफ्ना इष्टदेवहरू (तीनचुल्हो, भूमि अर्थात् धर्ती, खोलानाला, हिमाल पहाड, वनजङ्गल आदि) को पूजाअर्चना गरेर विभिन्न आशीर्वाद माग्दै सुरु गर्छन् ।
यो चाड मान्ने प्रक्रिया हेर्दा उँभौली तथा उँधौली पूर्णिमाको एक दिनपहिले प्रत्येक घर–घरमा आफ्ना कुबी/नक्छो (पुजारी÷धामी) हरूद्वारा विधिपूर्वक प्रमुख इष्टदेव तथा पितृ तीनचुल्होको पूजा गर्छन् । सार्वजनिक रूपमा स्थापना गरिएको भूमिथानमा सबै गाउँले भेला भएर इष्टदेव नागनगिनीको पूजा गर्छन् । शुद्ध गाईको दुध चढाउँछन् । अन्य इष्टदेवहरूलाई कुखुरा, परेवालगायत जीवहरूको सामूहिक बलि दिन्छन् । कसैको भाकल भए सोही अनुसार केही बलि दिएर पूजा सम्पन्न गर्छन् ।
यसरी गरिने यो पूजालाई भूमिपूजा पनि भनिन्छ । यसरी उँभौलीको बेला आफ्ना इष्टदेवहरूको पूजाअर्चना गरेर विशेष गरी “हामीले लगाएको अन्नबालीमा उचित वर्षा गराई राम्रो फल लगाइदिनुहोस् र हामीले खाना पाऊँ” भनी पुकार गरिन्छ । उँधौलीमा फेरि तिनै इष्टदेवहरूको पूजा गरेर “हाम्रो पुकार सुनेर समयमा उचित वर्षा गराई हाम्रा बालीनालीमा उचित फल लगाइदिनु भयो र अब हामीले खान पाउने भयौँ” भनी आफ्ना इष्टदेवहरूप्रति कृतज्ञता अर्पण गरिन्छ ।
पूजापछि ढोल, झ्याम्टा बजाएर पूजाथान वरिपरि सामूहिक रूपमा साकेला सिली नाचेर रमाइलो गरिन्छ तर भूमिपूजा गरिएको दिन पूजाथान वरिपरि मात्र सिली नाच्नु पर्छ । नाच्नका लागि जो कोही नभएर सिली गर्न जान्नेहरू विशेष गरी स्त्रीहरू जसलाई ‘मासुमी’ भनिन्छ, मात्र नाच्नु पर्दछ भनिन्छ । पूजाको दोस्रो दिनदेखि भने १०–१५ दिनसम्म आफ्नै वेशभूषामा सजिएर विभिन्न स्थानमा सबै गाउँले एकै ठाउँमा भेला भई ढोल, झ्याम्टा बजाएर भव्य रूपमा साकेला सिली नाचेर रमाइलो गरेर चाडलाई उत्साहका साथ सम्पन्न गर्छन् । यसरी अन्य दिनहरूमा जो कोही पनि इच्छुक व्यक्तिहरू नाच्न सक्छन् । इष्टदेवहरूको पूजाअर्चना गरी ढोल, झ्याम्टा बजाएर सामूहिक साकेला सिली नाचेमा इष्टदेवहरू खुसी हुने विश्वास रहेको पाइन्छ ।
चाडको खुसियालीमा नाचिने साकेला नाचमा अनेक प्रकारको सिलीहरू भए पनि ती सबै सिली आफूखुसी नाच्न पाइँदैन । त्यसैले नाचिने प्रत्येक समूहमा एक जना सिलीहँपा (पुरुष नाचको निर्देशक) र सिलीहँमा (महिला नाचको निर्देशक) छनोट गरिएको हुन्छ । तिनै सिलीहँपा वा सिलीहँमाको साङ्केतिक निर्देशन अनुसार ढोल र झ्याम्टा बजाएर त्यसको तालमा सबै सर्वसाधरण सिली नाच्ने गर्दछन्, जसलाई सिली टिप्ने भनिन्छ । त्यही नाचलाई ‘साखेवा सिली÷साकेला सिली÷साकेन्वा’ आदि नामले चिनिन्छ । कसैले यो नाचलाई चण्डी नाच पनि भन्ने गरेको पाइन्छ तर यो भनाइ गलत हो । हुन सक्छ, उँभौली चाड वैशाखी (चण्डी) पूर्णिमाबाट सुरु हुने भएकाले चण्डी नाच भनिएको होला ।
