• २४ वैशाख २०८२, बुधबार

लेकसाइडका सबै तार एक वर्षभित्र भूमिगत

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस ९ गते । पोखरा महानगरपालिका–६, लेकसाइडलाई खुला तारमुक्त बनाइँदै छ। स्ट्रेट नम्बर १५ देखि १७ सम्मका सडक र ठाडो पसल क्षेत्रमा भूमिगत तारका लागि सडक खनेर पाइप राखिसकिएको छ। सँगसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाइना पुलसम्म पनि पाइप राखिएको छ । 

अबको एक वर्षभित्रै लेकसाइडसहित पोखरा महानगरले २६ किलोमिटर तार भूमिगत बनाइसक्ने लक्ष्य छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत पोखरामा शुक्रबारसम्म ३० प्रतिशतभन्दा बढी काम भइसकेको छ । पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोक हुँदै चिप्लेढुङ्गासम्म र जिरो किमीबाट मालेपाटनसम्म तार भूमिगत गरिँदै छ । यसै गरी पृथ्वी चोकबाट सभागृह, सिर्जना चोक, जिरो किमी, हल्लन चोक हुँदै खहरेसम्मका तार भूमिगत बनाइँदै छ । सिर्जना चोकबाट रत्न चोक, राष्ट्र बैङ्क चोक, सहिद चोक हुँदै लेकसाइडसम्मका तार पनि भूमिगत गरिँदै छ । 

विसं २०७८ माघमा यसको ठेक्का लागे पनि १८ महिनापछि मात्र काम सुरु भएको थियो। आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदी आयोजनाको दुईवर्षे म्याद सकिँदासम्म ४० प्रतिशत काम सकिने बताउनुहुन्छ। उहाँले भन्नुभयो, “अब म्याद एक महिना मात्र बाँकी छ । स्थानीयको उचित सहयोग पाए अबको एक वर्षमा तारहरू भूमिगत भइसक्छन् ।” अहिलेसम्म सर्भे, इन्जिनियरिङ र डिजाइनका सबै काम सकिएका छन् । पाइप राखिसकिएका क्षेत्रमा केबुल तान्ने काम दुई हप्ताभित्रै सुरु हुने छ । 

लेकसाइड रहेको पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई भने आयोजनाले समन्वय नगर्दा र काम ढिलो गर्दा समस्या आएको दाबी गर्नुहुन्छ। भट्टराईले भन्नुभयो, “उहाँहरूको समन्वय कम देखियो। हामीले सबै सडक बनाइसकेका छौँ, फेरि खन्नुपर्ने अवस्था आयो ।” 

तर भूमिगत गरेपछि ठाउँ ठाउँमा क्याबिनेट र अरू उपकरण राखिने छन्। तिनै क्याबिनेटबाट उपभोक्ताको घरसम्मै भूमिगत रूपमा तार पु¥याइने छ। विद्युत् लाइनसँगै टेलिफोन, केबुल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइने छ । आयोजना प्रमुख सुवेदीले भन्नुभयो, “विद्युत्सँगै केबुल र दूरसञ्चार सेवाप्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन् ।” यो आयोजनाको पोखरा खण्डको बजेट एक अर्ब ३० करोड रुपियाँ छ । पुरानो पोखराको मुख्य बजार क्षेत्रका तार भूमिगत गर्ने हो भने थप पाँच अर्ब रुपियाँ खर्च हुने अनुमान छ । पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का ९४ हजार ग्राहक छन् । 

सडकमा सकेसम्म कम क्षति नहुने गरी काम भइरहेको छ। भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले यो कामको जिम्मा पाएको छ। सम्भव भएका ठाउँमा होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ (एचडिडी) प्रविधिबाट सडक खनेर तार भूमिगत गरिँदै छ । एचडिडी प्रविधिमा एक ठाउँमा मेसिन प्रयोग गरी २० मिटरदेखि ९०/१०० मिटरसम्म सडक नखनी पाइप हाल्न मिल्छ । टाटा प्रोजेक्ट्सले एचडिडी प्रयोग गरे पनि कडा चट्टान धेरै ठाउँमा आएकाले प्रभावकारी रूपमा काम गर्न कठिनाइ भएको जनाएको छ । भौगर्भिक जटिलताले उपकरण बिग्रिने, मेसिन नै फेर्नुपर्ने अवस्था आएको आयोजना प्रमुख सुवेदीले सुनाउनुभयो । 

तार भूमिगत गरिसक्नेबित्तिकै विद्युत् र अरू सेवा सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ। केबुल, टिभी, इन्टरनेट जस्ता सेवाप्रदायकलाई कसरी यो संरचना उपभोग गर्न दिने भन्ने नियमावली बन्न बाँकी नै छ। यही आयोजनाले बनाएको चितवनको काम भने ६० प्रतिशत सकिएको छ । यहाँको काम भने अबको छ महिनाभित्रै सक्ने लक्ष्य छ ।