• १२ पुस २०८१, शुक्रबार

विज्ञान र पुस्तान्तरण

blog

आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा भने न ज्ञान थियो न त विज्ञान नै । ज्ञान अवश्य थियो तर त्यो थियो परम्परित, धमिलो ज्ञान मात्र । विज्ञानले हाम्रो घरमा अझै प्रवेश पाएको थिएन । आमाको गर्भबाट सहज निकास पाएर मैले संसार हेर्ने अवसर पाएँ । कति त्यस्ता गर्भवतीहरूको दुःखद कथाले हामीलाई आहत गरिरहेकै छ जो प्रसूति हुन नसकेर अथवा भारी रक्तस्राव भएर मृत्युको सिकार हुन पुगेका छन् । अहिले समय निकै बदलिएको छ । मैले सानो, पहाडी, एकतले घरबाटै जीवनयात्रा सुरु गरेँ जब कि मेरा दुई नातिले गर्भदेखि नै चिकित्सकको परामर्शका साथ अस्पतालमा आँखा खोले । मेरा छोराहरू भने अर्धवैज्ञानिक परिवेशमा हुर्केका हुन् । पुस्तान्तरण कसरी पृथक् हुँदै जान्छ भन्ने विषयले हाम्रो जिज्ञासालाई तानिहाल्छ । 

प्रकृतिको काख र आमाको काखमा मलाई पृथक्ताको बोध भएन । झारपातमा लुटपुटिँदा म परमानन्दको अनुभव गर्थें । गाई चराउने गोठालाले मलाई आपूmसँगै चौरमा सुताएका छन् । पशुलाई ल्याएको स्याउलामा सुतेर निदाउँदा आमाले मलाई धेरै बेर खोज्नु परेको थियो । धेरै पहिला हात्तीमा चढ्दा मैले जुन मजाको अनुभव गरेँ त्यो अहिले गाडीबाट मलाई प्राप्त हुँदैन । हात्तीले मलाई धर्तीको अवलोकन गर्ने जुन अवसर दियो त्यस बखत मलाई लाग्यो कि नदीको भेल छाँगो भएर खसे झैँ संसारको आनन्द सोहोरिएर ममाथि नै खस्दै छ । अहिले त गाडी चढ्नु भनेको सद्दे फर्कन सकिन्छ कि सकिँदैन भनेर चिन्ताको बोझले थिचिँदै आधा मासु भएर प्रस्थान गर्नु हो । त्यसबाट मोटाहरूलाई त फाइदै होला, दुब्लाहरू भने तौल घटेर केही दिन ओछ्यानै पर्न जालान् । 

झाडीभित्र छिरेर, रुखको छहारीमा बसेर मेरा कैयौँ घडी बितेका छन् । वर्षायाममा रुखमुनि बस्दा तपतप झरेको पानीले पखालिएर म चोखो भएको छु । खेतालासित सहभागी भएर गोडेका कोदा र धानका बालाहरूले शरद्मा मलाई बोलाउँथे र जिस्क्याउँथे । बाला लागेका कोदा र धानका बारी र खेतहरूमा हररर्र बास्ना चल्थ्यो । ओभानो बारीमा बसेर फलेका कोदाको बास्ना लिँदै हामीले साँधेको निबुवा खाएका छौँ जहाँ दिदी र आमाहरू दुःखसुखका कुरा गर्नुहुन्थ्यो र जीवनको निस्सारतासम्म पुग्नुहुन्थ्यो :

दुई दिनको जिन्दगी यो कति पो बाँच्नु छ र !

हाँसेर बाचौँ, नाचेर बाचौँ, लैजानु के छ र !

त्यस बखत आमाले गाउनुभएको यो गीत मेरो मनबाट अझै हट्न सकेको छैन । मुड्के र चौँरे दुईथरी कोदाका बालाहरू हाम्रो बारीमा झुल्थे । कालोकाठे, कृष्णभोग, मनभोग र मसिनो नामले चिनिने धान फलेर काटेपछि बिटा लगाएर दाइँ गर्दा खेतको रमझममा हामी डुब्थ्यौँ । बाध्यता नभए पनि खेतालाहरूको काम हेर्न, उनीहरूका निम्ति पानी र खाजाहरू लैजान कहिलेकाहीँ म खटिन्थेँ । उनीहरू मलाई तान्थे, म उनीहरूसितै काम गर्दा रमाउँथेँ । खेतालामा केही तरुनातन्नेरी पनि हुन्थे जो मिठो गाउँथे र वातावरणलाई बाफिलो पार्थे । मकैका टुप्पा काट्ने, पात लाछ्ने, केही पछि घोगा भाँच्ने र ढोड काट्ने काममा पनि मैले अल्छी गरिनँ । काटेका नलका धान, गहुँ र मकैका ठुटाहरू बिझेर मलाई धुरुक्क रुवाउँथे । जाडो याममा बटुलेका ढोड र बाँसका खबटाहरू बालेर हामी ताप्ने गथ्र्यौं । 