यसरी वर्षको दुई पटक उँभौलीको समयमा अन्न खेतीपाती लगाउने सिप र उँधौलीमा तिनै अन्न खेतीपातीहरू पाकेर उठाई भण्डारण गर्ने सिपमा आधारित क्रियाकलाप हुन्छन् । यति मात्र नभएर यो चाड प्रकृतिसँग पनि सम्बन्धित देखिन्छ । उँधौली (सूर्य दक्षिणायणको अन्तिम विन्दुबाट उत्तरायण हुने बेला) लागेपछि लेकमा हिउँ पर्ने र चिसो मौसम हुने हुँदा लेकबाट चराचुरुङ्गीलगायत जीव जाडो छल्न बेँसीतिर झर्ने गर्छन् । उँभौली लागेपछि भने गर्मी सुरु हुने हुँदा (सूर्य उत्तरायणको अन्तिम बिन्दुबाट दक्षिणायण हुने बेला) बेँसी झरेका चराचुरुङ्गी तथा अन्य जीव बेँसीको गर्मीबाट बच्न लेकतिर नै फर्कने गर्दछन् । यसै गरी कृषकले पनि आफ्ना गाईवस्तु, भेडा–बाख्राहरूलाई जाडोबाट बचाउन उँधौली चाड मानेर बेँसीतिर झार्ने र गर्मी सुरु भएपछि गर्मीबाट बचाउन उँभौली चाड मानेर लेकतिर नै फर्काउने गर्छन् । यस कारण प्रकृतिवादी किरातहरूको यो चाड प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित देखिन्छ ।
पहिला पहिला गाउँघरतिर मात्र सीमित रहेको यो चाड २०४७ को राजनीतिक परिवर्तनपछि काठमाडौँ उपत्यकालगायत किरात जातिहरूको बसोबास रहेको ठाउँमा समेत भव्य रूपमा मनाइन्छ । उपत्यकाभित्र चाडको पहिलो दिन ललितपुरको हात्तीवनस्थित मन्दिरमा बिहान पूजा गरी दिउँसोको समयमा नक्खिपोटमा साकेला सिली नाचिन्छ । अन्य दिनहरूमा काठमाडौँको टुँडिखेल, शङ्खपार्क, भक्तपुरलगायत विभिन्न ठाउँमा सामूहिक रूपमा भेला भई किरातहरूले साकेला सिली नाचेर भव्य रूपमा चाड मान्ने गरेको देखिन्छ, जसलाई उनीहरूको मौलिक पहिचान जोगाउन केही मात्रमा भए पनि सघाउ पुगेको मान्न सकिन्छ ।
यसरी किरात राई समुदायभित्र प्राचीनकालदेखि स्थापित यो मौलिक चाड हो । यो चाड मात्र होइन, अन्य धर्म, भाषा, संस्कार संस्कृति, प्रथा परम्पराहरू पनि पछिल्लो समयमा आएर विदेशी भाषा, धर्म आदिको प्रभावले गर्दा लोप हुने क्रममा छन्, जुन कुरा कसैका लागि पनि सुखद होइन । यस्ता सांस्कृतिक सम्पदा कसै गरी पनि निर्माण गर्न सकिँदैन । लोप भएपछि सदाका लागि सकिन्छ, फर्केर आउँदैन । यसर्थ यस प्रकारका धार्मिक, भाषिक, सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन गर्नु सम्बन्धित जातिको मात्र नभएर सरोकार राख्ने सबैको जिम्मेवारी हो ।