नवशिशुको जन्मले कोही कसैको मान, पद, दर्जा र नातामा पदोन्नति भएर बाआमा, बाजेबजैका साइनोमा पुग्दा रहेछन् । अनि कोही आमा त कोही छोरा, कोही मामा भने कोही भान्जा । यस्तै यस्तै एक शिशु जसले धेरै नाता, साइनो र नव परमेश्वरीय प्रतिरूप पनि सगँसँगै ल्याएको हुन्छ । जन्मिएको शुभ खबर फोन, पत्र, एसएमएस, इमेल र मुखले दिन नपाउँदै बधाई र उपहार ढोकैमा आउँदा झन् आश्चर्य र खुसी लाग्छ । साँच्चै भन्ने हो भने सबैको ओठमा मोनालिसाको मुस्कान झैँ छाइरहेको प्रस्ट देखिन्छ । यो खुसी पनि कस्तो–कस्तो हाँस्दाहाँस्दै नयाँ हाँसो सुरु भए जस्तो । अस्ताइसकेको घाम पनि ख्रिस्टको जन्मले फेरि घाम उदाए जस्तो ।
सामान्य अर्थमा ख्रिस्टको जन्मदिनलाई क्रिसमस भनिन्छ । क्रिसमसलाई विशेष गरी बडादिन, जन्मदिवस, नयाँ दिन र जन्मोत्सवको दिन भनेर पनि सम्बोधन गरिन्छ । यो उत्सव डिसेम्बर २५ तारिखका दिन हरेक वर्ष उल्लासका साथ सारा संसारभरि इसाई समाजमा अति नै शान्त, प्रेमिल वातावरणमा मनाइन्छ । परमेश्वरको एक मात्र पुत्र यसुख्रिस्ट हुनुहुन्छ । उहाँको जन्मदिनलाई सम्झेर क्रिसमस ट्री, उपहार र कार्डहरू बजारमा बिक्रीवितरणको साथै सजाउने गरिन्छ । यसुको जन्मसम्बन्धी चलचित्र, नाटक, नृत्य र शुभ सन्देश सुनाएर खुसी भई मिठोमिठो खाना खाइन्छ । यस दिनमा बालबालिकाका लागि सेता, सुनौला र आकर्षक पहिरहन, खेलौना, उपहार तथा आशिष्का लागि परमेश्वरसँग प्रार्थना गरिन्छ । यसको प्रतिउत्तरमा नानीहरूले पनि विभिन्न आकर्षणयुक्त प्रतिभा प्रर्दशन गरेर जन्मदिवसलाई रमझम थप्ने काम गर्छन् । एउटा भनाइ छ, ‘यो दिन सबै जना खुसी हुनु पर्छ किनभने विश्वले पनि आफ्नो हाँसो थाम्न नसकेर तिमीलाई पैँचो दिँदै छ ।’
सहरी क्षेत्रमा ख्रिस्ट र क्रिसमसका अर्थ थाहा नपाउनेहरूले होटल र रेष्टुराँमा हातैपिच्छे वियरको बोतल लिएर, अर्धनग्न पारदर्शी पहिरहनमा गाना र डिस्कोमा रक्सीले मातेर, होहल्ला गर्दै मोटरबाइक र कारहरू बेपत्तासँग हाँक्दै क्रिसमस मनाउँछन् तर यो त क्रिसमसको नाममा विकृति र छाडा प्रवृत्ति मात्र हो । बाइबलमा यशैया र मिका अगमबक्ताले “ख्रिस्ट एक कन्याबाट, यहुदाको कुलमा र इजरायल देशको बेथलहेम भन्ने ठाउँमा जन्मनु हुने ।” भन्ने भविष्यवाणी उहाँ जन्मनुभन्दा सात सय वर्षअघि गर्नुभएको थियो । सात सय वर्षपहिला भनेको कुराको प्रतीक्षा गरिरहेका ज्योतिषीहरूले आकाशमा एउटा चम्किलो तारा देखे । त्यही तारा बालक यसुख्रिस्ट जन्मिएको ठाउँमा पुगेर अडियो । ज्योतिषीहरू हर्षले रमाए र घरभित्र पसेर तिनीहरूले यसुलाई दण्डवत् गरे । अनि आफ्ना कन्तुर खोलेर बालक यसुलाई सुन, धुप र मूर्रको उपहार चढाए । यसुख्रिस्ट सारा मानवजातिको मुक्तिदाता हुनुहुन्छ किनकि उहाँ मानव सहवासबाट जन्मनुभएन । उहाँ त केवल पवित्र आत्माबाट कन्या मरियमबाट जन्मनुभयो । कन्याबाट जन्मने कुरा सयौँ वर्षअघिदेखि भविष्यवाणी भएको थियो र सोही अनुरूप ऐतिहासिक रूपमा पूरा भयो । कन्याद्वारा जन्मनुको उद्देश्य चाहिँ यही हो कि परमेश्वरलाई प्रकट गर्नु, मानिस र परमेश्वरबिचको खाल्डोमा साँघु बन्नु, मानिसलाई बचाउनु र उद्धार गर्नु ।