१९९६ सालमा पिताश्रीको परिवार छुट्टिएर चाहिने डाँडाबाट सिँपाने डाँडामा सरेछ । उसै साल साहिँली दिदीको जन्म भएको रे । पण्डितलाई सुहाउने गरी त्यहाँ चारपाखे, सानो, एकतले घर खडा भयो जहाँ हामी जन्म्यौँ र हुक्र्यौं । पछि जस्ता लगाएको तीनतले घर बनाइयो र केहीपछि जस्ता हटाई ढुङ्गाको छाना लगाइयो । अहिले त्यस्तो पक्की घरका बार्दलीका काठहरू सब बेचिएछन् । अग्लो दुईपाखे त्यो घर भूकम्पमा आधा चिरिएर टुलुटुलु हेरिरहेछ । 

त्यहाँ आएपछि पिताश्रीले घरबारीको छेउमा लहरै काप्राका रुख लगाउनुभएछ जो हाम्रा घरका चहलपहलको जानकारी लिँदै पहरेदारी गर्थे । पहिरो जानबाट जोगाएर तिनीहरू अहिलेसम्म बिनातलब सुरक्षागार्डको काम गरिरहेकै छन् । ठुलो वर्षा हुँदा दक्षिणतिरको बाँझो चौर चक्र्यो र पुछारमा पहिरो गयो तर पिताश्रीको बुद्धिमत्ताले सिँपाने डाँडो अहिलेसम्म सुरक्षित इतिहास भनिरहेछ । घरबारीमुनि सानो खोरियो थियो, जसलाई पुछारमा उम्रेका चिलाउनेका बोटहरूले जोगाइराखेका छन् । त्यहाँ माहिला मिजार घैया लाउँथे र भविष्यको सानो घरायसी सपना पूरा गर्थे । घरमुनि एउटा ठुलो पाटो थियो जसलाई हामी तोरीको पाटो भन्ने गथ्र्यौं जहाँ तोरी फुलेर शरद्को शोभामा पहेँलो रङ थपिन्थ्यो । त्यसको उत्तरतिर टटेलाका रुखहरू थिए, दक्षिणतिर कुटमिराका रुखहरू । घरपछाडि गाईवस्तुलाई घाँस हुने ठुलो खिर्राको रुख थियो जसको मुन्तिर कोदो चुट्ने खलो बनाइन्थ्यो र नजिकै जाडामा गाईभैँसीहरू सारिन्थे । त्यहीँनेर पिताश्री भुइँमाच बनाउनुहुन्थ्यो जहाँ हामी सानो छँदा लुकामारी खेल्ने गथ्र्यौं । 

तोरीपाटोभन्दा तल एउटा डुम्रीको बोट थियो जसका पाकेका, पहेँला फलमा नयाँ वर्षका ध्वनि गुँज्दथे । केही झुकेको डुम्रीको बोट माताश्रीले गर्ने कामको लेखाजोखा राख्दै नयाँ हौसला प्रदान गथ्र्यो । काम गर्दागर्दै थाकेर उहाँ त्यसकै छहारीको शीतल लिँदै कृतज्ञता प्रदान गर्नुहुन्थ्यो । हरएक वर्ष त्यसमुनिको एउटा पाटामा उहाँ अमिलीका बीज छर्नुहुन्थ्यो जसका हाँगा चारैतिर फाट्थे र ससाना गुच्छा फलेर लटरम्म हुन्थे । प्याजी रङका अमिलीका केस्राहरू अचारलाई नयाँ स्वादमा ढाल्थे । आमा कतै खेसरी लगाउनुहुन्थ्यो,  कतै बदाम र कतै गहत । मास र भटमासहरू खेतका आलीमा धानका मित्र भएर झुल्दथे । वर्षायाममा घरवरिपरि थाँव्रmाहरूमा घिरौँला, चिचिन्डा र करेलाहरू फल्दथे, तल भुइँमा फर्सीका लहराहरू घुम्दथे । हिउँदमा वस्तुको मल पल्टाएर सागपात लगाइन्थ्यो । कतै खुर्सानी फल्दथे, कतै अदुवा, बेसार र केराका पातहरू रमाउँथे । 

