लक्ष्मण पाैडेल
भैरहवा, पुस ७ गते । लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्ति मार्गीलाई लुम्बिनी आउन तथा पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा गरिएको छ।
भैरहवा र आसपासमा रहेका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले आफ्नो नवौं स्थापना दिवसको अवसरमा भैरहवा-लुम्बिनी मौन पदयात्रा गरेको हो ।
२२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, "यहाँ मात्रै नभई विश्वभर मानिस स्वार्थी बनेको छ, हत्या, हिंसा, आतङ्क र द्वन्द्वमा लागेको छ, त्यसैले शान्ति मार्गीहरु लुम्बिनी आउनुपर्छ, यहाँबाट विश्व शान्त छ भन्ने सन्देश दिनुपर्छ र शान्तिको बाटो अवलम्बन गर्नुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो ।"
भगवान बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाउनुभएको थियो । "सधैं कापीकलम र क्यामेरा बोकेर खबर खोज्न हिँड्ने मात्रै होइन, पत्रकारले शान्तिको सन्देश फैलाउनुपर्छ, शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन प्रयास गर्नुपर्छ भन्ने पनि बौद्ध सञ्चार यात्राको उद्देश्य हो", कार्यबाहक अध्यक्ष रायमाझीले भन्नुभयो, "पदयात्राले स्थानीय, प्रदेश, राष्ट्रिय स्तरमा मात्रै नभई विश्वमाझ उर्जा थपेको छ ।"
'पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा' नारा दिइएको बौद्ध सञ्चार यात्रामा भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण सहभागी भएका छन् । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वतस्फूर्त खादामाला र टिकाले स्वागत गरे । बुद्ध धुनको गुन्जनसँग मौन यात्रा गर्न पाउँदा सहभागी निकै हर्षित भएका हुन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले बौद्ध सञ्चार यात्राले फेरि एकपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "सञ्चार क्षेत्र यस्तो शक्ति हो, जसले छिनभरमै विश्वमाझ सन्देश दिनसक्छ, हो आज त्यही सन्देश संसारभर फैलिएको छ । शान्ति मार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको छ ।" उहाँले पदयात्रा बुद्ध जीवनीसँग मेल खाने भएकाले लुम्बिनी आएर पदयात्रा गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो । उहाँले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्ति प्रेमीहरुलाई खुशीको कुरा भएको बताउनुभयो ।
"अब अर्का बुद्ध जन्मिने सम्भावना छैन, लुम्बिनी अरु कसैले बनाउन पनि सक्दैन, त्यसैले शान्ति खोज्नेहरुका लागि यो एउटा उद्गम थलो हो", उहाँले भन्नुभयो, "आजका जस्ता कार्यक्रमले लुम्बिनीमा सबै धर्ममा आस्था राख्नेलाई गोलबद्ध गर्नसक्छ, लुम्बिनी ल्याउन सक्छ ।" उपाध्यक्ष डा.लामाले अब यस्ता पदयात्रा तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्ध स्थलहरुमा पनि हुनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी विश्वभर रहेका अर्ब बढी बौद्धमार्गीको आस्थाको केन्द्र र संसारभरका सबै मानिसको साझा थलो रहेको बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा धेरै हुन जरुरी रहेको बताउनुभयो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दुःखकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभूति हुने बताउनुभयो ।
बौद्ध सञ्चार यात्रालाई मायादेवी गाउँपालिकाको बेथरी र सेमरी-सुण्डीमा स्थानीयले स्वागत गरेका थिए ।