• २४ वैशाख २०८२, बुधबार

सडक अनुगमनमा रास्वपा

blog

बोमलाल गिरी  

नवलपुर, पुस ७ गते । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणघाटदेखि बुटवलसम्म एक हप्तामा ११५ किलोमिटर पैदल यात्रा गर्ने भएको छ । 

रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले नारायणघाट–बुटवल सडक खण्डको विस्तारको कामले गति नलिएपछि त्यसको अवलोकन गर्न र सम्बन्धित निकायलाई दबाब दिन पुस ९ देखि १५ गतेसम्म पैदल यात्रा गर्न लागिएको जानकारी दिनुभयो । 

सभापति गौतमले भन्नुभयो, “दबाबको रूपमा हामीले जनतालाई दुःख दिन चाहन्नौँ । बाटो विस्तारको कामले गति नलिँदा जनताले के कस्ता समस्या भोग्नु परेको छ, यात्रा गर्न कति कठिन छ, त्यो हामी आफैँ सहभागी भएर महसुस गर्न चाहन्छौँ । त्यसैका लागि पैदल यात्रा गर्न लागिएको हो ।” पैदल यात्राका क्रममा नवलपुरका विभिन्न पालिका प्रमुख, ठेकेदार कम्पनीलगायत सम्बन्धित निकायसँग छलफल र अन्तर्क्रिया गरिने प्रदेश सभापति गौतमले जानकारी दिनुभयो ।  

पैदल यात्रामा पार्टी सभापति रवि लामिछाने, सहमहामन्त्री रमेश प्रसाईं, सहकोषाध्यक्ष दीपक बोहोरा, सांसद एवं केन्द्रीय सदस्य निशा डाँगी र शिव नेपाली, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सभापति राजन गौतमलगायतका नेता सहभागी हुने रास्वपाले जनाएको छ । समयमा बिजुलीका पोल नसारिनु, जङ्गल कटानका लागि अनुमति नदिनु, बेला बेला स्थानीयले अवरोध गर्नु, ठेकेदार कम्पनीले ढिलासुस्ती गर्नु, सरकारले लापरबाही गर्नुजस्ता कारणले सडक विस्तारको कामले गति लिन नसकेको रास्वपाको ठहर छ । 

साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ साल चैतमा नारायणघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो तर चार वर्ष नौँ महिनाको अवधिमा आधा पनि काम सकिएको छैन । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।

हालसम्म खण्ड ‘क’ मा भौतिक प्रगति ४३.८ प्रतिशत र पश्चिम खण्डमा ३९ प्रतिशत  प्रगति भएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिनुभयो । 

बाटो विस्तारको कामले सोचे अनुसार गति लिन नसकेपछि दुई पटकसम्म म्याद थपिएको छ । पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । पछिल्लो पटक भदौ ११ गतेदेखि लागु हुने गरी ३३० दिनको म्याद थप भएको छ । जुन म्याद २०८१ सालको साउनमा सकिँदै छ तर थपिएको अवधिमा पनि सडक निर्माणको कामले पूर्णता नपाउने आयोजनाले यसअघि नै बताइसकेको छ ।