घरबारीसँगै गाँसिएका माथ्लो र तल्लो मलेखोलो हाम्रा निम्ति जीवनदायी कृषि क्षेत्र थिए जहाँ मकै, कोदो, पिँडालुहरू लगाइन्थे र हामीलाई अन्नपातको अभावबाट बचाउँथे । शरद् ऋतुमा ती रसिला क्षेत्रहरू कान्लाभर कात्तिके बोडी फलाएर हाम्रो खाद्य कौतुकका साथ सौन्दर्यभाव जगाउँथे । लहरै विभिन्नथरी रुख उमारेर आपैmँ प्रकृतिले बारीलाई लड्नबाट जोगाएको थियो । हाम्रै बारीको पुछारबाट त्यस भेगको मूल बाटो हिँड्थ्यो । गैराबारीको कथा बेग्लै छ जसको पुछारमा पानीको धारो थियो र त्यसमाथि ठुलो साजको रुख थियो र अझमाथि लटरम्म फलेको अम्बाको बोटले हामीलाई भदौताक लोभ्याउने गथ्र्यो । बारीको सिरानमा अग्ला कोइरालाका बोटहरू थिए जसमाथि पिताश्री चढ्नुहुन्थ्यो र फूलैफूलले भरिएका हाँगाहरू काटेर खसालिदिनुहुन्थ्यो । पहिल्यै खबर गरिएका गाउँलेहरू हस्याङफस्याङ गर्र्दै फूल टिप्तथे र अपूर्व औषधी मानेर घर लैजान्थे । गैराबारीमा र घरबारीमा बाँसका ठुला झाङ थिए जसबाट हामीलाई र गाउँलेलाई ठुलो सुविधा प्राप्त भएको थियो । काप्राका हाँगाहरू काटेर घर ल्याई छिमलेपछि हामीहरू पाट झिक्तथ्यौँ जसका डोरी र दाम्लाहरू बलिया हुन्थे । हाम्रा खेत प्रशस्त थिए । डिही, मुलाबारी, बियाड सोतो, रैकर, फेदी, फलाँटे, लामाचिरा जस्ता खेतका धेरै कथा अहिले नबढाऔँ । 

मैले नाङ्गा खुट्टाले नै बाल्यकाल बिताएँ जब कि मेरा नातिहरूले जन्मदेखि नै मोजा र जुत्ता पाए । सानो छँदा मलाई आमाले दौरा लगाइदिनुहुन्थ्यो र केश बाटिदिनुहुन्थ्यो । मेरा नातिहरू न्याना, नयाँ कपडा लाउँछन् । मेरा नातिहरूले भुइँमा टेकेनन्, कार्पेटमाथि ओछ्याएका गलैँचामाथि टेक्तै ओहोरदोहोर गरे । गुन्द्रीमै सुतेर मैले निद्रा पाएको छु जब कि नातिहरू बाक्ला ओछ्यानमा सुत्छन् । 

अहिले आमाहरू शिशुलाई शौच गराउने झन्झट बेहोर्दैनन् । डाइपरले त्यसलाई सहजता दिन्छ । सक्ने भएपछि तिनीहरू कमोडमा बस्छन् । बिरालाका, कुकुरका बच्चाहरूले मलाई खेल्न घच्घच्याउँथे । आफ्ना छाउरालाई स्तनपान गराउँदै माउहरू मसित खानाको याचना गर्थे । म भित्रबाट ल्याएर तिनीहरूलाई खाना दिन्थेँ, तिनीहरू मलाई सधैँ पछ्याउँथे । कुकुर त यति कृतज्ञ हुन्थ्यो कि आफ्ना बच्चाहरूलाई छाडेर पुच्छर हल्लाउँदै विनम्रतापूर्वक मेरो पछि लाग्थ्यो । अहिलेका बालकहरू प्लास्टिकका र अन्य वस्तुका जनावरसित खेल्छन्, मोबाइलमा विभिन्नथरी प्राणीहरूका व्यवहार हेरेर समय काट्छन् । हात र गोडाका काम मेसिनले, कलकारखानाले अतिसूक्ष्मताका साथ गर्न थाले । 