इजरायल देशको जेरुसलेम सहरको बेथलहेम गाउँमा इसापूर्व ०४ मा यसुको जन्म भएको थियो । सोही दिनदेखि क्रिसमस सुरु भएको हो । सामान्य अर्थमा ख्रिस्टको जन्मदिनलाई बडादिन अर्थात् क्रिसमस भनिन्छ । क्रिसमसलाई विशेष गरी बडादिन, जन्मदिवस, नयाँदिन र जन्मोत्सवको दिन भनेर पनि सम्बोधन गरिन्छ । क्रिसमस र नववर्षको सबभन्दा बहुमूल्य उपहार यसु स्वयम् हुनुहुन्छ । क्रिसमस यसुख्रिस्टको जन्मदेखि नै सुरु भए पनि विश्वभर भने क्रिसमस मनाउने चलन विभिन्न समयमा भएको थियो । सन् २७४ को डिसेम्बर २५ मा रोमी सम्राट औरेलियनले सूर्य जन्मेको दिन मनाउनु पर्छ भनी घोषणा गरेका थिए । सन् ३२० को डिसेम्बर २५ मा पोप जुलियस प्रथमले ख्रिस्टको जन्मदिन मनाउनु पर्छ भनेर सर्वप्रथम आवाज उठाएका थिए । सन् ३२५ को डिसेम्बर २५ मा रोमी सम्राट कन्स्टन्टाइनले ख्रिस्टको जन्म दिन मनाउनु पर्छ भनी आरम्भ गरेका थिए । उनी रोमी सम्राट्हरूमा पहिलो ख्रिस्टियन थिए । सन् ३५४ को डिसेम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रिस्टको जन्म दिन मनाउनु पर्ने व्यवस्था बनाएका थिए ।
क्रिसमस ट्री को चलन
क्रिसमस रुखको सुरुवात जर्मनी देशबाट भएको हो । मध्यकालमा क्रिसमस रुखमा स्याउ झुन्ड्याएर आदम र हव्वाको नाटक देखाउँथे । सनोवर रुख (फाएर ट्री) सधैँ हरियो हुने भएकाले स्वर्गको रुख (प्याराडाइज ट्री) जुन अदनको बगैँचाको चिह्नको रूपमा लिइन्थ्यो । जर्मनहरूले डिसेम्बर २४ का दिन आदम र हव्वाको चाडस्वरूप आआफ्नो घरमा सनोवर रुख सजाउँथे । क्रिसमसको समयमा उनीहरूले काठको तीनकुने पिरामिड आकार बनाइ क्रिसमसका वस्तुहरू जस्तै ताराहरू, चकलेट आदिले सजाउँथे । १६ औ शताब्दीमा क्रिसमसको पिरामिड आकार र सनोवर रुख एकै ठाउँमा मिसाएर व्रिmसमस रुख (व्रिmसमस ट्री) बनाइ सजाउने चलन आयो । यो चलन जर्मनहरूमा निकै प्रख्यात भयो । १९ आँै शताब्दीको सुरुमा क्रिसमस रुखको चलन बेलायतमा पनि फैलियो र साथै अमेरिकामा पनि फैलियो । विश्वमा सबभन्दा बढी क्यानडामा क्रिसमस रुखको कारोबार हुन्छ ।
सान्टा क्लस
सान्टा क्लसको सुरुवात माइरा (अहिले टर्कीमा पर्छ) का विशप सन्ट निकोलसबाट भएको मानिन्छ । उनी चौथो शताब्दीका हुन् । उनी प्रायः रातको समयमा दुःखी र गरिब केटाकेटीलाई उपहारहरू बाँड्न जान्थे रे । उनको मृत्युपछि उनलाई माइरामा गाडियो तर सन् १०८७ मा उनको अस्तु इटालीका व्यापारीहरूले माइराबाट चोरेर आफ्नो देश ल्याए, जसले गर्दा उनको ख्याति युरोपभरि फैलियो । युरोपका धेरै क्याथोलिक मण्डलीहरूले उनलाई आदर गरी उनकै नाउँमा कैयौँ मण्डली स्थापना गरे । यसै क्रममा सन्ट निकोलससम्बन्धी कैयाँै दन्त्य कथा पनि सिर्जना गरे । सन्ट निकोलस जो सबैभन्दा कम १७ वर्षकै उमेरमा विशप बनेका थिए । १६ औँ शताब्दीको सुधारको समयपछि सबै प्रोटेस्टेन्ट मण्डली भएका देशहरूबाट सन्ट निकोलसको कथा हराएर गए पनि हल्यान्डमा भने सिन्टरक्लासको नाममा कायम नै रह्यो । सन्ट निकोलसलाई डचहरूले १७ आँै शताब्दीमा आफ्नो नयाँ उपनिवेश न्यु आम्सटर्डम अहिलको न्यु योर्कमा पनि सँगै लिएर गए । सन् १८७० मा अमेरिकी चित्रकार (कार्टुनिस्ट) थोमस नास्टले पहिलो पटक क्रिसमस बाजेको नक्सा उतारेका थिए । क्रिसमस बाजेलाई बेलायतमा फादर क्रिसमस, अमेरिकामा सान्टा क्लस र फ्रान्समा पेरे नोएल भनिन्छ । त्यहाँ सिन्टरक्लासका कथालाई खराब बालकलाई दण्ड र असल बालकलाई उपहार दिने व्यक्तिको दन्त्यकथामा परिणत गरे । परिणामस्वरूप अमेरिकामा सिन्टरक्लास सान्टा क्लसको नाममा परिणत भई प्रख्यात भयो तर क्रिसमसमा यसुलाई नै बढी प्राथमिकता दिनु पर्छ ।
पहिलो क्रिसमस कार्ड
विश्वमा नै पहिलो पटक क्रिसमस कार्डको बिक्री वितरण सन् १८४३ मा भएको थियो । त्यस समय एक हजारप्रति कार्ड छापिएका थिए । त्यस कार्डको डिजाइन जोन कलकटले गरेका थिए । वास्तवमा उनले कार्डलाई बिक्री वितरणमा ल्याउन तीन वर्षअघि अर्थात् सन् १८४० मा नै डिजाइन गरिसकेका थिए । हाल विश्व बजारमा विभिन्न आकार प्रकारमा कार्डहरू पाइन्छ ।