पिताश्री ज्ञानलाई उच्च मान्नुहुन्थ्यो र विज्ञानलाई त्यसको सहायकका रूपमा बुझ्नुहुन्थ्यो । ज्ञानको सम्बन्ध आत्मासित भएकाले त्यसको काम मोक्ष दिनु हो, त्यस व्रिmयामा भौतिक सुविधा जुटाउने काम विज्ञानले गर्दछ । मोक्ष दिने ज्ञानदेखि बाहेक अरू ज्ञान जीवनोपयोगी ज्ञान हुन् भन्ने पिताश्रीको बुझाइ हो । जुन ज्ञान ज्ञानका निम्ति हासिल गरिन्छ त्यो ज्ञान भने तात्कालिक उपयोगिताबाट निरपेक्ष रहन्छ । प्रकृतिको रहस्य बुझ्ने प्रयत्न गर्दा प्रायः वैज्ञानिकहरू आफूलाई निस्सङ्ग राख्छन् । 

परीक्षणबाट प्राप्त अचूक ज्ञान विज्ञान हो । विज्ञानले मान्छेको बुद्धिलाई खा¥यो र उसलाई अन्धविश्वासबाट मुक्त ग¥यो । आजको मान्छे वैज्ञानिक स्वभाव विकसित गर्न चाहन्छ र मनगढन्त कुराको हँस्सी उडाउँछ । स्वर्ग, नरक, परलोक, पुनर्जन्म, देवता, दानव आदि कुरा इन्द्रियगम्य नभएकाले वैज्ञानिक प्रकृतिको समर्थनमा पर्दैनन् । तर पनि कैयौँ मान्छे धार्मिक र आध्यात्मिक मनको सन्तुष्टिका निम्ति त्यस्ता कतिपय अगम्य विषयलाई पनि प्रश्रय दिँदै आएका छन् । 

बजारको बाढीले मेरा नातिहरूलाई त बगायो, बगायो, म आपैmँ पनि त्यस बाढीबाट अछूत रहन सकिनँ । लवाइमा म त टाटेपाटे भएको छु– केही पुरानै र केही नितान्त आजको । बानी पर्दै गएपछि फास्टफुडमा पनि स्वाद आउँदो रहेछ । दिन काट्न गाह्रो हुँदा मोबाइलले मलाई फसाइरहेछ । मोबाइल लागुपदार्थकै दोस्रो नाम हुनगयो । मोबाइलले हल्लाउँछ, हसाउँछ, रुवाउँछ र आखिर थला पारिदिन्छ । सञ्जाल (नेट) ले संसारलाई गाँसिदियो, कम्प्युटर विश्वज्ञानको रङ्गमञ्च । डिजिटलीकृत अखाडामा पसेर म निस्सासिइरहेछु र रोइरहेछु जब कि मेरा नातिहरू त्यस्तो निरर्थकतामा सत्यको साक्षात्कार गरे झैँ नाचिरहेछन् ! छोराहरू चेपमा छन् । ती न मतिर फर्कन सक्छन् न त आफ्ना छोराहरूको पछि लाग्न नै सक्छन् । अतीत र भविष्यको दोसाँधमा उभिएर यता र उता हेर्दाहेर्दै उनीहरू पनि परिवर्तनको कटु सत्यलाई हृदयङ्गम गर्न बाध्य हुने छन् । 

अतीतको डोरीले एकतिर मान्छेलाई तानिरहेछ अर्कोतिर खुला छाडिरहेछ । हरएक व्यक्ति स्वेच्छामा बाँच्न चाहन्छ । ऊ बाँधिन चाहँदैन तर पनि यदाकदा गलामा अतीतको लगाम हालेर आपूmलाई झिल्के बनाउँछ । उसको आफ्नो स्वरूप छैन यसैले मेरो पनि स्वरूप छैन । म बन्द कोठामा गुम्सेर बल्लतल्ल बलिरहेको मैनबत्ती हुँ, जो ईषत् बल्दै र पग्लँदै गएर निरर्थक अन्धकारमा सिद्धिन्छ ।